ad ad

समाज


शान्ति मिसनमा छानिएपछि बढुवाको फुली पनि लगाएका थिएनन्, पहिरोमा अस्ताए कर्णेल केसी

शान्ति मिसनमा छानिएपछि बढुवाको फुली पनि लगाएका थिएनन्, पहिरोमा अस्ताए कर्णेल केसी

उजिर कार्की
असोज १३, २०८१ आइतबार १५:६, काठमाडौँ

सिन्धुपाल्चोकमा पहिरोमा परी नेपाली सेनाका प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) मिलन केसीको ज्यान गएको छ। 

सुनकोसी गाउँपालिका–४ बिमरेनी जंगलनजिकको पहिरोले रिसोर्ट पुर्दा शनिबार केसीको पनि ज्यान गएको सैनिक प्रवक्ता सहायक रथी गौरवकुमार केसीले बताए।  

सोही रिसोर्टमा रहेका कोरियन साथीलाई उद्धार गर्न जाँदा कर्णेललाई पनि पहिरोले पुरेको प्रवक्ता केसीको भनाइ छ। 

‘करसाब पहिल्यै निस्किसक्नुभएको थियो। तर साथीलाई बचाउन पछि उक्त स्थानमा जाँदा पहिरोमा पुरिएर दुःखद् घटना हुन पुग्यो’, सैनिक प्रवक्ता केसीले नेपालखबरसँग भने।

कर्णेल केसी स्टाफ कोर्सका लागि कोरिया जाँदा चिनजान भएका साथी नेपाल आएका थिए। उनैलाई घुमाउन केसीले लिएर त्यहाँ पुगेका थिए। 

सिन्धु बिच रिसोर्टमाथिबाट आएको पहिरोले कोरियन साथी चढेको गाडीका चालकको भने ज्यान गएको छ। एक जना कोरियन नागरिक बेपत्ता छन्। एक जना भने सकुशल रहेको पनि स्थानीय प्रहरीले जानकारी दिएको छ। 

उद्धारका लागि गएका प्रमुख सेनानी केसीलाई घाइते अवस्थामा उद्धार गरिए पनि त्यसको केही समयमै ज्यान गएको हो। 

३६ वर्षीय केसी दोलखा भीमेश्वर नगरपालिकाका हुन्। उक्त रिसोर्ट आसपास पहिरो खस्न थालेपछि सुरुमा केसी सुरक्षित स्थानमा भागेका थिए। तर सँगै गएका कोरियन साथीहरू भने रिसोर्टमै थिए। एक जना त्यहीँ भए पनि सकुशल रहे। 

पहिरोले रिसोर्ट पुर्दा अरूको भने ज्यान लियो। पहिरो जाँदा रिसोर्टमै रहेका साथीलाई बोलाउन गएका कर्णेल त्यही पहिरोमा परेको प्रहरीले जानकारी दिएको छ। 

उनको शरीरका विभिन्न भागमा चोट लागेको थियो। 

पहिरोबाट उद्धार गरेपछि सुरुमा उनी आफैं हिँड्दै जान खोजेका थिए। तर केहीबेरमा गाह्रो भयो भन्दै ढलेका उनको त्यहीँ ज्यान गयो।

केसी शान्ति मिसनका लागि सिरिया जान छनोट भएका थिए। शान्ति मिसनमा जाने भएकैले उनले बढुवाको दर्ज्यानी चिन्ह पनि लगाएका थिएनन्।

शान्ति मिसनमा छनोट हुँदाकै तहमा रहेर जानुपर्ने भएकाले मिसनमा छानिएका सैनिकहरूले माथिल्लो तहको दर्ज्यानी चिन्ह तत्काल लगाउँदैनन्। 

सिरिया मिसनका लागि उनी काभ्रेको पाँचखालमा तालिमरत रहेको सैनिक स्रोतले जानकारी दिएको छ। उनी पनि मिसनमा छनोट भइसकेपछि बढुवा भएका थिए। 

अहिले कर्णेल केसी र कोरियन चढेको गाडीका चालकको शव बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ। शव पोस्टमार्टमका लागि सेनाको हेलिकप्टरबाट काठमाडौँ शिक्षण अस्पताल महाराजगञ्जमा ल्याउने तयारी गरिएको छ।

सिन्धुपाल्चोकका अन्य ठाउँमा पनि शनिबार पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .