ad ad

समाज


सिधाकुराका प्रकाशक र कार्यकारी सम्पादक कारागार चलान

सिधाकुराका प्रकाशक र कार्यकारी सम्पादक कारागार चलान

नेपालखबर
असोज १३, २०८१ आइतबार २०:४८, काठमाडौँ

सिधाकुरा नामक अनलाइन तथा युट्युब च्यानलका सञ्चालक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगाना कारागार चलान भएका छन्।

सर्वोच्च अदालतले तीन-तीन महिना कैद सजाय सुनाएपछि दुवै जना जगन्नाथदेवल कारागार चलान भएका हुन्।

कारागार चलान भएपछि ढुंगानाले फेसबुकमा लेखेका छन्, ‘सम्मानित सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै म र मेरो प्रकाशक एवम् तपाईंहरूको प्रिय प्रस्तोता युवराज कँडेल केन्द्रीय कारागार जगन्नाथदेवल चलान भएका छौँ। प्रिय पाठक र श्रोताहरू हामी फेरि समाचार लेख्न आउनेछौँ। हामी समाचार लेख्न नै जन्मिएका हौँ। समाचारको धर्मबाट कहिल्यौ विचलित हुने छैनौँ।’ 

सर्वोच्चका ९ न्यायाधीश संलग्न बृहत् पूर्ण इजलासले आइतबार निर्णय सुनाउँदै विवादित अडियो रेकर्ड गर्ने राजकुमार तिमल्सिनालाई ६ महिना कैद सजाय तोकेको छ। कँडेल र ढुंगानालाई ३ महिना कैद सजाय सुनाएको छ। यद्यपि, माफी मागे ७ दिन मात्र कैद बस्नुपर्नेछ।

सिधाकुरा डटकमले ५ हजार रूपैयाँ तिर्नुपर्ने गरी जरिवाना पनि तोकिएको छ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकाल रहेको ९ सदस्यीय इजलासमा गत साउन १७ गते सुनुवाइ भएको थियो।

सिधाकुराले ‘द डार्क फाइल’ नाम दिएर प्रसारण गरेका शृंखलाबद्ध सामग्रीले अदालतको अवहेलना गरेको दाबी गरी सर्वोच्च अदालत प्रशासनले प्रतिवेदन उठाएर अदालतको अवहेलना मुद्दा दायर गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .