पर्वतको कुस्मा नगरपालिका–३ दुर्लुङ काफलचौरमा शनिबार राति पहिरोले घर बगाउँदा ३ जनाको मृत्यु भएको छ। घटनामा परी अरू ६ जना बेपत्ता भएका छन्।
स्थानीय विरोध गुरुङका अनुसार पहिरोमा परी स्थानीय ५२ वर्षीय तुलबहादुर थापा, उनकी ५२ वर्षीया श्रीमती नीलकुमारी थापा र ८ वर्षीया नातिनी बिबिसा थापाको मृत्यु भएको हो।
तुलबहादुरका नाति (छोरातर्फका), छोरी र नाति (छोरीतर्फका) बेपत्ता छन्।
घर पूरै बगेको र गोठको भैँसी समेत पहिरोले पुरेको उनले बताए।
यस्तै सोही ठाउँमा पसल गर्दै आएका भुवन गिरीको परिवारलाई भने स्थानीयले उद्धार गर्न सफल भएका छन्।
पहिरोमा परी अर्को एक घर पूर्ण रूपमा क्षति हुनुका साथै उक्त घरका ३ जना बेपत्ता भएका छन्। स्थानीय विकास बि.क.को घरलाई पहिरोले बगाउँदा घर रहेको ठाउँ समेत नदेखिएको तथा उनका श्रीमती, छोरीसहित ३ जना बेपत्ता रहेको पनि गुरुङको भनाइ छ।
घटनाको जिल्ला प्रहरी कार्यालय पर्वतले पनि पुष्टि गरेको छ।
घटनास्थलमा प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीको कमान्डमा १५ जनाको टोली, नेपाली सेनाको सेनानिको कमान्डमा १५ जना र सशस्त्र प्रहरी बलको प्रनिको कमान्डमा १५ जनाको संयुक्त टोली उद्धारमा खटिएको जिप्रका पर्वतले विज्ञप्तिमार्फत जनाएको छ।
जिप्रकाबाट घटनास्थल अन्दाजी १२/१३ किमि पूर्वमा पर्ने प्रहरीको भनाइ छ। घटना शनिबार राति ९ बजे भएको हो।
प्रतिक्रिया