ad ad

समाज


म्याग्दीमा पहिरोको वितण्डा : १२ घाइतेको उद्धार, २७ जनाको मृत्यु

म्याग्दीमा पहिरोको वितण्डा : १२ घाइतेको उद्धार, २७ जनाको मृत्यु

वाशुदेव मिश्र
असार २७, २०७७ शनिबार १६:२०,

बिहीबार राति र शुक्रबार बिहानपख आएको पहिरोमा परेकामध्ये १२ जनाको घाइते अवस्थामा उद्धार गरिएको छ।

उद्धार गरिएकामध्ये १ जना गर्भवती छन्। धौलागिरी गाउँपालिका–६ की २२ वर्षीया मन्जिता श्रीपालीलाई म्याग्दीमा सामान्य उपचार गरेपछि थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरा ल्याइएको छ।

ढाडमा गम्भीर चोट लागेको अवस्थामा उद्धार गरिएकी उनी सामान्य बोल्न सक्ने अवस्थामा छन्।

सोही ठाउँका ७ वर्षीय बालक सफल श्रीपालीको पनि मणिपाल अस्पतालमा उपचार भइरहेको छ।

गण्डकी प्रदेशका प्रहरी प्रवक्ता एसएसपी किरण रानाका अनुसार हेलिकोप्टरबाट उद्धार गरिएपछि मालिका गाउँपालिका ७ बिमका ३६ वर्षीय पूर्णबहादुर नेपालीको म्याग्दीकै बेनी अस्पतालमा उपचार भइरहेको छ।

उनी बोल्न नसक्ने अवस्थामा छन्। बेनी अस्पतालमा पूर्णबहादुर बाहेक अन्य ८ जनाको पनि उपचार चलिरहेको छ।

उनीहरू धौलागिरी गाउँपालिका ६ मराङको रिखाका १२ वर्षीय अङ्कित जुग्जाली, ३५ वर्षीय कुशल पुन, १६ वर्षीया बिर्सना जुग्जाली, ३४ वर्षीय धनबहादुर जुग्जाली, ८७ बर्सिया गौमती सुनार, २२ वर्षीय दीपक श्रीपाली वडा ७ ताकमका ६७ वर्षीय सतदेवी बिटालु र ७२ वर्षीय हरि बिटालु रहेका छन्।

८ जनाको अवस्था सामान्यदेखि केहि जटिल खालको रहेको छ। तीमध्ये मालिका गाउँपालिका ६ बस्ने बालसिंह रोकालाई उपचारको लागि काठमाडौं लगिएको छ। घाइते मध्ये ६ जना उपचारपछि घर फर्किएका छन्।

पछिल्लो विवरण अनुसार म्याग्दी पहिरोमा परि ज्यान गुमाउनेहरुको संख्या २७ पुगेको छ। शनिबार साँझ ८ः३० बजेसम्म भएको उद्धार र खोजतलासको क्रममा २७ जनाको शव भेटिएको गण्डकी प्रदेश प्रहरीले जानकारी दिएको छ।

मृत्यु हुनेमा मालिका गाउँपालिका–७ बिमका ४० वर्षीय विष्णु पौडेल र ४ वर्षीय ईच्छा पौडेल, सोही ठाउँ बस्ने गौदेवी नेपाली, विशेष नेपाली, वीरबहादुर नेपाली, उनकी ३ महिने छोरी निशा नेपाली, विष्णु नेपाली र सन्दीप नेपाली रहेका छन्।

यसैगरि धवलागिरी गाउँपालिका–८, मराङमा तुलबहादुर क्षेत्री, सुकना लामघादे, आशिष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार,मन सुनार, कमला श्रीपाली, सुरक्षा श्रीपाली, प्रकाश केसी, हिरामती जुग्जाली, ७ वर्षीया करिष्मा जुग्जाली, ५५ वर्षीया गौसरा जुग्जाली, २० वर्षीया दिमा जुग्जाली, दिमाकी ४ वर्षीया छोरी दिप्ती जुग्जाली, १ वर्षीय छोरा दिवान जुग्जाली रहेका छन्।

सोही गाउँपालिका–६ का ५० वर्षीय नलिमान छन्त्यालको पनि मृत्यु भएको छ। यसअगाडि शुक्रवार रघुगंगा गाउँपालिका ६ ठाडाखानीका ५० वर्षीय ललितमान पुराने छन्त्याललाई खोलाले बगाएको अवस्थामा मृत फेला पारिएको थियो भने तुलबहादुर क्षेत्री पनि मृत अवस्थामा फेला परेका थिए।

पहिरोमा परि हराएकाहरुमा मालिका गाउँपालिका–७, विमका एलिसा केसी, मालिका–६ की ४१ वर्षीया गीता रोका, धवलागिरी गाउँपालिका–६ , कल्लेनीकी ५१ वर्षीया जनिमा केसी र सोही ठाउँका १६ वर्षीय सविन पुन रहेका छन्।

शुक्रबार बिहानैबाट पहिरो गएको क्षेत्रमा उद्धारका लागि सुरक्षाकर्मीको टोली हिँडेको थियो। तर पुल र सडक नै पहिरोले बगाएपछि स्थल मार्गबाट हिँडेको टोली समेत ठाउँ ठाउँमा फसेको थियो। शनिवारको मौसम सफा भएपछि भने प्रभु एयर र नेपाली सेनाको १-१ ओटा हेलिकोप्टर पहिरो गएको ठाउँमा ल्यान्ड गर्न सकेका थिए भने स्थल मार्गबाट हिँडेको सुरक्षाकर्मीको टोली पनि त्यहाँ पुग्न पाएको थियो।

८९६ जनालाई सुरक्षित ठाउँमा
म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालका अनुसार पहिरोको उच्च जोखिममा रहेको म्याग्दीका विभिन्न ठाउँबाट करिब ८९६ जनालाई सुरक्षित स्थानमा सारिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सक्रियतामा पायक पर्ने स्थानमा उनीहरूलाई सारेर अझै वर्षा भएमा थप मानवीय क्षति हुन नदिन सुरक्षा सतर्कता अपनाइएको छ।

सुरक्षित स्थानमा सारिएकाहरूमा पहिरो गएको सङ्कटग्रस्त क्षेत्र धौलागिरी गाउँपालिका ६ मराङ, ७ ताकम र मालिका गाउँपालिका ७ बिमका बासिन्दासहित जिल्लाका अन्य ठाउँका पनि रहेका छन्।

प्रजिअ ढकालले सुरक्षित स्थानमा सार्नुपर्ने सबैलाई सारिसकिएका कारण अब वर्षा भएमा थप क्षति नहुने गरी काम गरिएको बताए।

रघुगंगा गाउँपालिकाको राहुघाटमा खोला नजिकको बस्तीमा रहेकालाई सोही ठाउँको गायत्री मन्दिरमा, धौलागिरी गाउँपालिका ६ कल्लेरीमा बस्दै आएकालाई वडा नं. ७ को हेम माविमा, मालिका गाउँपालिका ६ दरबाङ चाउटामा तथा वडा नं. ५ को देबिस्थानमा बस्दै आएकालाई वडा नं. ६ को जनप्रिय माविमा सारिएको छ। अरू धेरै जना सुरक्षित बसाइँको लागि आफन्त तथा इष्टमित्रकोमा गएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .