भारतबाट अवैधरूपमा नेपाल ल्याइएको ठूलो मात्रामा चाँदीको गहनासहित प्रहरीले बाँकेबाट एक जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा सोमबार साँझ नेपालगञ्ज उपमहानगरपालिका–८ टाँगास्टेशन नजिकबाट पाँच किलो चार सय ९५ ग्राम चाँदीका गहनासहित सुभाष गुप्तालाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए।
जाँचका क्रममा गुप्ताको झोलामा गरगहना फेला पारेपछि सुनचाँदी व्यवसायी सङ्घ बाँकेमा परीक्षण गरिएको थियो।
पाँच किलो ४९५ ग्राम धातुमध्ये परीक्षणपछि दुई किलो ७१७ ग्राम ५०० मिलीग्राम चाँदी रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।
गुलरिया नगरपालिका–६ बर्दियाका ३१ वर्षीय गुप्ता नेपालगञ्जको देवाफूलबारीमा कोठा भाडामा बस्दै आएका थिए।
भारतबाट अवैधरूपमा नेपालगञ्ज ल्याएर सङ्कलन गरिएका चाँदीका गहना बर्दिया लैजाने क्रममा नेपालगञ्जको टाँगास्टेशन नजिकबाट प्रहरीले गुप्तालाई नियन्त्रणमा लिएको हो।
गुप्तालाई चाँदीसहित आवश्यक कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी उपरीक्षक वलीले जानकारी दिए।
Shares
प्रतिक्रिया