टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल भरिभराउ छ। बेड नपाएका बिरामीलाई करिडोर र ढोकामै कुर्सीमा राखेर पनि उपचार गरिँदैछ। यस्तो अवस्था सिर्जना भएको दुई हप्ता नाघिसक्यो।
तर, करिब ३ किलोमिटर परको वीर अस्पतालमा भने कोरोना संक्रमितको उपचारका लागि भन्दै तयार पारिएका १ सय ७० बेड प्रयोगविहीन छन्।
वीर अस्पताललाई कोभिड एकीकृत केन्द्रीय अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय वैशाख २५ गते नै मन्त्रिपरिषद्ले गरेको थियो। ट्रमा सेन्टर, वीर अस्पताल र वीरकै नयाँ सर्जिकल भवनलाई कोभिड केन्द्रीय अस्पतालका रुपमा प्रयोग गरिने भनिएको थियो।
त्यही निर्णयअनुरुप वीरको नयाँ सर्जिकल भवनलाई कोरोना बिरामीका लागि तयार पार्न थालियो। वीर अस्पतालकी निमित्त कार्यकारी निर्देशक डा. शान्ता सापकोटाका अनुसार आइतबारसम्म पहिलो दुई तल्लामा १७० बेड पूर्ण रुपमा तयार पनि भइसकेका छन्।
तर, अक्सिजनको सुनिश्चितता नहुँदा ती बेड कहिले बिरामीका लागि प्रयोग हुन्छ, टुंगो छैन।
‘हामीले पहिलो दुई तल्लामा १७० बेड बिरामीका लागि तयारी पारिसकेका छौँ। तर, अक्सिजन नभएपछि त्यत्तिकै रोकिएको छ,’ उनले नेपालखबरसँग भनिन्, ‘हामीले पुरानै भवनमा अक्सिजन पुर्याउन सकेका छैनौँ। अहिले संक्रमितलाई अक्सिजन नै चाहिन्छ। अक्सिजनबिना ती बिरामीलाई नयाँ भवनमा राख्नुको कुनै अर्थ छैन।’
वीर अस्पतालमा एउटा अक्सिजन प्लान्ट छ। जहाँबाट दैनिक १ सय ५० सिलिन्डर अक्सिजन उत्पादन हुन्छ। अहिले उपचाररत १ सय ८० बढी बिरामीलाई दैनिक तीन सय सिलिन्डर अक्सिजन खपत भइरहेको उनले जानकारी दिइन्।
नयाँ भवनको पहिलो र दोस्रो तल्लामा चिटिक्क पारिएका बेडमा कम्बल र बेडसिटह राखिसकिएको छ। प्रत्येक बेडसँगै अक्सिजनका पाइप जडान भइसकेका छन्। अक्सिजन आपूर्ति व्यवस्था ठिकठाक भएनभएको पनि जाँच भइसकेको छ।
‘१ सय ७० बेड सञ्चालनमा ल्याउन तत्काल दैनिक २ सय सिलिन्डर अक्सिजन आवश्यक पर्छ,’ डा. सापकोटाले भनिन्, ‘पटकपटक हामीले सीसीएमसी, मन्त्रालयमा अनुरोध गर्दा पनि केही व्यवस्था नभएपछि सञ्चालनमा समस्या भएको छ।’
अस्पताल पूर्ण क्षमतामा प्रयोग गर्ने हो भने ५०० बेड सञ्चालनमा ल्याउन सकिन्छ। तर त्यसका लागि दैनिक ७ सय सिलिन्डर अक्सिजन आवश्यक पर्ने भएकाले तत्काल पहिलो तल्लामा भएका ८५ बेड सञ्चालनमा ल्याउने तयारी अस्पतालको छ।
ती बेडका लागि कम्तीमा दैनिक सय सिलिन्डरसम्म अक्सिजन आवश्यक पर्छ। हरेक ६ घण्टामा सिलिन्डर परिवर्तन गरिरहनु पर्ने हुन्छ। त्यसो हुँदा कम्तीमा ८५ बेड सञ्चालनका लागि थप सय सिलिन्डर अक्सिजन स्टकमा राख्नुपर्छ। तर सिलिन्डर र अक्सिजन दुवैको टुंगो नभएकाले सञ्चालन मिति धकेलिँदै गएको सापकोटाले बताइन्। प्रत्येक तल्लामा ९ वटा आईसीयू बेड पनि छन्।
अस्पताललाई आवश्यक जनशक्ति भने कमी नहुने सापकोटाले बताइन्। उनले अधिकांश वीरकै जनशक्ति प्रयोग हुने र नपुगेका जनशक्ति नियुक्तिको प्रक्रिया तयार रहेको बताइन्। वीरले केही दिनअघि सयजना नर्ससहितको जनशक्ति माग गरेको थियो। उनीहरुको अन्तर्वार्ता समेत सकिइसकेको र सञ्चालन टुंगो लागेपछि बोलाइने सापकोटाले बताइन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आफूहरु अस्पताललाई अक्सिजन उपलब्ध गराउन लागिपरेको बताए। उनले माग ह्वात्तै बढेकाले यो समस्या देखिएको बताए।
‘उपत्यकामा २४ घण्टामा ८ हजार ५०० सिलिन्डर भरिँदो रहेछ। तर अहिले माग भने दैनिक १२ हजार सिलिन्डर छ,’ उनले भने, ‘माग बढी भएकैले गाह्रो भएको हो। हामीले अरु विकल्पकहरु पनि खोजेका छौँ। एक दुई दिनमा अक्सिजन पुर्याउने प्रयासमा छौँ।’
गौतमले चीनबाट २० हजार सिलिन्डर तथा अन्य मुलुकबाट पनि अक्सिजन आउने क्रम जारी रहेकाले एकदुई दिनमै अस्पताल सञ्चालन गर्न सकिने बताए। उनले उपत्यकाको अभावपूर्तिका सिलिन्डर भर्न पोखरा लगायत सहरमा पठाइएको जानकारी दिए।
जनस्वास्थ्यविद् प्रा.डा. शरद वन्तले सरकार व्यवस्थापकीय मामलामा कमजोर देखिँदा त्यसको दुष्परिणाम नागरिकले भोग्नु परिरहेको बताए।
‘हामीसँग भएका स्रोतको प्रभावकारी परिचालन गर्ने र प्रभावकारी व्यवस्थापनमा ठूलो कमजोरी देखियो,’ उनले भने, ‘यतिबेला हिजोको जस्तो स्रोतको नितान्त अभाव पनि हैन तर स्रोत साधनलाई प्राथमिकतामा राख्दै जुटाउनु र तिनीहरुको समुचित व्यवस्थापन गर्न नसक्दा नागरिकले मृत्युवरण गरिरहनुपरेको छ।’
प्राध्यापक वन्तले नागरिकहरुले बेड नपाई कुर्सीमै उपचार गराइरहनु परेको बेला भएका बेड पनि प्रयोगमा ल्याउन नसक्नु बिडम्बना भएको बताए। उनले नेपालमा अक्सिजन अभाव भए चीनबाट ल्याएर भएपनि तत्काल वीर अस्पताल सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए।
मन्त्रिपरिषद्ले वीरलाई एकीकृत अस्पताल बनाउने निर्णय गरेको दुई सातासम्म पनि कार्यान्वयन आउन नसक्नु व्यवस्थापकीय अक्षमताको नमुना भएको उनको भनाइ छ।
अघिल्लो हप्ता काठमाडौं महानगरपालिकाले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा.चन्द्रमणि अधिकारीले नागरिकले ज्यान गुमाइरहेका बेला वीरको नयाँ भवन सञ्चालन गर्न नसक्नु लज्जास्पद विषय भएको बताएका थिए।
‘म दुःखका साथ भन्छु। वीर अस्पतालको ५ सय शय्याको नयाँ भवन छ तर अहिलेसम्म सञ्चालन गर्न नसक्नु भनेको लाजमर्नु अवस्था हो,’ उनी प्रश्न गर्छन, ‘हामी के हेरेर बसिरहेका छौं? हाम्रा बिरामी इमर्जेन्सी बाहिर बसिरहेका छन्। ५ सय शय्याको वीर अस्पताल टुलुटुलु हेरेर बस्नुपर्ने?’
उनले सरकारले कोभिड उपचारका लागि तोकेका अस्पतालले संक्रमितको उपचारको जिम्मा लिन नसकेको, अस्पतालमा बेड संख्या बढाउने कार्य भाषणमा मात्रै सिमित भएको र जिम्मेवार निकायले दायित्व पुरा गर्न नसकेका कारण कोभिड संक्रमित लगायत समग्र स्वास्थ्य उपचारको स्थिति जटिल बन्दै गएको बताएका थिए।
प्रतिक्रिया