काठमाडौंको सिनामंगलस्थित एक ज्वेलर्स अगाडि राखिएको शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको छ।
रकम माग्दै सिनामंगलस्थित खोटाङ हलेसी ज्वेलर्स अगाडि बम राख्ने काममा संलग्न भएको अभियोगमा प्रहरीले तत्कालै एकजनालाई पक्राउ गरेको छ।
उक्त सुन पसलनजिकै होटलमा बसेका रौतहट निवासी खजाञ्ची पासवानलाई प्रहरीले पक्राउ गरेको हो। पासवानलाई गौशाला प्रहरी बृत्तमा राखिएको छ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालका अनुसार काठमाडौं मेडिकल कलेजबाट पुरानो बानेश्वर जाने सडक छेउमा शंकास्पद वस्तु राखेको आरोपमा तत्कालै एक युवकलाई पक्राउ गरिएको हो।
सिनामंगल–पुरानो बानेश्वर सडकअन्तर्गत खोटाङ हलेसी ज्वेलर्सनजिकै शंकास्पद वस्तु भेटिएपछि त्यस क्षेत्रमा तनाव भएको थियो।
त्यहाँ भेटिएको एक पर्चामा लेखिएको थियो, 'खोटाङ हलेसी ज्वेलर्सको साहुजी हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सपोर्ट गर्नुहोस्। तपाईंको सहयोगले हाम्रो देश र जनताहरूलाई ठूलो प्रगति हुनेछ भन्ने हाम्रो आश हो। यहाँ आरडीएक्स बारुदको बम राखिएको छ। सावधान रहनुहोला। संयोजक सफल।’
Shares
प्रतिक्रिया