थाइल्यान्डको नेपाली मन्दिरमा राम नवमीका अवसरमा बुधबार भगवान् राम र सीताको मूर्ति प्राण प्रतिष्ठा गरिएको छ।
बैंककको सुकुम्बित ८१ सिरिफोटस्थित त्रिनाथ देवालय धाम मन्दिरमा बुधबार बिहान ८ बजेर ४५ मिनेटको शुभ मुहूर्तमा पण्डित पदमप्रसाद भट्टराईले भगवान् राम, लक्ष्मण, सीता र हनुमानको मूर्ति प्राण प्रतिष्ठा गराएका हुन्।
त्रिनाथ मन्दिरमा पहिलोपटक भगवान् रामको प्राण प्रतिष्ठा गरिएको मन्दिर सञ्चालक समितिका महासचिव राजु बलामीले जानकारी दिए।
प्राण प्रतिष्ठामा थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वली सहभागी भएर पूजा पाठ गरेका थिए। राजदूत वलीले नेपाली मन्दिर नेपालीमात्र नभई नेपालभाषीको पनि आस्थाको केन्द्र रहेको उल्लेख गर्दै संरक्षण तथा प्रवर्द्धनमा सघाउने बताए।
प्राण प्रतिष्ठासँगै मन्दिरमा रामनवमीका अवसरमा पूजा, भजनकीर्तन पनि गरिएको थियो।
हवन तथा आरती पूजा गरिएको कार्यक्रममा आगन्तुक नेपाली तथा थाई नागरिकलाई खीर प्रसाद वितरण गरिएको थियो।
त्रिनाथ देवालय धाम थाइल्यान्डवासी नेपालीको एक मात्र धार्मिकस्थल हो।
३२ वर्षअघि स्थापना भएको मन्दिरमा थाइल्यान्डमा बस्ने नेपालीहरूले विभिन्न चाडपर्व मनाउने, पूजा पाठ गर्ने गरेका छन्।
Shares
प्रतिक्रिया