देशैभर मौसम प्रतिकूल रहेकै बेला विकट हिमाली जिल्ला मनाङमा भारी हिमपात भएको छ।
अहिले मनाङमा हिमपात हुने बेला पनि हो। कात्तिक अन्तिम सातादेखि यहाँ हिमपात हुने गर्छ। यस वर्ष समयै हिमपात हुँदा किसानमा खुशी छाएको छ।
मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राकाका पशुपालक किसान सोनाम लामाले परिवारका अन्य सदस्य काठमाडौँ गए पनि आफू र आमा भने पशुचौपायको हेरचाहका लागि गाउँमै बसेको बताए। ‘परिवारका अरू सदस्य काठमाडौँ गए। हामी जस्तै यिन (पशुबस्तु)लाई पनि भोक लाग्छ। त्यसैले हेरचाह गर्न यहीँ छौँ आमा र म। हिमपात भएपछि चिसो बढेको छ,’ उनले भने।
मनाङ ङिस्याङ–१ का पशुपालक किसान याङदुङ गुरुङले यस वर्ष समयमै हिमपात हुँदा स्थानीयवासी खुसी भएका बताए। ‘अहिले परेको हिउँ फागुन, चैतसम्म रहन्छ। यसले खेतीपातीमा उत्पादन बढ्छ,’ उनले भने, ‘हिमपात हुँदा चिसोले पशुचौपायलाई घाँसपात र कुडोपानी गर्न र घरबाहिर निस्कन भने मुस्किल भएको छ।’
हिमपात भएपछि स्थानीयवासीमा खेतीपातीका लागि पानी सिञ्चित हुने भएकाले उनीहरु खुसी भएका हुन्। यस समयमा परेको हिउँ फागुन, चैतसम्म रहने भएकाले सिँचाइका लागि पानी बोटबिरुवाको जरासम्म पुग्छ।
हिमपात भएपछि यहाँ आवतजावत र दैनिक कामकाज गर्न भने सकस भएको छ।
मनाङका प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानले हिमपातका कारण जनजीवन कष्टकर भएको बताए। हिमपात जारी रहेकाले पर्यटक, स्थानीयवासी, कर्मचारी, कामदारलाई सचेत रहन उनले आग्रह गरे।
सदरमुकाम चामेसम्म भारी हिमपात भइरहेको छ भने नासों गाउँपालिकाको डाँडाकाँडामा हिमपात भएको छ। हिमपात भएपछि स्थानीयवासी, पर्यटकलगायत सबै घरभित्र बस्न बाध्य भएका छन्। रासस
Shares
प्रतिक्रिया