ad ad

समाज


जंगलमा गाडिएको अवस्थामा मानव कंकाल फेला

छेउमै भेटियो सुनको सिक्री, कपडा र चप्पल
जंगलमा गाडिएको अवस्थामा मानव कंकाल फेला

फाइल तस्बिर


नेपालखबर
साउन २८, २०८१ सोमबार ९:६, म्याग्दी

म्याग्दीको बेनी नगरपालिका–९ आङ्खखेत कालीमुलको जङ्गलमा गाडिएको अवस्थामा मानव कङ्काल फेला परेको छ।  

शव गाडिएको ठाउँ नजिकै एक तोलाको सुनको सिक्री, कपडा र चप्पलसमेत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। गङ्गटा खोज्न गएका स्थानीयले आइतबार दिउँसो कपडा र नजिकै शव गाडेको ठाउँ देखेपछि प्रहरी तथा जनप्रतिनिधिलाई खबर गरेका थिए। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले कङ्काल, गहना र कपडालाई परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाउन लागिएको जानकारी दिए। 

‘घटनास्थलबाट उत्खनन गरेको मानव कङ्काल र भेटिएका सामग्रीलाई सोमबार नै परीक्षणका लागि पठाउँछौँ’, उनले भने, ‘अनुुसन्धानको कामलाई पनि सँगसँगै अघि बढाएका छौँ। कङ्काल र सामग्रीको पहिचानसँगै अन्य तथ्य, प्रमाणहरूको खोजीमा केन्द्रित भएका छौ।’

विसं २०८० पुस १६ गते राति घरबाट बेपत्ता भएकी बेनी नगरपालिका–९ घतानकी १९ वर्षीया मीना परियार भेटिएकी छैनन्। घटनास्थलमा पुुगेका मीनाका आफन्तले गहना र कपडा मीनाकै भएको दाबी गरेका छन्। मीनाको हत्यापछि जङ्गलमा शव गाडिएको हुनसक्ने आफन्तहरूको भनाइ छ। 

मीनालाई बेपत्ता बनाएको आरोपमा पक्राउ परेका बेनी नगरपालिका–९ का एक युवालाई अदालतको आदेशानुसार पुर्पक्षका लागि कारागार चलान गरिएको छ। 

बेपत्ता मीना, कङ्काल, सामग्री र थुुनामा रहेका युुवाको सम्बन्धका विषयमा प्रयोगशालाको प्रतिवेदनपछि मात्र पुुष्टि गर्न सकिने प्रनाउ श्रेष्ठले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .