ad ad

समाज


पतिको भरणपोषणका लागि पत्नीले मासिक ५ हजार दिनुपर्ने अदालतको फैसला!

पतिको भरणपोषणका लागि पत्नीले मासिक ५ हजार दिनुपर्ने अदालतको फैसला!

नेपालखबर
फागुन १३, २०८० आइतबार १४:२६, काठमाडौँ

भारतीय राज्य मध्य प्रदेशको इन्दौरस्थित एक पारिवारिक अदालतले यस्तो फैसला सुनाएको छ, जुन सुनेर मानिसहरू छक्क परेका छन्। 

सामान्यतया अदालतले श्रीमतीको पालनपोषणको जिम्मेवारी श्रीमान्‌ले नै बेहोर्नुपर्ने र यसका लागि हरेक महिना मानाचामल र खर्च भर्नुपर्ने फैसला गरेको पाइन्छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार मध्य प्रदेशको इन्दौरस्थित पारिवारिक अदालतले भने यसको ठीक उल्टो फैसला गरेको छ। त्यहाँ अदालतले श्रीमान्‌का लागि श्रीमतीले मासिक ५ हजार रुपैयाँ (भारतीय) भरणपोषण गर्नुपर्ने आदेश दिएको हो। 

उज्जैन निवासी अमनले आफू बेरोजगार रहेको र पत्नीकै कारण अध्ययन गर्न नपाएको भनी भरणपोषणको माग गरी अदालतमा मुद्दा हालेका थिए। उनले आफूले १२ कक्षा पास गरेको तर कलेजमा भर्ना भए पनि नन्दिनीकै कारण थप अध्ययन गर्न नपाएको बताएका थिए।  

उनकी पत्नी २२ वर्षीया नन्दिनीले भने आफू बेरोजगार रहेको र अमन रोजगारीमा रहेको दाबी गरेकी थिइन्। तर उनले अमन रोजगारीमा रहेको प्रमाण जुटाउन सकिनन्। बरु अमनले नन्दिनीको ब्युटीपार्लर व्यवसाय रहेको तथ्य अदालतमा पुष्टि गरिदिएका थिए।

अमनका कानुन व्यवसायी मनीष झरौलाका अनुसार सन् २०२१ जुलाईमा अमन र नन्दिनीबीच विवाह भएको थियो। बिहेपछि उनीहरू इन्दौरमा भाडाको घरमा बस्ने गरेका थिए।

अधिवक्ता झरौलाका अनुसार फेमिली कोर्टले हिन्दु विवाह अधिनियमको धारा २४ का आधारमा उक्त फैसला गरेको हो। उक्त धारामा आवेदक (पति वा पत्नी) सँग आफ्नो अति आवश्यक खर्च उठाउन पर्याप्त आय नभएको अवस्थामा दुवैको आयस्रोत हेरेर भरणपोषणका लागि आदेश दिन सकिने व्यवस्था छ।

अदालतले अमन र नन्दिनीलाई अलग बस्ने छुट पनि दिएको छ। तर नन्दिनीले अमनलाई हरेक महिना ५ हजार भारतीय रुपैयाँ उपलब्ध गराउनु पर्नेछ। अदालतमा अमनले विवाहपछि नन्दिनीले आफूलाई दुःख दिएको र दुई महिनापछि नै आफूले नन्दिनीलाई छाडेर आमाबुबासँग बस्न थालेको प्रमाण पेस गरेका थिए। 

नन्दिनी र उनको परिवारले आफूसँग जबर्जस्ती विवाह गराएको अमनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .