हुम्लामा सोमबार बिहानैदेखि हिमपात सुरु भएको छ। हिमपातपछि चिसो बढेसँगै हुम्लाको जनजीवन कष्टकर बन्दै गएको छ।
हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रस्थित नाम्खा गाउँपालिकामा चिसो अत्यधिक बढेको छ। हिमपात भएसँगै आवतजावतमा समेत कठिनाई भएको स्थानीयले बताएका छन्।
आज बिहानदेखि हिमपात भएसँगै अन्तरजिल्ला जोड्ने भए मात्रै यातायातको साधन हवाइसेवा पनि प्रभावित बनेको छ। जिल्ला बाहिर जाने यात्रु समेत सिमकोटमै रोकिएका छन्। बिहान, बेलुका र राति चिसो अत्यधिक बढेको स्थानीय लव परियारले बताए। अहिलेसम्म सदरमुकाम सिमकोटमा चार इञ्चभन्दा बढी हिउँ जमेको छ।
यस वर्ष पहिलो पटक हिमपात भएको र यसले बालीलाई राम्रो गर्ने स्थानीय किसानले बताएका छन्। जेठमा पाक्ने उवा, जौँ र गहुँ बालीलाई यसपटक परेको हिउँले राम्रो गर्ने अपेक्षा गरिएको छ।
चिसोबाट बच्न यहाँका बासिन्दा, कर्मचारी, विद्यार्थीले दाउराको जोहो गर्दै आगो ताप्ने गरेको छ। चिसोबाट बच्न न्यानो भएर बस्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन्।
मुस्ताङमा पनि हिमपात
मुस्ताङमा यस याममा पहिलो पटक हिमपात भएको छ। सोमबार बिहानैदेखि हिमपात भएको हो। सदरमुकाम जोमसोमदेखि आसपासका सबै क्षेत्रमा हिमपात भइरहेको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिए।
बिहानैदेखि हिमपात भए पनि कार्यालयहरु सञ्चालन भएका छन्। यातायताका साधान पनि निरन्तर चलिरहेका उनले बताए।
हिमपात भएपछि जनजीवन कष्टकर भए पनि किसान भने हर्षित भएका छन् । लामो समय वर्षा नहुँदा किसानका बाली सुक्न थालेका थिए।
यो सिजनमा परेको पानीले बालीनाली राम्रो हुने स्थानीय इन्द्रमान गौचनको भनाइ छ। यसभन्दा अगाडि मौसम बदलिराखे पनि हिमपात हुननसकेको उनको भनाइ छ। बिहानैदेखि परेको हिमपातले स्थानीयलाई कामधन्दा र पशुचौपायालाई दाना तथा घाँस खुवाउन समस्या भएको छ।
‘यस वर्ष पहिलो पटक हिउँ परेको छ, अहिले पनि निरन्तर परिरहेको अवस्था छ। यति बेला परेको हिउँले बालीनालीलाई निकै राम्रो गर्छ, लामो समयसम्म पानी नपर्दा लगाएका बाली पनि सुकेर मर्न थालेका थिए, अब सप्रिने भए,’ उनले भने।
कालिकोटमा बिहानैदेखि वर्षा
कालीकोटको मान्ममा पनि आज बिहानैदेखि पानी परेपछि स्थानीय किसान खुसी भएका छन् । कर्णालीका हिमाली जिल्लामा पानी र हिमपात सुरु भएपछि बाली सप्रिने आशामा किसान खुसी भएका हुन्।
पानीसहित हिमपात हुनु किसानका लागि निकै राम्रो भएको कालिकोट नरहरिनाथ गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष प्रदीप बोहोराले बताए। ‘गहुँ बाली छरेका बेला पानी परेकाले किसानका लागि निकै राम्रो भएको छ,’ उनले भने।
मान्मको तल्लो भू–भागमा पानी परेको छ भने उच्च क्षेत्रमा हिमपात सुरु भएको कालीकोट रास्कोट नगरपालिका–१ का धनिराम सिंम्खडाले जानकारी दिए। रासस
Shares
प्रतिक्रिया