ad ad

समाज


संखुवासभा हत्या प्रकरण : २० वर्ष कैद फैसला भएकी महिला २० वर्षपछि पक्राउ

संखुवासभा हत्या प्रकरण : २० वर्ष कैद फैसला भएकी महिला २० वर्षपछि पक्राउ

नेपालखबर
माघ १२, २०८० शुक्रबार ७:२१, संखुवासभा

संखुवासभाको सिद्धकालीमा सामूहिक हत्या प्रकरणमा संलग्न एकजना महिला पक्राउ परेकी छन्। चैनपुर नगरपालिका–३ की ३५ वर्षीया कैली तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।  

सामूहिक हत्या प्रकरणमा संलग्न कैली तामाङलाई मोरङ प्रहरीको सहयोगमा बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए। तामाङलाई मोरङको केराबारी गाउँपालिका–१० स्थित मोहन नेपालको घरबाट पक्राउ गरिएको हो। 

प्रहरीले बिहीबार निजलाई इलाका प्रहरी कार्यालय चैनपुर पुर्याएको छ। बीस वर्षअघि भएको सामूहिक हत्या प्रकरणमा संलग्न तामाङ कर्तव्य ज्यान मुद्दामा अदातलबाट दोषी ठहर भए पनि फरार थिइन्। 

२०६० सालमा दुईजना पुरुषको सामूहिक हत्या गरिएको घटनामा संलग्न भएकी तामाङ प्रहरीको फरार सूचीमा थिइन्। 

कर्तव्य ज्यान मुद्दाकी प्रतिवादी तामाङलाई घटनामा संलग्न रहेको भनेर सङ्खुवासभा जिल्ला अदालत चैनपुरले दोषी ठहर गरिसकेको छ । जिल्ला अदालतले २०६६ साल फागुन १२ गते निजलाई २० वर्ष कैद सजाय तोकेको थियो। 

सङ्खुवासभाको साबिकको सिद्धकाली–२ का मङ्गल लिम्बू र योगेन्द्र दाहालको २०६० साल फागुन १० गते सामूहिक हत्या भएको थियो । खानेपानीको पाइप हराएको विवाद उत्कर्षमा पुग्दा पारिवारिक नाता सम्बन्धका आठजना मिलेर दुईजनाको सामूहिक हत्या गरेका थिए।

दुई पक्षबीच भएको विवादमा हाल पक्राउ परेकी कैली तामाङसहित राजेन्द्र तामाङ, राजेन्द्रकी पत्नी निर्मला पाण्डे (तामाङ), गोपाल तामाङ, देवीमाया तामाङ, गणेश तामाङ, धनमाया तामाङ र लोकबहादुर तामाङ मिलेर मङ्गल र योगेन्द्रको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको प्रनाउ श्रेष्ठले जानकारी दिए।  

घटनामा संलग्नविरुद्ध दर्ता भएको कर्तव्य ज्यान मुद्दाको १४ वर्षअघि नै अदालतबाट फैसला भइसकेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .