ad ad

समाज


टन्सिल के हो र कस्तो अवस्थामा अपरेसन गर्नुपर्छ? (भिडिओ)


नेपालखबर
असोज १३ , काठमाडौँ

शरीरका कुनै पनि अंग दुख्नु सामान्य होइन। कुनै पनि अंगको दुखाइ एकै कारणले हुँदैन। एउटै अंगका पनि विभिन्न भाग हुन्छन्। तिनका दुखाइका कारण पनि फरक हुन्छन्।

हाम्रो महत्त्वपूर्ण अंग कानको मुख्य काम सुन्नु हो। यसले आफ्नो शरीरलाई सन्तुलनमा राख्नसमेत मद्दत गर्छ। कानका तीन भाग हुन्छन्। ती हुन्– बाहिरी, बीच र भित्री भाग। 

त्रिपुरेश्वरको ब्लुबर्ड इन्टरनेसनल क्लिनिककी नाक कान घाँटी विशेषज्ञ डा. प्रियंका गुप्ताका अनुसार व्यक्तिको उमेर समूहअनुसार कान दुख्नुका कारण फरक–फरक कारण हुनसक्छन्। 

‘कान दुख्नुका कारण कान कोट्याउँदा वा एयरबड धेरै समय लगाउँदा हुनसक्छ। कानेगुजी भरिएर, इन्फेक्सन, धेरै हाच्छिउँ वा रुघाखोकीका कारण जालीमा समस्या देखिनसक्छ।’

कान नसुनिने कसैको जन्मजात समस्या हुनसक्छ। कसैले उमेर बढ्दै गएपछि नसा सुकेर कान सुनिनसमेत बन्द हुन्छ। ९० प्रतिशत बच्चामा कानेगुजी भरिएकै कारण कान नसुनिने समस्या देखिने डा. गुप्ता बताउँछिन्। 

‘कानेगुजी भरिएको कारण नसुनिएको हो भने औषधि हालेर पगाल्नुपर्छ,’ नेपालखबरसँगको कुराकानीका क्रममा उनले भनिन्, ‘५० वर्षबढी भएपछि कानमा सुन्न क्षमता भएको नसा सुक्दै जाँदा नसुनिने धेरै केसहरू बढेका छन्।’

कानेगुजी जम्मा हुनु सामान्य कुरा हो। यसले कानबाट कीटाणुलाई भित्र पस्न दिँदैन। कानको फोहर आफैँ निस्कन्छ। धेरै भरिएर समस्या नदिदाँसम्म टुल्स प्रयोगगरी निकाल्नु पर्दैन। धेरैजना अस्पताल कान सफा गर्न भन्दै पुग्ने गर्छन् तर कानमा फोहोर नै नहुने उनको अनुभव छ।

‘कान एस सेपको हुन्छ। सफा गर्नका लागि एयरबड प्रयोग गर्दा छेउछाउमा ठोक्किन्छ, यसले झन घाउ हुनसक्छ। सकेसम्म एयरबडको प्रयोग कम गर्नुपर्छ। कानेगुजीले समस्या नपारेसम्म टुल्स प्रयोग गर्नु हुँदैन,’ उनी भन्छिन्। 

कानै नसुन्ने समस्या भए अहिले प्रविधिको प्रयोग गर्न सकिन्छ। 

हाच्छिउँ बढी किन आउँछ?
फोहोर र प्रदूषण बढ्दै जाँदा एलर्जीको समस्या पनि देखिँदै गएको छ। 

यसले नाक बन्द गराउने, चिलाउने हुँदा हाच्छ्यौँ बढी गराउँछ।  धुवाँ, धुलो कुन कारणले हाच्छ्यौँ आएको हो भने त्यसकै आधारमा उपचार गर्नुपर्ने हुन्छ।

नाकको काम स्वास फेर्ने र गन्ध थाहा पाउने हो। नाकभित्र मासु पलाउने, हड्डी बांगो हुँदा स्वास प्रश्वासमै समस्या हुन्छ। पिनास जम्मा भएको कारणले पनि नाक बन्द हुन्छ। नाकमा अर्को समस्या रगत बग्नु हो। बच्चालाई गर्मीको कारण रगत बग्छ। 

शरीरमा आवश्यकभन्दा बढी गर्मी हुँदा नाकबाट नाथ्रो फुट्ने समस्या हुन्छ।  बच्चाले नाक कोट्टाउने बानीको कारण रगत बग्छ। वृद्ध अवस्थामा नाकमा मासु पलाएको वा कुनै समस्या भएपनि रगत बग्न थाल्छ।

टन्सिल अंग हो, रोग होइन 
टन्सिल घाँटीमा हुने एक अंग हो, कुनै रोग होइन। रुद्रघण्टीको वरीपरी २ वटा डल्लो हुन्छन्। स्वास फेर्न गाह्रो हुने, सुतेको बेला घुर्ने समस्या नभए डराउनु पर्दैन। 

डा. गुप्ता भन्छिन्, ‘घाँटीलाई कीटाणुबाट जोगाउने काम टन्सिलको हुन्छ। घाँटीको सुरक्षा गर्छ।’

तर टन्सिल बिग्रँदा मानिसलाई अप्ठेरो हुने गरेको छ। टन्सिलकै कारणले ज्वरो आउने, खाना खानै गाह्रो हुने समस्या भए डाक्टरसँग सुझाव लिई उपचार गर्नुपर्ने हुन्छ। 

टन्सिलकै कारण बिरामी भई अप्ठेरो भएमात्रै त्यसलाई अपरेसन गर्नुपर्छ।

‘वर्षको ७–८ पटक टन्सिलकै कारण कसैले दुःख पाए त्यसलाई अपरेसन गर्ने हो,’ उनी भन्छिन्, ‘टन्सिल ठूलो भएर स्वास फेर्न अप्ठेरो हुने, घुर्ने र खानै समस्या भए अपरेसन गर्नुपर्छ।’

घाँटी दुख्ने टन्सिलकै कारणले मात्रै नहुनसक्छ। एलर्जी जस्ता कारणले पनि दुखेको हुनसक्छ। मौसम परिवर्तन हुँदा घाँटी दुखेको हुन सक्छ।

बिरामीलाई हेरेपछि मात्रै टन्सिलाइटिस हो कि होइन थाहा हुन्छ। घाँटीको एलर्जी मौसमसँगै धुलो धुवाँको कारणले हुन्छ। 

टन्सिलले धेरै अप्ठेरो गर्दा अपरेसन गरेर निकाल्नुपर्छ। यसको उपचार सहज हुन्छ। घाँटीको भित्रबाटै उपचार हुन्छ। टन्सिल फाल्दैमा घाँटी दुख्न छाड्ने हुँदैन। 

व्यक्तिको बानी व्यवहारले घाँटीमा क्यान्सर हुन्छ। सामान्यतया क्यान्सर वृद्ध अवस्था पुगेपछि देखिने गरेको छ।

चुरोट धेरै खानेलाई सबैभन्दा बढी घाँटीमा क्यान्सर हुन्छ। मदिरा र सूर्तीजन्य पदार्थले घाँटीमा क्यान्सर बनाउँछ। यसबाट जोगिन जीवनशैली नै स्वस्थ्यकर बनाउनुपर्ने डा. गुप्ता बताउँछिन्।

भिडिओ/तस्बिर : सरोज नेपाल

असोज १३, २०८० शनिबार १०:४०

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .