प्युठानमा बेहुला चढेको गाडीको जन्तीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। घटनामा अरु चार जना घाइते भएका छन्।
ऐरावती गाउँपालिका-२ बढौलामा लु ३ च ६८४७ नम्बरको स्कारपिओ गाडीले ठक्कर दिँदा जन्ति हिँडेका प्युठानकै मल्लरानी गाउँपालिका(३ चोरपानीका ५२ वर्षीय दामोदर परियारको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार ओरालो सडकमा अघिअघि नाच्दै हिँडिरहेका जन्तिलाई पछिपछिबाट आउँदै गरेको गाडीले ठक्कर दिँदा दुर्घटना भएको हो।
बेहुला चढेको गाडीको टायर अकास्मात पन्चर हुँदा दुर्घटना भएको प्युठानका प्रहरी प्रवक्ता इन्स्पेक्टर होमानन्द खनालले जानकारी दिए।
गाडीको ठक्करबाट गम्भीर घाइते भएका परियारको उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको हो।
दुर्घटनामा मल्लरानी गाउँपालिका-३ का कृष्ण परियार, ऐरावती गाउँपालिका-२ का करिश्मा सुनार, सिर्जना सुनार र दाङको राप्ती गाउँपालिका-५ कि पिपला सुनार घाइते भएका छन्।
दुर्घटनापछि स्कार्पियो चालकलाई प्रहरीले पक्राउ गरेको छ।
Shares
प्रतिक्रिया