सर्लाहीको हरिवनमा रहेको नारायण उप्रेती स्मृति प्रतिष्ठानले उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ।
तत्कालिन हरिवन गाविसका अध्यक्ष नारायण उप्रतीको ३१ औँ स्मृति दिवसका अवसरमा आइतबार एक कार्यक्रम गरी प्रतिष्ठानले उत्कृष्ठ विद्यार्थीलाई नगद पुरस्कार र प्रमाणपत्रसहित सम्मान गरेको हो।
कार्यक्रममा हरिवन नगर क्षेत्रका विभिन्न विद्यालयबाट एसईई र कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने र नगरस्तरीय हाजिरी जवाफ प्रतियोगितामा विजयी हुने विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ।
कार्यक्रममा सर्लाही ३ बाट निर्वाचित संघीय सांसद तथा पूर्वमन्त्री हरिप्रसाद उप्रेती, पूर्व प्रदेश सांसद डिल्ली उप्रेती, एमाले नेताहरु रेवती पन्त, बिदुर प्याकुरेल, गणेश प्रसाइँ, चुडामणि वाग्ले, माओवादी हरिवन नगर समितिका अध्यक्ष अर्जुन पन्त, कांग्रेसका नगर सभापति रामशरण उप्रेती लगायतको उपस्थिति थियो।
कार्यक्रममा वक्ताहरुले स्वर्गीय उप्रेतीले प्रजातन्त्र पुनस्र्थापनाको लागि पुर्याएको योगदानको चर्चा गरेका थिए।
०४६ सालमा भएको संयुक्त जनआन्दोलनका योद्धा उप्रेतीले त्यतिबेला सर्लाही जिल्लामा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। आन्दोलनको क्रममा तत्कालिन सुरक्षाकर्मीको यातनाबाट उनी गम्भीर घाइते भएका थिए।
घाइते अवस्थामै नेकपा एमालेको तर्फबाट हरिवन गाविसको अध्यक्षमा निर्वाचित भएका उप्रेतीको २०४९ सालमा युवाअवस्थामै निधन भएको थियो।
Shares
प्रतिक्रिया