दुई दिन राम्ररी घाम लागेको तराई-मधेसमा आज (बुधबार) फेरि बाक्लो हुस्सु लागेको छ।
दुई सातापछि सोमबार र मंगलबार तराई मधेसका जिल्लामा बिहानैदेखि पारिलो घाम लागेको थियो। आज बिहानैदेखि सर्लाही, महोत्तरी, रौतहट लगायतका जिल्लामा बाक्लो हुस्सु र शीतलहर छ।
चिसो बढ्दा दैनिक काम गरेर हातमुख जोड्नुपर्ने वर्गका नागरिक, स्कुल जाने बालबालिका बढी प्रभावित भएका छन्।
तराईका जिल्लाका किसानलाई यतिबेला उखु काटेर चिनी उद्योगसम्म पुर्याउनुपर्ने चटारो छ। चिसोले उखु काट्ने खेताला पाउन नसकिएको किसानले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछाने अहिले (बुधबार बिहान) तराईका जिल्लामा लागेको हुस्सु र कुहिरो दिउँसोपख कम हुँदै जाने बताए।
‘तराईका जिल्लामा आज पूर्णरुपमा घाम लाग्ने सम्भावना छैन,’ लामिछानेले नेपालखबरसँग भने, ‘दिउँसोपख हुस्सु कुहिरो केही कम हुन्छ। कतैकतै पारिलो घाम लाग्न पनि सक्छ। तर, सबैतिर हुस्सु र कुहिरो हट्दैन।’
Shares
प्रतिक्रिया