सर्लाहीको ब्रम्हपुरीमा खेत जोत्ने क्रममा ट्याक्टरमा करेन्ट प्रवाह हुँदा चालकको मृत्यु भएको छ।
ब्रम्हपुरी गाउँपालिका- २ का २७ वर्षीय राजेश पासवानको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
बिहीबार दिउँसो घर नजिकै खेतमा चैते धान रोप्नको लागि ज १ त ४३१४ नम्बरको ट्याक्टरले जोत्दै गर्दा कृषि मिटरको तारबाट करेन्ट लागेर पासवान गम्भीर घाइते भएका थिए।
उनको उपचारको क्रममा बिहीबार साँझ प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।
‘मोटरबाट जमिन मुनीको पानी तानेर चैते धान रोपाइँ गर्ने क्रममा ट्याक्टरको तावाले नांगो तार छुँदा करेन्ट प्रवाह भएको हो,’ डीएसपी श्रेष्ठले भने, ‘घटनाको सम्बन्धमा हामी थप अनुसन्धान गरिरहेका छौँ।’
पासवानको शव प्रादेशिक अस्पतालमा पोष्टमार्टमपछि आफन्तले बुझि लगेका प्रहरीले जनाएको छ।
Shares
प्रतिक्रिया