रौतहटको चन्द्रपुर नगरपालिकाका तत्कालीन नगर प्रमुख रामचन्द्र चौधरीलाई ४ वर्ष कैद सजाय हुने फैसला विशेष अदालतले गरेको छ।
राजस्व चुहावट गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
सो मुद्दामा विशेष अदालतले उनलाई ४ वर्ष कैद र ३७ लाख ३४ हजार १९८ रुपैयाँ जरिवाना हुने फैसला गरेको हो।
चौधरीसँगै आशिक कन्स्ट्रक्सनका सञ्चालक राम विनोद राउत बरैलाई पनि ४ वर्ष कैद र र ३७ लाख ३४ हजार १९८ रुपैयाँ नै जरिवाना हुने फैसला भएको छ।
बरैलाई २८ लाख २२ हजार रुपैयाँ थप जरिवाना हुने फैसला गरेको विशेषले राजस्व चुहावटमा मिलेमतो देखिएको भन्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सिग्देललाई २८ लाख २२ हजार जरिवानासहित ४ वर्ष कैदको सजाय हुने फैसला गरेको छ।
अर्का प्रतिवादी तत्कालीन लेखा अधिकृत कीर्तिराज सुवेदीले भने सफाई पाएका छन्। उनीहरुले आपसी मिलेमतोमा स्थानीय चाँदी नदीको नदीजन्य पदार्थ उत्खनन तथा बिक्री गर्दा ५५ लाख २ हजार १९८ रुपैयाँ राजस्व चुहावट गरेको ठहर विशेष अदालतले गरेको छ।
Shares
प्रतिक्रिया