गोर्खा नेप्लिज टेनिस क्लब बेलायतले आयोजना गरेको एक दिवसीय ‘समर टेनिस टुर्नामेन्ट’को उपाधि तारामान गुरुङले जितेका छन्।
शनिबार अल्डर्सटस्थित सैनिक छाउनीको टेनिस सेन्टरमा सम्पन्न प्रतियोगितामा प्रमुख उपाधिका निम्ति मिन्स सिङ्गल्स ओपन एतर्फ सनसनीपूर्ण फाइनल खेलमा शीर्ष वरियताका तारामान गुरुङ कृष्ण थापा मगरलाई ३–५, ४–१, ११–९ को सेटमा पाखा लगाउँदै च्याम्पियन बनेका हुन्।
प्रो–सेटभन्दा फरक फर्म्याटमा खेलाइएको फाइनल खेलको पहिलो सेट ३–५ ले गुमाएका गुरुङ दोस्रो सेटमा लयमा फर्कन सफल भएका थिए।
दोस्रो सेट ४–१ ले आफ्ना पक्षमा पारेपछि अन्तिम सुपरटाई सेट पनि आफ्ना पक्षमा पार्न गुरुङलाई निकै कठिन भएको थियो। टाइब्रेकरको सुरुवातमा समेत सर्भिस गुमाएका गुरुङले अन्तिम टाइब्रेकरको मध्यतिर प्वाइन्टको दूरी घटाएका थिए। खेलको अन्तिममा दुई च्याम्पियनसिप प्वाइन्टसमेत गुमाएका गुरुङ अन्ततः ११–९ को अन्तरमा उपाधि चुम्न सफल भए।
त्यसैगरी प्रतियोगिताको अन्य समूहबीच भएका प्रतिस्पर्धामा मिन्स सिङ्ग्ल्स डिभिजन ‘बी’तर्फ फाइनल खेलमा नमराज गुरुङले राजन फुँयाललाई हराए भने डिभिजन ‘सि’तर्फ रुद्र गुरुङले हर्क गुरुङलाई जिते।
डिभिजन ‘डि’तर्फ वीर बरालले बालकृष्ण गुरुङलाई हराए। त्यसैगरी लेडिज ओपनमा क्याथरिन लामाले माया थापालाई जितिन्।
त्यस्तै मिन्स डबल्स ओपनतर्फ फाइनल खेलमा मिन गुरुङ र कुशल गरुङको जोडीले सरोज राई र मिलन गर्बुजालाई हराए भने मिन्स डबल्स नोभाईसतर्फ ललित मल्ल र गौरब बरालको जोडीलाई उत्तम केसी र रवीन्द्र गुरुङले जिते।
प्रतियोगितामा कूल ६२ खेलाडीले सहभागिता जनाएका थिए। प्रतियोगिताको प्रमुख प्रायोजन घले मोर्ट्गेजले गरेको थियो।
प्रतियोगिताका विजेता र उपविजेताहरूलाई क्लबका अध्यक्ष हर्कबहादुर गुरुङले ट्रफी प्रदान गरे। पुरस्कार वितरण समारोह क्याप्टेन मोहन गुरुङले सञ्चालन गरेका थिए।
कार्यक्रममा रसमुर बोरो काउन्सिल अल्डरसटका सिनियर काउन्सिलर डेभिड क्लिफोर्ड र काउन्सिलर जीव बेल्बासे पनि उस्थिति थिए।
सन् २०१७ मा आधिकारिक रूपमा स्थापना भएको क्लबमा १ सय २८ भन्दा बढी सक्रिय सदस्य रहेको अध्यक्ष गुरुङले नेपालखबरलाई जानकारी दिए। क्लबले वर्षमा ४ वटा प्रतियोगिता गराउने गरेको छ।
Shares
प्रतिक्रिया