कोरोना भाइरस महामारी नआएको भए पोखरामा नवौं राष्ट्रिय खेलकुद भइसकेको हुन्थ्यो। त्यसका लागि गत २०७७ फागुन २० देखिको मिति तोकिएको थियो।
बाँकेको नेपालगञ्जमा भएको आठौँ राष्ट्रिय खेलकुदको समापनका क्रममा पोखराले प्रतियोगिता गर्न आयोजकको झण्डा लिएको थियो।
कोरोना महामारीले रोकेको नवौँ राष्ट्रिय खेलकुद कहिले हुन्छ? टुंगो छैन। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बैठक बस्न नसक्दा पनि खेल महोत्सवको अर्को मिति अनिश्चित भएको छ।
यसअघि गत असार ३० गते राखेपको बोर्ड बैठक बस्ने भनिएको थियो। तर तत्कालीन युवा तथा खेलकुद मन्त्री कृष्ण गोपाल श्रेष्ठ हटेपछि बैठक स्थगित भएको थियोे।
श्रेष्ठपछि अर्का खेलकुद मन्त्री नआएका कारण फेरि बैठक बस्न सकेको छैन। खेलकुद मन्त्री राखेप अध्यक्ष रहने राष्ट्रिय खेलकुद विकास ऐन २०७७ मा उल्लेख छ। त्यही प्रावधान अनुसार अध्यक्षले बैठक बोलाउनुपर्ने हुन्छ।
क्षेत्रीय खेलकुद विकास समिति प्रमुख लक्ष्मण योगीले बजेट विनियोजन भए पनि मिति नतोकिएको बताए।
‘खेल महोत्सवका लागि प्रदेश र केन्द्रबाट बजेट त विनियोजन भएको छ। तर मिति तोकिएको छैन’, उनले भने, ‘केही पूर्वाधार तयारी अवस्थामा छन्, केही बनिरहेका छन्।’
अहिले पनि विभिन्न जिल्लामा खेल पूर्वाधार निर्माण भइरहेका छन्। रंगशालामा बाँकी काम भइरहेको छ। गण्डकी प्रदेशका ११ वटै जिल्लामा खेल प्रतियोगिता गर्न तयारी भइरहेको उनले बताए।
नवौं खेल महोत्सवमा ३६ खेलमा प्रतिस्पर्धा हुनेछ। आयोजकका नाताले गण्डकी प्रदेशले एक खेल थपेर ३७ वटा वटा बनाउने तयारी गण्डकी प्रदेश खेलकुद परिषद्ले गरिरहेको छ।
११ जिल्लामा प्रतियोगिता गराउने तय भएको छ। तर अहिलेसम्म कुन खेल कहाँ गराउने तय भइसकेको छैन। नीतिगत रुपमा हरेक जिल्लामा कुनै न कुनै खेल गराउने तयारीमा गण्डकी प्रदेश लागेको छ।
‘३६ वटा खेल गराउँदा ठेलो खेल पनि समावेश गरेर स्पर्धा गराउने छौँ’, उनले भने, ‘गण्डकी प्रदेशको परम्परागत ठेलो खेल थपेर प्रतिस्पर्धा हुनेछ।’
गण्डकी प्रदेश खेलकुद परिषदका सदस्यसचिव तेज गुरुङले मिति तय नभए पनि तयारी भइरहेको बताएका छन्।
‘नवौँ राष्ट्रिय खेलकुदको मिति तय नभए पनि प्रारम्भिक चरणका प्रशिक्षण सुरु गरिसकेका छौँ’, उनले भने, ‘त्यसका लागि खेलाडी र प्रशिक्षकलाई ४ सय खोप लगाइसकेका छौँ। सबै खेलाडीलाई तयारी अवस्थामा राख्दैछौँ। हामीले मात्रै गरेर हुन्न, सबै प्रदेशका खेलाडीलाई तयार गर्नुपर्छ।’
नवौँ राष्ट्रिय खेलकुद तयारीको पहिलो खुड्किलो भारत्तोलनका, आर्चरी, बक्सिङ, कराँते, ब्याडमिन्टन र फुटबलको प्रशिक्षण थालिएको छ। बिस्तारै अन्य खेलको पनि प्रशिक्षण पनि सुरु गर्ने तयारी छ।
पोखरामा यसअघि नै पूर्वाधार भएकाले प्रतियोगिता गर्न समस्या छैन। नवौँ राष्ट्रिय खेलकुदका लागि ७० प्रतिशत पुर्वाधार तयार भएको सदस्यसचिव गुरुङले बताए। ‘बाँकी पूर्वाधारको स्तरोन्नति गर्ने हो’, उनले भने, ‘प्रतियोगिता मिति तय भए पनि पूर्वाधारको समस्या हुने छैन।’
छैनन् केहीका पूर्वाधार
नवौँ खेलकुदमा स्वीमिङ र सुटिङका लागि पूर्वाधार छैनन्। त्यसैले केही खेल काठमाडौंमा नै गर्नुपर्ने बाध्यता छ। समयमै प्रक्रिया पूरा नगर्दा गण्डकी प्रदेशमा हुने खेल बाहिर गर्नुपर्ने बाध्यता आउन सक्ने अधिकारीहरु बताउँछन्। यसमा ठूलो रकम खर्च हुन्छ।
‘तत्कालै स्वीमिङ पुल तयार हुने अवस्था छैन। नयाँ बनाउन पहिलो चरणमा ६ करोड रुपैयाँ विनियोजन भएको छ तर यो रकम पर्याप्त छैन’, सदस्यसचिव गुरुङले भने, ‘स्वीमिङ पुलका लागि ४८ करोडको लागतमा डिपिआर तयार भएको छ।’
यस्तै पोखरामा सुटिङको पूर्वाधार पनि छैन। सुटिङको पूर्वाधार बनाउन पहिलो चरणमा २ करोड बजेट छुट्टयाइएको छ। यो रकम पनि कम पर्ने गुरुङ सुनाउँछन्। यसमा ६ देखि ७ करोड बजेट चाहिन्छ।
स्वीमिङ र सुटिङ मात्रै होइन, पोखरामा हक्कीको पनि मैदान छैन। हक्की प्रतियोगिताका लागि अन्तर्राष्ट्रियस्तरको मैदान बनाउन ठूलो बजेट चाहिन्छ।
पोखराका विद्यालयको मैदानमा प्रतियोगिता गराउन सकिने गुरुङले बताए। उनले भने, ‘विद्यालयमा प्रतियोगिता गराउन सकिन्छ। रंगशालामा प्रशिक्षण गर्ने स्थान पनि छैन।’
पोखरा रंगशालाको क्रिकेट स्टेडियममा प्याराफिट छैन। ठूला प्रतियोगितामा बाँसका अस्थायी प्याराफिट बनाएर दर्शक राखिन्छ। नवौँ राष्ट्रिय खेलकुद रंगशालाले स्वरुप फेर्ने आशा क्रिकेट प्रेमीले गरेका थिए। तर त्यो सपना अलपत्र छ।
क्रिकेट रंगशालाको स्तरोन्नतिका लागि १ करोड बजेट विनियोजन भएको छ। तर प्याराफिट निमार्ण गर्ने योजना प्रदेश परिषदसँग छैन। प्याराफिटमा समस्या भए पनि मैदान भने खेल्न उपयुक्त छ।
रंगशालाको मुख्य मैदान तयार हुँदैछ। रंगशालाको फुटबल स्टेडियम असोजभरमा पूरा भइसक्ने सदस्यसचिव गुरुङले भने । केही सामान बाहिरबाट ल्याउनुपर्ने बाध्यताले ढिलाइ भइरहेको छ।
Shares
प्रतिक्रिया