अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ र राष्ट्रिय फुटबल टोलीका कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीचको विवादमा अझै पूर्णविराम लाग्नसकेको छैन।
विवाद समाधानका लागि भन्दै गत साउन १९ गते नेम्वाङ र अलमुताइरीबीचको भेटपछि सहमति भएको भनिए पनि औपचारिक जानकारी दुवै पक्षबाट आएको छैन।
यसबीचमा विवाद समाधानकै लागि भन्दै छानबिन समितिले बिहीबार राति सहमतिको प्रयास गरेको छ। ललितपुरस्थित एक होटलमा करिब ३ घण्टा छलफल चले पनि त्यसले कुनै निष्कर्ष निकाल्न नसकेको हो।
छलफलमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष नेम्वाङ, अर्का उपाध्यक्ष कृष्ण बहादुर थापा, महासचिव इन्द्रमान तुलाधर, वीर बहादुर थापा, शिशिर पराजुली, राष्ट्रिय टोलीका व्यवस्थापक मदुसुधन उपाध्याय, राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेश कुमार सिलवाल, छानबिन समितिका संयोजक पुरेन्द्र विक्रम लाखे, समितिका अन्य तीन सदस्यलगायत करिब १५ जना सहभागी थिए।
बिहीबार रातिको भेटलाई इंगित गर्दै एन्फा केन्द्रीय सदस्य किरण राईले भने, ‘एन्फामै टुंग्याउनुपर्ने विषय मन्त्रालय गुहार्ने काम नै गलत थियो तर मन्त्रालयले छानबिन समिति नै बनाएपछि प्रतिवेदन सार्वजनिक गर्नुपर्दछ, सत्यतथ्य बाहिर आउनु नै पर्छ।’
‘युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदजस्तो सबै खेलहरुलाई नियमन गर्ने निकायमा विषय पठाइसकेपछि नियम कानुन र खेलको नियमअनुसार हुनुपर्छ’, सामाजिक सञ्जाल फेसबुकमा राईले लेखेका छन्, ‘चोचोमोचोको समय गुज्रिसकेको छ, छानबिन समितिले हामीसँग पनि बयान लिएपछि अब प्रतिवेदनले के बोल्छ, त्यसैको व्यग्र प्रतीक्षामा छु। म प्रतिवेदन सार्वजनिक होस् भन्ने छानबिन समितिसमक्ष जोडदार माग गर्दछु।’
राखेप सदस्य पुरेन्द्रविक्रम लाखेको नेतृत्वमा रहेको ७ सदस्यीय समितिले नेम्बाङ, अलमुताइरीसहित १४ जनाको बयान लिइसकेको छ। बयान सकेको छानबिन समितिले राखेप सदस्य सचिवलाई प्रतिवेदन बुझाउनुअघि विवाद समाधानको लागि पहल गरेको हो।
तर छलफल विना निष्कर्ष सकिएपछि अब यसरी बोलाइएको छलफलमा आफूहरु उपस्थित नहुने नेम्वाङ समूहले बताएको छ।
‘छानबिन समिति र एन्फामै भएको छलफलमा मात्र जान्छौँ, अब बाहिर यसरी बोलाइएको ठाउँमा उपस्थित हुँदैनौँ’, छलफलमा समूहका तर्फबाट सहभागी एक जनाले भने, ‘मिलेर जानुपर्छ भनेर छलफलका लागि बोलाइएको थियो तर कसरी जाने भनेर निष्कर्षचाहिँ आएन।’
स्रोतका अनुसार प्रशिक्षकले सामाजिक सञ्जालमा लेखेको स्ट्याटस डिलिट गर्नुपर्ने र माफी माग्नुपर्ने नेम्वाङ पक्षले माग गरेको थियो।
तर त्यसमा ‘सरी’ कसलाई भन्न लगाउने भन्ने विषयमा सदस्यसचिव सिलवालले एन्फा महाचिव इन्द्रमान तुलाधरलाई भन्न आग्रह गर्दा तुलाधरले ‘उहाँले सरी भन्नुहुन्न त्यसैले म सक्दिन’ भनेपछि एन्फा अध्यक्ष शेर्पाले पनि आफूले नभन्ने बताए।
त्यस्तो हुँदा कसरी मिल्छ भन्दा केहीबेर त्यही विषयमा छलफल भयो तर निष्कर्ष भने निस्कन सकेन।
अब छानबिन समितिले नै प्रशिक्षकलाई बोलाएर माफी माग्न लगाउने विषयमा सल्लाह गर्ने स्रोतले बताएको छ।
छानबिन समितिका ५/६ जना, नेम्वाङ पक्षका ४, एन्फा अध्यक्ष कर्मा छिरिङ र इन्द्रमान तुलाधर बस्ने भनेर उक्त छलफल डाकिएको थियो। तर त्यहाँ अन्य मान्छे पनि भएकाले नेम्वाङ समूहले आफ्नो कुरा नराखेको बताएको छ।
के हो विवाद?
गत साउन १० गते मुख्य प्रशिक्षक अलमुताइरीले वरिष्ठ उपाध्यक्ष नेम्वाङलाई कारण देखाउँदै सामाजिक सञ्जाल फेसबुकमा समर्थकलाई सम्बोधन गर्दै राजीनामा घोषणा गरेका थिए।
अलमुताइरी राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका लागि पोखरामा छन्। सुरुमा एन्फाले प्रशिक्षणमा रोक लगाएपछि पोखरामा भने प्रशिक्षण गर्न अनुमति दिएको छ।
समितिले गत साता ३ दिनको अन्तरमा कुल १४ जनासँग बयान लिएको थियो। समितिले बयानको अन्तिम दिन बिहीबार वरिष्ठ उपाध्यक्ष नेम्वाङ, दुई सञ्चारकर्मी, कप्तान किरण चेम्जोङ, प्रशिक्षक अलमुताइरी र इक्वेस्ट्रिएन संघका अध्यक्ष रवि राजकर्णिकारसँग बयान लिएको थियो।
एन्फाको साउन १५ गते बसेको कार्यकारी समितिको आपत्कालीन बैठकले विवाद समाधान गर्न नसकेपछि छानबिनका लागि एन्फाले युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गरेको थियो। मन्त्रालयले राखेपलाई छानबिनका लागि पत्र काटेको थियो।
विवादको सुरुवात भने गत साउन ७ गतेबाट भएको थियो। मुख्य प्रशिक्षक अलमुताइरी र दुई सञ्चारकर्मीसँगको विवादबाट बढ्दै जाँदा त्यसमा नेम्वाङ पनि तानिएका हुन्।
Shares
प्रतिक्रिया