नेपाली दर्शकले पुनः एकपटक घरेलु मैदानमा अन्तर्राष्ट्रिय फुटबल खेल हेर्न पाउने भएका छन्।
२०७६ को माघमा घरेलु मैदानमा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) पछि कोरोना महामारीकै बीच गत चैतमा भएको त्रिदेशीय कप फुटबल हेरे पनि दर्शकले भारत–नेपाल भीडन्तको मज्जा लुट्न नपाएको धेरै भएको छ।
नेपाल र भारतबीच करिब ४ वर्षपछि फुटबलमा भेट हुँदै छ। यी दुई टोली अन्तिम पटक अन्तिम सन् २०१७ मा मैत्रीपूर्ण खेलमा भेट भएका थिए। भारतको मुम्बई फुटबल एरिनामा भएको भेटमा नेपाल २–० ले पराजित भएको थियो।
त्यसो त नेपालको घरेलु मैदानमा यी टोली ६ वर्षपछि भिड्नलागेका हुन्। विश्वकप छनोटअन्तर्गत सन् २०१५ मा भएको भेटमा नेपाल र भारतले गोलरहित बराबरी खेलेका थिए।
नेपालविरुद्ध गोल गर्ने सर्वाधिक खेलाडीमा पर्छन् भारतीय कप्तान सुनिल क्षेत्री। अहिलेसम्म उनले नेपालविरुद्ध ५ गोल गरेका छन्।
नेपाल र भारत सन् १९८५ पछि अहिलेसम्म १९ पटक भेट भएका छन्। यी भेटमा नेपालले मात्र २ खेल जित्दा भारतले १३ खेलमा आफूअनुकूल नतिजा निकालेको छ। ४ खेल भने बराबरीमा टुंगिएको थियो।
मैत्रीपूर्ण खेलअघिको पत्रकार सम्मेलनमा दुवै टोलीले आफूहरु खेलका लागि तयार रहेको बताएका छन्।
नेपाली राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङले शारीरिक र मानसिक रुपमा तयार रहेको बताउँदै साफ च्याम्पियनसिपअघि भारतसँग खेल्न पाउनुले टोलीको तयारीमा फाइदा हुने उल्लेख गरे।
‘दुई मैत्रीपूर्ण खेलपछि हाम्रो कमजोरीबारे थाहा पाउने मौका पनि हो’, उनले भने, ‘नतिजा जे जस्तो आए पनि खेल निकै प्रतिस्पर्धात्मक हुनेछ। भारतलाई सहज टोलीको रुपमा लिएका छैनौँ।’
अलमुताइरीको प्रशिक्षणमा पहिलो भेट
नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली टोलीको प्रशिक्षण सम्हालेपछि पहिलो पटक दशरथ रगंशालामा खेलाडी उत्रिँदै छन्।
नेपाली टोलीका कप्तान चेम्जोङ प्रशिक्षक अलमुताइरीबारे भन्छन्, ‘उहाँले टोलीलाई मानसिक रुपमा बलियो बनाउनुभएको छ, बाबुले जस्तो व्यवहार गर्नुभएको छ।’
१३ वर्ष राष्ट्रिय टोलीमा रहँदा धेरै प्रशिक्षकसँग काम गरेका चेमजोङ पहिले शारीरिक रुपमा बलियो भए पनि अहिले मानसिक रुपमा पनि तयार रहेको बताउँछन्।
यता भारतीय टोलीका कप्तान सुनिल क्षत्रीले नेपाली टोलीलाई सहज रुपमा नलिएको बताए।
‘नेपालसँग खेल्न सधैँ गाह्रो हुन्छ’, उनले प्रिम्याच कन्फरेन्समा भने, ‘यसअघिको खेल बराबरीमा टुंगिएको थियो, त्यो खेल पनि हाम्रो लागि सहज थिएन।’
नेपाली टोलीमा पछिल्लो समय परिवर्तन आएको भन्दै उनले अहिले थप चुनौतीपूर्ण हुने बताए।
उनले भने, ‘अहिले नयाँ खेलाडीहरु पनि थपिएका छन्, त्यसैले पनि नेपालसँग खेल्न उत्साहित छु। नेपालको घरेलु मैदानमा खेल्दा र बाहिर खेल्दा फरक हुन्छ।’
नेपालीभाषी सुनिलले नेपाल आफ्नो मामाघर भएको बताए।
आफ्नो पुर्खा यहीँ रहेकोले भावनात्मक सम्बन्ध रहेको सुनाउँदै उनले थपे, ‘मेरो सबै जना यतै हुनुहुन्छ, त्यसैले भावनात्मक सम्बन्ध त छ तर खेल मैदानमा त्यसले केही असर गर्दैन।’
सुनिलले टोलीले साफ च्याम्पियनसिपका लागि तयारी राम्रोसँग गर्न नपाएको र यो मैत्रीपूर्ण खेल साफकै तयारी हुने बताए।
के भन्छन् भारतीय प्रशिक्षक?
भारतीय टोलीका प्रशिक्षक इगोर स्टिम्यागले पनि साफका तयारीका लािग मैत्रीपूर्ण खेलले फाइदा पुग्ने बताए।
नेपालले पछिल्लो समय राम्रो प्रदर्शन गरिरहेकाले आफूहरुले कमजोर नठानेको बताए।
‘पछिल्लो समय नेपालले युवा खेलाडीलाई मौका दिँदै रक्षापंक्तिमा सुधार गरिरहेको छ। तर हामीले धेरै तयारी गर्न पाएका छैनौँ’, उनले भने।
नेपालसँगको मैत्रीपूर्ण खेलमा पनि भारतीय टोलीले युवा खेलाडीलाई मौका दिनेछ। टोलीमा भर्खर आएका सेरीटन फर्नान्डेसले दोस्रो खेलमा डेब्यु गर्ने प्रशिक्षकले बताए।
यस्तै गोलरक्षक धिरज पनि युवा नै छन्। उनी भविष्यका राम्रा खेलाडी हुन्।
जितका लागि खेल्छौँः नेपाली प्रशिक्षक
नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आफूहरु जितका लागि खेल्ने बताए।
उनले भने, ‘हामी समर्थकका लागि गर्व गर्नलायक खेल प्रस्तुत गर्नेछौँ। हामी विगत हैन भविष्य हेर्छौँ।’
पहिला के भएको थियो भनेर त्यसको नतिजा नहेर्ने बताउँदै प्रशिक्षक अलमुताइरीले भविष्यका लागि खेल्ने बताए।
‘दुवै खेलमा जित निकाल्ने हाम्रो लक्ष्य हुनेछ’, उनले भने, ‘वरीयता हेर्ने हो भने भारत हामीभन्दा धेरै माथि छ तर हामी सजिलै खेल्न दिनेछैनौँ।’
फिफा मान्यताप्राप्त खेल भएकाले वरीयताले ठूलो अर्थ राख्ने बताउँदै उनले नेपाली टोली बराबरीका लागि नभई जितकै लागि मैदान उत्रिने बताए।
विराजको कीर्तिमान बराबरी गर्दै कप्तान किरण !
भारतविरुद्ध बिहीबार हुने खेलमा नेपाली राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङले टोलीको नेतृत्व सम्हाले उनले ७३औँ पटक राष्ट्रिय टोलीबाट खेल्नेछन्।
योसँगै उनले पूर्वकप्तान विराज महर्जनको राष्ट्रिय टोलीबाट सर्वाधिक ७३ खेल खेल्ने कीर्तिमान बराबरी गर्नेछन्।
राष्ट्रिय टोलीमा डेब्यु गर्दा नै घाइते भएका किरणले यहाँसम्म आएर यो उपलब्धि हासिल गर्न पाउनु खुसीको कुरा रहेको बताए।
‘यो निरन्तर मिहिनेतको फल हो। मिहिनेतको कारण नै यहाँसम्म आइपुगेको छु। अझै राम्रो गर्ने प्रयास गर्नेछु’, कप्तान किरणले भने।
देशको लागि खेल्न पाउनु ठूलो कुरा भएकाले १३ वर्ष राष्ट्रिय टोलीबाट लगातार खेल्न पाउनु आफैँमा महत्त्वपूर्ण उपलब्धि रहेको उनको भनाइ छ।
प्रशिक्षकको अनुमतिमा नेपालीमै बोले सुनिल
नेपाल–भारतबीचको मैत्रीपूर्ण खेलअघि आयोजना गरिएको पत्रकार सम्मेलनमा भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीलाई नेपालीमा बोल्न आग्रह गरियो।
सोसँगै उनले भने, ‘सबैभन्दा अघि माफी माग्न चाहन्छु, मलाई राम्रोसँग नेपाली बोल्न आउँदैन तर बुझन राम्रोसँग बुझ्छु।’
त्यसपछि थप प्रश्नको जवाफ दिनुअघि कप्तान सुनिलले भारतीय टोलीका मुख्य प्रशिक्षक इगोर स्टिम्यागसँग नेपाली बोल्न अनुमति मागे।
प्रशिक्षकसँग नेपालीमा बोल्ने अनुमति पाएपछि नेपालीसँगै अग्रेजी भाषा पनि मिसाउँदै सुनिलले आफ्नो कुरा राख्न थाले, ‘मेरो आमा यहीँबाट हुनुहुन्थ्यो बौद्धधामबाट।’
आफ्नो ममी र बाबा नेपालबाटै रहेको बताउँदै उनले मामाहरु अहिले पनि यहीँ बस्ने गरेको सुनाए।
‘पहिलादेखि नै बाबा भारतिय आर्मी भएको कारणले गर्दा हामी भारतमा बस्यौँ। धेरै पारिवारिक सदस्य नेपालमा नै हुनुहुन्छ। झापा, यही काठमाडौ र पोखरामा मेरो आफन्तहरु हुनुहुन्छ’, उनले भने।
खेल सकिएपछि उनीहरुलाई भेट्ने उनको भनाइ थियो।
‘धेरै समय भेट हुँदैन’, उनले भने, ‘जब खेल सकिन्छ म उहाँहरुसँग भेट गर्छु। मामामाइजू रभाइबहिनीहरुसँग भेट्ने प्रयास गर्छु।’
उनीहरुसँग भेट हुन नपाए पनि फोनमा भने कुरा हुने गरेको सुनिलले सुनाए।
आफ्नो बाबाआमा पनि फुटबलकै पृष्ठभूमिबाट आएको उनले बताए।
‘उहाँहरु फुटबल खेल्नुहुन्थ्यो सायद। त्यसैको प्रभाव पनि ममा परेको होला’, उनले भने, ‘बुबा र आमा फुटबल नखेल्ने भएको भए सायद मैले पनि खेल्ने थिइनँ होला।’
बुवा र आमाको प्रेरणाको कारण नै फुटबल खेलिरहेको उनको भनाइ छ।
Shares
प्रतिक्रिया