दसैं हरेक वर्ष आउँछ, जान्छ। तर यो सबैका लागि सोचेजस्तै रमाइलो हुन्छ नै भन्ने हुँदैन। फरक–फरक पेसामा रहेका व्यक्तिका लागि दसैं अनुभूति पनि बेग्लाबेग्लै हुने गर्छन्।
स्वास्थ्य, सुरक्षालगायत केही त्यस्ता क्षेत्र छन्, जसमा आबद्ध सबैले अन्य नागरिकले जस्तैगरी चाडबाड मनाउन पाउँदैनन्। देश र जनताप्रति जिम्मेवारीका हिसाबले अरूको भन्दा विशेष हुने भएका कारण उनीहरूलाई एक हदसम्म सम्मानको नजरले पनि हेरिन्छ। व्यक्तिगत इच्छा–आकांक्षा त्याग्दै उनीहरूले बढी समय समाज र देशका लागि दिनुपर्ने हुन्छ।
यस्तै खालको अर्काे क्षेत्र हो– खेलकुद। देशभित्रका प्रतियोगिता दसैं, तिहारजस्ता ठूला चाडपर्वलाई विचार गरेर आयोजना गरिने भए पनि अन्तर्राष्ट्रिय प्रतियोगिता जतिबेला पनि अर्थात् यस्ता चाडकै बीचमा पनि पर्न सक्छन्। यसअघि पनि विभिन्न खेलका राष्ट्रिय टोलीका खेलाडीले दसैं, तिहारजस्ता ठूला चाड मनाउन नपाएका उदाहरण छन्।
अहिले स्वदेशमा रहेका धेरैजसो खेलाडी दसैं मनाउन परिवारका साथमा पुगिसकेका छन्। काेही पुग्ने तयारी गरिरहेका छन्। तर राष्ट्रिय फुटबल टोलीका खेलाडी भने देशको जिम्मेवारी पूरा गर्ने क्रममा यतिबेला माल्दिभ्समा छन्।
साफ च्याम्पियनसिपको च्याम्पियन बन्ने लक्ष्यका साथ डटिरहेको छ। यता देशवासीले बडादसैंअन्तर्गत महाअष्टमी मनाइरहँदा राष्ट्रिय फुटबल टोलीका खेलाडी भने च्याम्पियनसिपमा इतिहास रच्दै पहिलोपटक फाइनल पुग्न बंगलादेशविरुद्ध भिडिरहेको थियो।
सुरुवातका दुई खेल लगातार जितेको नेपाल, लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई एक–एक गोलको बराबरीमा रोक्दै पहिलोपटक साफको फाइनलमा पुग्न सफल भएको हो।
बगंलादेशलाई प्रतियोगिताबाट बाहिर निकाल्दै उपाधिनजिकै पुगेको नेपालका लागि असोज २७ ऐतिहासिक दिन बन्यो। अञ्जन विष्टले पेनाल्टीमा गोल गर्दै दसैंको रमझममा रमाइरहेका नेपालीलाई अझ ठूलो खुसी थपिदिए। किनकि साफको २८ वर्षे इतिहासमा नेपाल अहिलेसम्म फाइनल पुग्न सकेको थिएन। नेपाल अब पहिलोपटक साफको उपाधि प्राप्त गर्ने लक्ष्यका साथ विजया दशमीको भोलिपल्ट असोज ३० गते भारतसँग भिड्नेछ।
राष्ट्रिय फुटबल टोलीका खेलाडी दसैंका बेला देशबाहिर रहेको यो पहिलोपटक भने होइन।
दुई वर्षअघि पनि विश्व कप तथा एसियन कप छनोट प्रतियोगिताका सिलसिलामा उनीहरू दसैंकै बेला अस्ट्रेलियामा थिए। कोरोना महामारीका कारण फुटबल गतिविधि रोकिएपछि गत वर्ष परिवारसँगै दसैं मनाएका फुटबल टोलीका खेलाडीले यसपटकको दसैं फेरि विदेशमा बिताउनुपरेको छ। तर पनि उनीहरू निकै खुसी छन्, किनकि पहिलोपटक साफको उपाधिनजिक पुग्न सक्नु आफैंमा दसैंभन्दा कम ठूलो चाड होइन।
राष्ट्रिय टोलीका स्ट्राइकर नवयुग श्रेष्ठ भन्छन्, ‘चाडबाडका बेलामा परिवारको सम्झना त धेरै नै आउँछ नि! तर हामीले दसैं मिस गरे पनि यो साफ जित्नचाहिँ मिस नहोस् भनेर दसैंको बारेमा सोचेका छैनौं।’
टोलीका अर्का खेलाडी डिफेन्डर सुमन अर्याल पनि नवयुगको भनाइमा सहमत छन्।
‘चाडबाड भनेर के गर्ने पहिला देशका लागि गर्न पर्यो’, उनले भने।
राष्ट्रिय टोलीमा आएपछि सुमन दोस्रोपटक दसैंमा परिवारबाट टाढा छन्, त्यो बेलामा पनि हल्का नरामाइलो त लागेको थियो।
‘तर हाम्रो पहिलो प्राथमिकता भनेको नै राष्ट्र सेवा हो। देशका लागि नै बाहिर छौं’, उनले भने, ‘त्यसैले टोलीसँग पनि रमाइलो त हुन्छ। त परिवारमा भएजस्तो हुँदैन, खेलको प्रेसर नै बढी हुन्छ।’
दसैंमा मात्र हैन, एकपटक तिहारमा पनि राष्ट्रिय फुटबल टोलीका खेलाडी देशबाहिर थिए। २०७३ कात्तिकमा सोलिडारिटी कप खेल्न मलेसिया पुगेका उनीहरूले आपसमा टीका लगाएर भाइटीका मनाएका थिए। संयोग, त्यतिबेला नेपाली टोली च्याम्पियन बनेर फर्केको थियो।
यसपटक दसैंमा टोली दक्षिण एसियाकै प्रतिष्ठित प्रतियोगितामा भाग लिइरहेको छ र बलियो दाबेदारी प्रस्तुत गरिरहेको छ।
राष्ट्रिय फुटबल टोली तथा त्रिभुवन आर्मी फुटबल क्लबका कप्तान भरत खवास चाडबाडका बेला परिवारसँग टाढा हुँदा खल्लो त लाग्ने तर राष्ट्रिय जिम्मेवारीका सामु व्यक्तिगत इच्छा गौण हुने उनको भनाइ छ।
‘दसैंका बेला परिवा सँगै नहुँदा याद त आउँछ, मन नै खिन्न हुन्छ, तर जुन उद्देश्य लिएर गएका हुन्छौं, त्यो पूरा गर्नैपर्छ’, नेपालखबरसँग उनले भने, ‘त्यहाँ ग्रुपमा पनि अर्के किसिमको रमाइलो हुन्छ।’
यसअघि भरत दसैंको समय आर्मी कोर्सका लागि थाइल्यान्डमा थिए। यसपटक साफ च्याम्पियनसिपको टोलीमा नरहेको भरत छोरी, श्रीमतीलगायत परिवारका सदस्यका साथ दसैं मनाउने तयारीमा छन्।
अर्कातर्फ नेपाललाई पहिलोपटक साफको फाइनलमा पुर्याउँदै इतिहास रचेका राष्ट्रिय फुटबल टोलीका खेलाडी यसको उपाधिसमेत जितेर देशवासीलाई दसैंको खुसियालीमा थप खुसी दिलाउने तयारीमा जुटिरहेका छन्।
यी पनि :
Shares
प्रतिक्रिया