ब्याडमिन्टन नेपालको व्यावसायिक खेलमा पर्दैन। यद्यपि सीमित खेलाडीका लागि यो रोजगारी र आम्दानीको स्रोत भने पक्कै हो। सम्भावना भएको खेल भए पनि ब्याडमिन्टन अझै देशव्यापी बन्न सकेको छैन।
त्यसका बाबजुद नयाँ पुस्ताका खेलाडीले ब्याडमिन्टनबाट देशलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल भएका छन्।
ब्याडमिन्टनमा जुनियर खेलाडीले लगातार सफलताका सिँढी उक्लिरहेका छन्।
पछिल्लो पटक ब्याडमिन्टनको विश्व महासंघले सार्वजनिक गरेको वरीयतामा नेपालका युवा स्टार प्रिन्स दाहाल जुनियर यू–१९ को मेन्स सिंगलतर्फको वरीयतामा शीर्ष स्थानमा पुगेका छन्।
केही वर्षयता प्रिन्स शीर्ष दसौं, सातौँ, तेस्रो हुँदै अहिले शीर्षस्थानमा उक्लिन सफल भएका हुन्। प्रिन्सले नयाँ पुस्ताका लागि सम्भावनाको ढोका खोलेका छन्।
वरीयताको शीर्ष १० मा परेदेखि नै प्रिन्स लगातार चर्चामा छन्। तुलानात्मक रुपमा अन्य खेलाडीको भने कम चर्चा हुने गरको छ। तर, महिलातर्फका खेलाडीले पनि वरीयतामा राम्रो सुधार गरिरहेका छन्।
त्यसको उदाहरण हुन्– रसिला महर्जन। रसिला जुनियरतर्फको शीर्ष २० मा पर्न सफल भएकी छन्।
प्रिन्सको जति चर्चा नभए पनि रसिलाले आफूलाई अब्बल साबित गर्दै वरीयतामा सुधार गर्दै आएकी हुन्। ब्याडमिन्टनले देशभित्र अपेक्षाअनुसारको गति लिन सकेको छैन।
तर, अन्तर्राष्ट्रियस्तरमा उमेर समूहका खेलाडीले दिलाउँदै गएको सफलताले नेपाल ब्याडमिन्टन संघले देशभित्र खेललाई थप चलायमान बनाउनुपर्ने आवश्यकता देखिएको छ।
संघले सीमित स्रोत र साधनमा प्रतियोगिता गर्छ। पर्याप्त लगानी गर्न सकेको छैन। त्यति सीमित साधनका बाबजुद पाएको मौकालाई जुनियर खेलाडीले खेर जान दिएका छैनन्। जति अनुभव पाएका छन्, त्यसको भरपूर फाइदा उठाएका छन् भन्दा फरक पर्दैन।
प्रिन्सको लोभलाग्दो सफलताले एसियाली देशमा ब्याडमिन्टनका कारण नेपालको चर्चा हुने गरेको छ। प्रिन्स र रसिलाकै पाइला पछ्याउँदै अन्य खेलाडी पनि वरीयतामा माथि चढिरहेका छन्। जुनियरतर्फ नै नरेन्द्र बम ११ सय अंकका साथ ४६ औं, ७६० अंकका साथ जेबी साउद ७४ औं स्थानमा छन्।
महिलातर्फ ३ हजार ३० अंकका साथ रसिला महर्जन १९ औं स्थानमा छिन्। त्यस्तै १३ सय १० अंकका साथ प्रसुन्ना खत्री ७७औँ, ११ सय अंक लिएर नीलिमा महरा ८९ औँ स्थान छिन्। यसले युवा पुस्तामा रहेको सम्भावनालाई थप प्रष्ट पारेको छ।
पहिलो पटक शीर्ष १९ मा पुग्दा रसिला खुसी छिन्। अन्तराष्ट्रिय प्रतियोगिता धेरै खेल खेल्दै र सफलता प्राप्त गरेका आधारमा जाँदा वरीयतामा स्थान सुधार हुन्छ।
जुनियर वरीयताका खेलाडी उमेरका कारण सिनियरमा पुग्दा त्यस पछाडिका खेलाडीको वरीयतामा स्वतः सुधार हुन्छ। रसिलाले भनिन्, ‘वरीयतामा उमेर हद पूरा भएका खेलाडीले छाड्दा पनि हाम्रो वरीयता माथि आउने हो।’
संघकै सहयोगका कारण आफूहरुले पनि वरीयता सुधार गर्ने मौका पाएको रसिला बताउँछिन्। संघले प्रतियोगिता हुँदा खेलाडीलाई बहिर पठाउने गरेको छ।
कतिपय अवस्थामा व्यक्तिगत खर्चमा पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने गरेको उदाहरण पनि छन्। यद्यपि रसिलाको हकमा भने त्यस्तो भएको छैन।
‘बाहिर प्रतियोगिता हुँदा संघले नै पठाउने गरेको छ, मेरो पढाइको कारण दुई-तीन वटा प्रतियोगिता खेल्न पाइनँ। पढाइ र खेलसँगै अगाडि लैजान केही गाह्रो हुन्छ,’ रसिलाले भनिन्, ‘कलेजले पनि त्यसमा सहयोग गरेका छन्। खेल हुँदा छाडेका पढाइ पछि कभर गरिदिन्छ।’
प्रिन्सले जुनियरतर्फ सफलताको शिखर चढे। तर, त्यसमा टिकिरहन भने चुनौतीपूर्ण छ। आउने वर्षमा यो वरीयता जोगाउन उनलाई चुनौतीपूर्ण हुनेछ। उनलाई मलेसियाका खेलाडीले पछ्याइरहेका छन्। प्रिन्स पनि त्यसमा जानकार छन्।
उनी भन्छन्, ‘यो शीर्ष स्थान होल्ड गरिराख्न अझै धेरै प्रतियोगिता खेल्नुपर्ने र जित्नुपर्ने हुन्छ।’
सिनियरमा पनि राम्रो गर्नुपर्ने दबाब प्रिन्सलाई हुनेछ। प्रतियोगिता खेल्नु जस्तै प्रशिक्षण पनि उत्तिकै महत्वपूर्ण हुने प्रिन्स बताउँछन्।
‘खेलेर मात्र हुँदैन जित्न पनि पर्छ,’ उनले भने, ‘जित्नका लागि प्रशिक्षण पनि त्यतिकै राम्रो हुनुपर्छ।’
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदीप योञ्जनले वरीयतामा नेपाली खेलाडी पर्नु नेपालको लागि ठूलो उपलब्धि भएको बताएका छन्।
‘प्रिन्सलाई पहिलाभन्दा अहिले चुनौती छ। उनले अझै अन्तराष्ट्रिय प्रतियोगिता खेलेर जित्न जरुरी छ। पछिल्लो समय नेपाली खेलाडी वरीयतामा आउनु हाम्रो लागि खुसीका कुरा हो’, योञ्जनले भने, ‘बिनातयारी त केही पनि हुँदैन, हामीले संघलाई पनि भनेका छौँ, आउने दिनमा एउटा योजना बनाएर अगाडि बढ्नुपर्ने हुन्छ।’
आफ्ना खेलाडीले प्राप्त गरेको वरीयताले गौरव गर्ने अवस्था बनेको ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ सुनाउँछन्।
‘वरीयतामा हाम्रा खेलाडीले गरेको प्रगति देशको ब्याडमिन्टनका लागि निकै सुखद् पक्ष हो। हामीले यसलाई उत्साहजनक रुपमा लिएका छौं,’ उनले भने,‘ यसले हामीलाई पनि आउने दिनमा अझै धेरै काम गर्नुपर्ने देखिएको छ।’
अध्यक्ष श्रेष्ठ खेलाडीहरुलाई वरीयतामा अझै सुधार गर्न संघले प्रतियोगिता र सुविधामा ध्यान दिने योजना बनाएको बताए। उनले भने, ‘वरीयतामा रहेका खेलाडी मात्र हैन अन्य खेलाडीलाई पनि छात्रवृत्ति दिन व्यवसायिक संघ र नेपाल सरकारसँग पहल गर्ने तयारी गरिरहेका छौं।’
एसियाका ८/१० वटा देशलाई छाड्ने हो भने नेपालले पनि ब्याडमिन्टनमा राम्रो गरिरहेको संघका अध्यक्ष श्रेष्ठ दाबी गर्छन्।
‘अहिले कोभिड–१९ को महामारी भएर मात्र हो, अन्यथा अन्तर्राष्ट्रिय अनुभव पनि हाम्रो खेलाडीले राम्रो पाइरहेका छन्। अनुभव पाएर नै वरीयतामा राम्रो सुधार गरेका हुन्,’ श्रेष्ठले थपे।
संघले आउने दिनमा अन्य प्रतिभावान खेलाडीलाई अन्तर्राष्ट्रिय एक्सपोजर दिलाउने हो भने वरीयताको माथिल्लो स्थानमा पुग्ने खेलाडीको संख्या बढ्ने सम्भावना देखिन्छ।
Shares
प्रतिक्रिया