सहिद स्मारक ए डिभिजन लिगको उपाधि छिनोफानो भइसकेको छ। मछिन्द्र फुटबल क्लबले अन्तिम २ खेलअघि नै लिगको उपाधि रक्षा गरेको छ।
अब फुटबलप्रेमीको ध्यान भने यसपटक रेलिगेसनमा पर्ने टोलीतर्फ हुनेछ। शनिबार सुरु हुने लिगको १२ औं चरणको पहिलो खेल केन्द्रविन्दुमा हुनेछ। फ्रेन्ड्स क्लब र च्यासलबीच हुने त्यो खेलले रेलिगेसनमा पर्ने दुई समीकरण केही प्रष्ट हुन सक्छ।
लिगमा यसपटक २ टोली घटुवामा पर्नेछन्। ११ औं चरणको समाप्तिसम्म पनि रेलिगेसनको टुंगो लागेको छैन। रेलिगेसनको टुंगो लाग्न लिगको १३ औं तथा अन्तिम चरणसम्म पनि कुर्नुपर्ने हुन सक्छ।
१४ टोलीमध्ये अन्तिम ५ टोली रेलिगेसनबाट उम्कने प्रयासमा खेल्नेछन्। अंकतालिकाको १० औं स्थानमा रहेको नेपाल पुलिस क्लब देखि ११ औं जावलाखेल युथ क्लब, १२ औं फ्रेन्ड्स, १३ औं को ब्रिगेड ब्वाइज क्लब (बीबीसी) र अन्तिममा च्यासलमध्ये २ टोली रेलिगेसनमा पर्नेछन्। नवौं स्थानमा रहेको हिमालयन शेर्पासहित त्यसमाथिका टोलीले आफ्नो ए डिभिजन हैसियत जोगाइसकेका छन्। पुलिसको ११, जावलाखेलको १०, फ्रेन्ड्स र बीबीसीको समान ७ अंक र पुछारको च्यासलको ६ अंक छ।
‘हाम्रो लागि भोलिको खेल एकदमै महत्वपूर्ण छ। भोलिको खेल जित्यौं भने रेलिगेसनबाट जोगिने सम्भावना ८० प्रतिशत हुनेछ। हारले भने हामी रेलिगेसनमा पर्ने सम्भावना बढी हुन्छ,’ फ्रेन्ड्सका प्रशिक्षक मृगेन्द्र मिश्रले भने,‘च्यासलमाथि पनि हामीलाई जस्तै दबाब छ। उनीहरुले पनि हामीसँग हार्दा रेलिगेसनबाट जोगिन मुस्किल हुन्छ।’ पछिल्ला दुई खेलमा ४ अंक जोडेपछि फ्रेन्ड्सको रेलिगेसन जोगिने सम्भावना बढेको थियो। बीबीसीलाई हराएको फ्रेन्ड्सले जावलाखेललाई बराबरीमा रोकेको थियो। च्यासलसँगको नतिजापछि मात्र अन्तिम खेलका बारेमा सोच्नु ठिक हुने मिश्रले बताए।
तीनपटकको उपाधि विजेता पुलिसका लागि पनि यसपटकको लिग यात्रा कठिन रह्यो। ११ अंकसहित १० औं स्थानमा रहेको पुलिसले अर्को खेलमा एपीएफ फुटबल क्लबको सामना गर्दै छ। एपीएफ पछिल्लो समय पूरै लयमा देखिएको छ। त्यसैलाई बुझेर पुलिसका प्रशिक्षक अनन्तराज थापाले ११ खेलपछि भनेका थिए, हामी माथि पनि रेलिगेसन दबाब छ। एपीएफपछि पुलिसले अर्को बलियो टोली न्यूरोड टिम (एनआरटी)को सामना गर्नुपर्नेछ।
रेलिगेसन दबाबमा रहेको अर्को टोली बीबीसीले अन्तिम दुई खेलमा ललितपुरकै टोलीको सामना गर्नेछ। बीबीसीले १२ औंमा सातदोबाटो युथ क्लब र अन्तिम खेलमा थ्री स्टारको सामना गर्नेछ। सातदोबाटोसँगको खेल गुमाएको अवस्थामा बीबीसीको रेलिगेसन दबाब झन बढ्नेछ। अन्तिम ५ स्थानमा रहेका टोलीले निकाल्ने नतिजाले एकअर्काको समिकरणमा प्रभाव पार्नेछ।
रेलिगेसनमा पर्ने टोलीविरुद्धको खेललाई हिमालयन शेर्पा क्लबका प्रशिक्षक युगलकिशोर राईले भने प्रतिष्ठासँग जोडेर हेरेका छन्।‘हामीले अन्तिम दुई खेल जावलाखेल र फ्रेन्ड्ससँग खेल्नुपर्नेछ। त्यो हाम्रा लागि प्रतिष्ठाको खेल हुनेछ,’ प्रि म्याच कन्फ्रेन्समा शुक्रबार राईले भने,‘हामी जित्ने लक्ष्यसाथ खेल्नेछौं। आफ्नो स्वभाविक प्रदर्शन गर्न नसके अनेक खाले १० वटा प्रश्न हामीमाथि तेर्सिन्छन्। हामी त्यसमा सचेत छौं।’ जावलाखेलले अन्तिम खेल संकटाविरुद्ध खेल्नेछ।
अन्तिम दुई चरण रेलिगेसनमा पर्ने र त्यसबाट जोगिने टोलीको समीकरणकै चर्चा बढी हुनेछ। गत मंगलबार रेलिगेसनबाट उम्कने प्रतिस्पर्धामा ब्याटलमा रहेका ४ टोलीले अलग अलग दुई खेल बराबरीमा टुंगिदा अंक तालिकामा फेरबदल भएन। एकै समय भएको खेलमा जावलाखेल र फ्रेन्ड्सले ३–३ को बराबरी खेल्दा दशरथ रंगशालामा बीबीसी र च्यासलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए। फ्रेन्ड्स, बीबीसी र च्यासलले जारी लिगमा अहिलेसम्म समान १ जित निकालेका छन्।
च्यासल युथ क्लब
११ चरणको समाप्तिसम्म रेलिगेसनको सबैभन्दा चर्को दबाब च्यासलमाथि छ। शनिबार फ्रेन्ड्ससँगको खेल गुमाए च्यासल लगभग रेलिगेसनमा जानेछ। टोलीले अन्तिम खेल सातदोबाटोसँग खेल्नेछ। ११ खेलसम्म मात्र ४ गोल गरेको च्यासलले १९ गोल खाइसकेको छ। सुरुको ३ खेलमा ४ अंक जोडेको च्यासलले त्यसपछिका ८ खेलमा मात्र २ अंक जोडेबाट टोलीको प्रदर्शन कति कमजोर रह्यो प्रष्ट हुन्छ। जापानबाट फर्केका सन्तोष साहुखल उत्रेको खेलमा टोलीले संकटासँग बराबरी खलेको थियो। तर, त्यो प्रदर्शनले निरन्तरता पाउन सकेन। सन्तोषको आगमनले पनि टोलीको खराब प्रदर्शन रोकिएन। विदेशी कोटामा च्यासलबाट लिग खेलेका विकास मेराग्लीयाको प्रदर्शन बिर्सन लायक रह्यो।
लिगमा च्यासलको नतिजा
च्यासलविरुद्ध थ्रीस्टार ०–३
च्यासलविरुद्ध नेपाल एपीएफ फुटबल क्लब १–०
च्यासलविरुद्ध न्युरोड टिम १–१
च्यासलविरुद्ध त्रिभुवन आर्मी फुटबल क्लब ०–२
च्यासलविरुद्ध जावलाखेल युथ क्लब ०–१
च्यासलविरुद्ध हिमालयन शेर्पा क्लब १–३
च्यासलविरुद्ध संकटा क्लब ०–०
च्यासलविरुद्ध मनाङ मर्स्याङ्दी क्लब ०–५
च्यासलविरुद्ध नेपाल पुलिस क्लब १–२
च्यासलविरुद्ध मछिन्द्र फुटबल क्लब ०–२
च्यासलविरुद्ध ब्रिगेड ब्वाइज क्लब ०–०
खेल्न बाँकी
फ्रेन्ड्स
सातदोबाटो
ब्रिगेड ब्वाइज क्लब
एपीएफ क्लबलाई हराउँदै दमदार सुरुवात गरेको बीबीसीले त्यसपछि भने एकरुपताको प्रदर्शन गर्न सकेन। जसका कारण टोलीमाथि रेलिगेसन दबाब बढेको छ। सातदोबाटो र थ्री स्टारविरुद्ध हुने अन्तिम खेल गुमाएको अवस्थामा टोलीका ए डिभिजन हैसियत जोगिनेछैन। फेन्ड्ससँगको खेल ५–२ ले गुमाएसँगै बीबीसीको रेलिगेसन पर्ने खतरा चुलिएको थियो। १ जित, ४ मा बराबरी गरेको बीबीसीले ६ खेल गुमाइसकेको छ। ११ खेलमा ७ गोल मात्र गरेको टोलीले २० गोल खाएको छ।
लिगमा बीबीसीको नतिजा
बीबीसीविरुद्ध एपीएफ क्लब ३–२
बीबीसीविरुद्ध न्युरोड टिम ०–०
बीबीसीविरुद्ध त्रिभुवन आर्मी फुटबल क्लब ०–१
बीबीसीविरुद्ध जावलाखेल युथ क्लब ०–०
बीबीसीविरुद्ध हिमालयन शेर्पा क्लब १–३
बीबीसीविरुद्ध संकटा क्लब ०–३
बीबीसीविरुद्ध मनाङ मर्स्याङ्दी क्लब ०–१
बीबीसीविरुद्ध नेपाल पुलिस क्लब १–१
बीबीसीविरुद्ध मछिन्द्र फुटबल क्लब ०–४
बीबीसीविरुद्ध फ्रेन्ड्स क्लब २–५
बीबीसीविरुद्ध च्यासल ०–०
खेल्न बाँकी
सातदोबाटो
थ्री स्टार
फ्रेन्ड्स क्लब
बीबीसीलाई हराएपछि मात्र फ्रेन्ड्सको रेलिगेसन टर्ने सम्भावना बढेको हो। पछिल्ला दुई खेलमा बीबीसी माथि जित र जावलाखेलसँगको बराबरी फ्रेन्ड्सको सम्झनलायक प्रदर्शनमा पर्दछन्। जावलाखेलसँग पहिलो हाफमा ३–० ले पछि परेर पनि ३–३ को बराबरी गर्न फ्रेन्ड्स सफल भएको थियो। १ मा जित ४ मा बराबर र ६ खेलमा हार बेहोरेको फ्रेन्ड्सले शनिबार च्यासललाई हराउन सकेको खण्डमा रेलिगेसनबाट उम्कने सम्भावना बलियो हुनेछ। ११ खेलमा टोलीले १४ गोल गर्दै २० गोलको सामना गरेको छ ।
लिगमा फ्रेन्ड्सको नतिजा
फ्रेन्ड्सविरुद्ध सातदोबाटो युथ क्लब ०–०
फ्रेन्ड्सविरुद्ध संकटा क्लब १–२
फ्रेन्ड्सविरुद्ध थ्रीस्टार क्लब १–१
फ्रेन्ड्सविरुद्ध मनाङ मर्स्याङ्दी क्लब ०–२
फ्रेन्ड्सविरुद्ध नेपाल एपीएफ फुटबल क्लब १–३
फ्रेन्ड्सविरुद्ध नेपाल पुलिस क्लब ०–०
फ्रेन्ड्सविरुद्ध न्युरोड टिम २–३
फ्रेन्ड्सविरुद्ध मछिन्द्र फुटबल क्लब ०–१
फ्रेन्ड्सविरुद्ध त्रिभुवन आर्मी फुटबल क्लब १–३
फ्रेन्ड्सविरुद्ध ब्रिगेड ब्वाइज क्लब ५–२
फ्रेन्ड्सविरुद्ध जावलाखेल युथ क्लब ३–३
खेल्न बाँकी
च्यासल
हिमालयन शेर्पा
जावलाखेल युथ क्लब
सुरुमा लगातार ३ खेलमा हार बेहोरेपछि जावलाखेलमाथि चर्को दबाब परेको थियो। चौथो खेलमा अंकको खाता खोलेको टोलीले बिस्तारै सुधारिएको प्रदर्शन गर्दै रेलिगेसन क्षेत्रबाट माथि उठेको थियो। यद्यपि टोलीमा माथि रेलिगेसन खतरा भने छदैछ । त्रिभुवन आर्मी फुटबल क्लबविरुद्धको अग्रता जोगाउन नसक्दा जावलाखेलमाथि दबाब थपिएको छ। इन्जुरी समयमा बराबरी गोल फर्काउँदै आर्मीले जावलाखेलाई अंक बाँड्न बाध्य पारेको थियो। त्यसपछि फ्रेन्ड्ससँगको खेलमा पनि ३–० को अग्रता जोगाउन नसक्दा ३–३ को बराबरी खेल्नुपरेको थियो। २ खेल जितेको जवालखेलले ४ मा बराबरी र ५ मा हार बेहोरेको छ। पुछारमा रहेका टोलीले जित निकालेको अवस्थामा जावलाखेलमाथि दबाब पर्नेछ। जावलाखेलले ८ गोल गर्दै १२ गोलको सामना गरेको छ ।
लिगमा जावलाखेलको नतिजा
जावलाखेलविरुद्ध मनाङ (०–१)
जावलाखेलविरुद्ध पुलिस (०–१)
जावलाखेलविरुद्ध मछिन्द्र (०–२)
जावलाखेलविरुद्ध बीसीसी (०–०)
च्यासलविरुद्ध जावलाखेल (०–१)
सातदोबाटोविरुद्ध जावलाखेल (०–२)
थ्री स्टारविरुद्ध जावलाखेल (२–१)
एपीएफविरुद्ध जावलाखेल (०–०)
एनआरटीविरुद्ध जावलाखेल (२–०)
आर्मीविरुद्ध जावलाखेल (१–१)
जावलाखेलविरुद्ध फ्रेन्ड्स (३–३)
खेल्न बाँकी
हिमालयन शेर्पा
संकटा
नेपाल पुलिस क्लब
ए डिभिजन लिगमा नेपाल पुलिस क्लब सफल क्लब हो। लिगको उपाधिमाथि ह्याट्रिक गरिससकेको पुलिस क्लबको यो संस्करणको प्रर्दशन खासै सम्झन लायक छैन।
त्रिभुवन आर्मी फुटबल क्लबसँग एक एक को बराबरी गर्दै लिगको सुरुवात गरेको पुलिस क्लबले दोस्रो चरणमा जावलाखेल युथ क्लबलाई हराउादै जितको सुरुवात गरेको थियो। यद्यपी तेस्रो चरणमा जावलाखेल युथ क्लबसँग अंक बाँडेको पुलिस क्लब संकटा क्लबसँग पराजित भएको थियो। मनाङसँगको खेल गुमाएको पुलिस क्लबले लिगमा फ्रेन्ड्स र बीबीसी क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेपछि रेलिगेसन दबाबमा परेको थियो।
लिगमा दुई खेलमा मात्र जित निकालेको पुलिस क्लबले ५ खेलमा बराबरी गर्दा ४ खेलमा हार भोगेको छ। लिगका ११ खेलमा ८ गोल गरेको पुलिस क्लबले ११ गोल खाएको छ।
लिगमा पुलिस क्लबको प्रर्दशन
त्रिभुवन आर्मी फुटबल क्लब विरुद्ध पुलिस क्लब १–१
जावलाखेल विरुद्ध पुलिस क्लब ०–१
हिमालयन शेर्पा क्लबविरुद्ध पुलिस क्लब १–१
संकटा क्लबविरुद्ध पुलिस क्लब १–०
मनाङ मर्स्याङ्दी क्लबविरुद्ध पुलिस क्लब ३–१
पुलिस क्लबविरुद्ध फ्रेन्ड्स क्लब ०–०
पुलिस क्लबविरुद्ध मछिन्द्र क्लब ०–१
पुलिस क्लबविरुद्ध बीबीसी १–१
पुलिस क्लबविरुद्ध च्यासल युथ क्लब २–१
पुलिस क्लबविरुद्ध सातदोबाटो युथ क्लब ०–१
पुलिस क्लबविरुद्ध थ्रीस्टार क्लब १–१
खेल्न बाँकी
न्युरोड टिम एनआरटी
नेपाल एपीएफ फुटबल क्लब
Shares
प्रतिक्रिया