खेलको अन्तिम समयमा सातदोबाटो युथ क्लबका फरवर्ड निरज चौधरीले गोल गरेपछि ब्रिगेड ब्वाइज क्लब (बीबीसी) एक खेलअगावै रेलिगेसनमा परेको छ।
२०६१ सालबाट ए डिभिजन लिग खेल्न थालेको हो बीबीसी तेस्रो पटक रेलिगेसनमा परेको हो। २०६३ र ६८ मा रेलिगेसनमा परेको बिबिसी पुनः ए डिभिजनमा फर्किएको थियो। सुरुवातको लिगमा १२ खेल खेलेको ब्रिगेडले २०६२ मा २८ खेल खेलेको थियो।
यो पटक बीबीसीले एक खेल खेल्न बाँकी रहँदा लिगमा ८ अंक मात्र जोड्न सकेको छ। लिगमा ९ खेल बाँकी रहँदा उपाधि र रेलिगेसनको समिकरण पूरा भएको छ। बीबीसीको हारसँगै फ्रेण्ड्स क्लब र नेपाल पुलिस क्लबको रेलिगेसन दबाब पनि समाप्त भएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा सोमबार भएको १२ औँ चरणको खेलमा सातदोबाटोसँग ३–२ ले पराजित हुँदै बीबीसी रेलिगेसनमा परेको हो।
पहिलो हाफमा २–१ ले पछि परेको बीबीसीले दोस्रो हाफमा गोल गर्दै खेललाई २–२ को बराबरी गरेको थियो।
खेलको १३औँ मिनेटमा सुशील राईले गोल गर्दै सातदोबाटोलाई सुरुवाती अग्रता दिलाएका थिए। कप्तान मानबहादुर तामाङको क्रसमा सुशीलले बललाई पोष्टको जाली चुमाएका थिए।
१६औँ मिनेटमा बीबीसीले गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्यायो। बीबीसीका बर्टान्ड इवोडेले गोल गर्दै बीबीसीलाइ बराबरीमा ल्याएका थिए।
त्यसको २ मिनेटमा नै सातदोबाटोले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए।
१८औँ मिनेटमा दिपकरान सिंह ठकुरीले गोल गर्दै किपरअगाडि बढेको अवस्थामा खाली पोष्टमा गोल गरेका थिए।
पहिलो हाफमा २–१ ले पछि परेको बीबीसीले ५१ औँ मिनेटमा गोल फर्काउँदै दुई–दुईको बराबरीमा ल्यायो। बीबीसीका रोशन रानामगरले गोल गर्दै बीबीसीलाई खेलमा फर्काएका थिए।
तस्बिरहरु : विजय सिंह
Shares
प्रतिक्रिया