ब्रिगेड ब्वाइज क्लब (बीबीसी) घरेलु फुटबलको ए डिभिजन लिगबाट तेस्रो पटक रेलिगेसनमा परेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार १२ औँ चरणको पाँचौँ खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबसँग ३–२ ले पराजित हुँदै बीबीसी ए डिभिजनबाट बिदा भएको हो। एक समय २–२ को बराबरी रहेको खेलको अन्त्यतिर गोल गर्दै सातदोबाटोले जित निकालेको थियो।
डी डिभिजनबाट घरेलु फुटबलको यात्रा सुरु गरेको बीबीसीले सी, बीबाट बढुवा हुँदै २०६१ बाट पहिलो पटक ए डिभिजन लिग खेलेको थियो। शीर्ष लिगमा पुगेर पनि तेस्रो पटक रेलिगसेनमा परेको बीबीसीले ७ संस्करणमा सोमबारको खेल समेत गरेर १ सय २१ खेलको कोशेढुंगा पार गर्दै बी डिभिजनमा घटुवा भएको हो।
डेढ दशकअघि बीबीसीले ए डिभिजन लिगको यात्रा सुरु गर्दाका युवा खेलाडी कप्तान अनिल गुरुङ गत संस्करण टोलीमा फर्किएका थिए। २०६१, ०७६ र ०७८ सालमा अनिलले बीबीसीबाट खेले। तर यसपटक उनले टोलीलाई रेलिगेसनबाट टोलीलाई जोगाउन सकेनन्।
रेलिगेसनपछि बीबीसीका मुख्य प्रशिक्षक सनोज श्रेष्ठले भने, ‘रेलिगेसन जोनको खेल थियो, हामी जित्ने लक्ष्यमा नै आएका थियौँ। एक गोलले पछि पर्दा पनि राम्रो पुनरागमन गरेका थियौँ। तर त्यसलाई जोगाउन सकेनौँ।’
जारी लिगमा बीबीसीले अग्रता बनाएको खेलमा त्यसलाई जोगाउन नसक्दा हार व्यहोदै आएको छ। प्रशिक्षक श्रेष्ठ थप्छन्, ‘लिगमा अहिले यस्तै देखिएको छ। पहिला पनि बनाएको अग्रता जोगाउन सकेनौँ।’
पहिलो खेलमा एपीएफलाई ३–२ ले हराएको बीबीसीले त्यसपछि कुनै पनि खेल जित्न सकेन। ४ खेलमा बराबरी गरेको टोलीले ७ खेलमा हार बेहोरेको थियो। १२ खेलको समाप्तिमा टोलीको खातामा ७ अंक मात्र रह्यो। अर्को ललितपुरको टोली यसअघि नै रेलिगेसनमा परिसकेको छ।
लिगका दौरान टोलीमा केही समस्या नभएको पनि श्रेष्ठले प्रष्ट पारे। उनले थपे, ‘टोली आर्थिक रुपमा केही कमजोर थियो। त्यसैले बी डिभिजन खेलेका युवा खेलाडीलाई नै राखौँ भनेर सिनियर खेलाडीको रुपमा अनिल गुरुङलाई मात्र राख्यौँ।’
बीबीसी रेलिगेसनमा पर्नुको अर्को कारण टोलीमा एकरुपताको कमी पनि हो।
‘प्रर्दशनलाई सधैँ एकनासको राख्न सकेनौँ। त्यसमा ब्रेक हुँदा रेलिगेसनमा पर्यौँ,’ मुख्य प्रशिक्षक श्रेष्ठले बताए।
बीबीसी बी डिभिजनमा घटुवा भएपछि सातदोबाटोका मुख्य प्रशिक्षक मेघराज केसी केही भावुक देखिए।
‘म आफैँ खेलाडी हुँदा बीबीसी ए डिभिजन लिगमा बढुवा भएको थियो। अहिले मेलै हेरेको टोलीसँग हारेर बी डिभिजनमा घटुवा भएको छ। निकै दुःख लागेको छ,’ केसीले भने।
सुरुवातमा बी डिभिजन लिग खेल्ने बेलामा आफू सबैभन्दा मंहगो खेलाडीको रुपमा बीबीसीमा आबद्ध भएको समेत उनले स्मरण गरे।
उनले भने, ‘लिगमा रेलिगेसन त स्वाभाविक हो। तर मैरै पूर्वक्लब अहिले मैले हेरिरहेको क्लबसँग पराजित भएर रेलिगेसनमा पर्दा भने दुःख लाग्ने रहेछ।’
जारी लिगमा बीबीसीको प्रर्दशन
बीबीसीविरुद्ध नेपाल एपीएफ फुटबल क्लब ३–२
बीबीसीविरुद्ध न्युरोड टिम एनआरटी ०–०
बीबीसीविरुद्ध त्रिभुवन आर्मी फुटबल क्लब ०–१
जावलाखेलविरुद्ध बीबीसी ०–०
हिमालयन शेर्पाविरुद्ध बीबीसी ३–१
संकटाविरुद्ध बीबीसी ३–०
मनाङमस्र्याङदी क्लबविरुद्ध बीबीसी १–०
नेपाल पुलिस क्लबविरुद्ध बीबीसी १–०
बीबीसीविरुद्ध मछिन्द्र फुटबल क्लब ०–४
फ्रेन्ड्स क्लबविरुद्ध बीबीसी ५–२
बीबीसीविरुद्ध च्यासल ०–०
बीबीसीविरुद्ध सातदोबाटो २–३
खेल्न बाँकीः थ्रीस्टार क्लब
बीबीसीको ए डिभिजन लिग यात्रा
२०११ सालबाट सुरु भएको ए डिभिजन लिगमा थुप्रै क्लबको नाम जोडिन्छ। अहिले कति अस्तित्वमा छन्। कति छैनन्। अहिले ३ विभागीय सहित १४ टोली लिगमा प्रतिस्पर्धा गरिरहेका छन्। त्यसमध्ये बीबीसी एक हो। बीबीसीले पहिलो पटक २०६१ सालबाट ए डिभिजन लिग खेल्न थालेको हो।
२०६३ र ६८ मा रेलिगेसनमा परेको बीबीसी पुनः ए डिभिजनमा फर्किएको थियो। सुरुवातको लिगमा १२ खेल खेलेको सो क्लबले २०६२ मा २८ खेल खेलेको थियो। त्यस्तै २०६३ मा २६, २०६८ मा १७, बिना रेलिगसेनको लिग २०७५ मा १३, अघिल्लो संस्करणमा १३ र यसपटक अहिले सम्म १२ खेल खेलेको छ। ए डिभिजन टोलीको हैसियतमा टोलीले थ्री स्टार क्लबसँग अन्तिम खेल खेल्नेछ। लिगमा समग्र १ सय २१ खेलमा बीबीसीले २१ खेलमा जित हासिल गरेको थियो। २६ खेलमा बराबरी खेलेको क्बले ७४ मा हार बेहोरेको थियो।
लिगमा ब्रिगेडको यात्रा
मिति– खेल संख्या अंक स्थान/सहभागी क्लब
२०६१– १२ खेल ९ ९ (१३ क्लब)
२०६२– २८ खेल ९ ९ (१५ क्लब)
२०६३– २६ खेल १० १४ (१४ क्लब) रेलिगेसन
२०६८– १७ खेल ९ १६ (१८ क्लब) रेलिगेसन
२०७५– १३ खेल १० १२ (१४ क्लब)
२०७६– १३ खेल ९ १३ (१४ क्लब)
२०७८– १२ खेल ७ १३ (१४ क्लब) (एक खेलअगावै रेलिगेसनमा)
Shares
प्रतिक्रिया