नेपालमा समूहगत लोकप्रिय खेलमा फुटबल, भलिबल, क्रिकेट अगाडि आउँछन्। ती खेललाई विभागीय टोली (त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र एपीएफ) ले महत्वका साथ लिने गरेका छन्।
यी समूहगत खेलमा भलिबल र क्रिकेटमा तीनै विभागीय टोलीको दबदबा रहने गरेको छ। तीन विभागीय टोलीमा पनि एपीएफ महिला फुटबल, भलिबल र क्रिकेटमा बलियो मानिन्छ। अझ महिला क्रिकेटमा एपीएफलाई चुनौती दिने टोली कमै छन्।
महिला क्रिकेटमा एपीएफ क्लबलाई हराउन प्रदेशका टोलीलाई कठिन छ। विभागमा महिला क्रिकेट टोली एपीएफको मात्रै छ। अन्य दुई विभागीय टोली आर्मी र पुलिसको टोली अझै तयार भइसकेको छैन।
एपीएफ काठमाडौमा सोमबार सम्पन्न ललितपुर मेयर महिला च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगितामा विजेता बन्यो। प्रतियोगितामा एपीएफ लगातार दोस्रोपटक उपाधि जित्न सफल भएको हो। सुदुरपश्चिम प्रदेशलाई ८ विकेटले हराउँदै एपीएफले उपाधि रक्षा गरेको हो।
लगातार उपाधि जिते पनि एपीएफकी कप्तान सीता रानामगरले सुदूरपश्चिम आफ्नो टोलीभन्दा बलियो रहेको मान्छिन्। सुदूरपश्चिम टोलीका खेलाडी मानसिकरुपमा बलियो नभएका कारण आफूहरुलाई जित्न सजिलो भएको सीताको बुझाइ छ।
उनै सीतासँग रानामगरसँग फाइनलपछि गरेको कुराकानी–
समग्रमा प्रतियोगिता कस्तो रह्यो ?
प्रतियोगितामा राम्रो रह्यो। टोलीमा सबैले आफूले पाएको जिम्मेवारीमा आफूलाई सही साबित गरे।
पछिल्लो सिजनमा आफू पछि हटेर प्रधानमन्त्री कपमा अरुलाई अवसर दिए भन्नुभएको थियो? यो प्रतियोगितामा एपीएफका जुनियर खेलाडीका लागि कस्तो रह्यो?
धेरै खेलाडीले आफ्नो प्रतिभा पीएम कपमा देखाइसकेका छन्।
म पछि हटेँ, त्यो बेलामा मैले किन खेलिनँ भनेर कुरा पनि आएको थियो। खेलाडीको कुरा पनि हुन्छ भोलिको दिनमा मलाई पनि छनोट हुन गाह्रो हुन्छ, यो पटक म आफैं अघि आउनुको कारण पनि मेरो आगामी प्रतियोगितामा सहज होस् भनेर हो। सकेसम्म जुनियर ब्याटरले मौका पाएका नै हुन्।
व्यक्तिगत रुपमा तपाईंको लागि यो प्रतियोगिता कति सहयोगी बन्यो ?
क्षेत्रीय टोली भए पनि बल फाल्ने र ब्याटिङ गर्ने एउटै हो। त्यसैले पनि यो प्रतियोगिताले सहयोग गर्यो। मैले व्यक्तिगत रुपमा पनि बाहिर प्रशिक्षण गरिरहेको छु।
जुनियर खेलाडीमा प्रतिभा कत्तिको देख्नुभयो?
अहिले एपीएफबाहेक अन्य टोलीमा भएका नयाँ खेलाडीले राम्रो गरेका छन्। नयाँ प्रतिभा फस्टाएका छन्। सुदूरपश्चिम र पूर्वाञ्चलको लेग स्पिनर र सम्झना खड्कालगायत राम्रा ब्याटर देखिएका छन्। जुनियर खेलाडी राम्रो आउन थालेका छन्।
मेयर च्याम्पियनसिपमा एपीएफले लगातार दोस्रो पटक उपाधि उचाल्यो के एपीएफलाई हराउने टोली नआएकै हुन् त ?
हैन, मलाई त्यस्तो लाग्दैन। क्षमताको मात्र कुरा गर्ने हो भने हामीभन्दा सुदूरपश्चिम बलियो टोली हो जस्तो लाग्छ। हामीमा छक्का हान्ने क्षमता कम छ तर उनीहरुको टोलीमा दुई तीनजना खेलाडीमा त्यो क्षमता छ। मानसिकरुपमा तयार नभएको मात्र हो।
प्रदेशका टोलीहरुमा के पाउनुभयो?
प्रदेश १ शीर्षक्रमका ३ ब्याटरमा मात्र भर पर्यो। सुदूरपश्चिमका ट्यालेन्ट छ। तर मानसिक रुपमा तयार नभएको मात्र हो। ऋतु बाहेक अन्य सबै खेलाडी जुनियर छन् त्यसैले मेन्टल्ली प्रेसर पर्यो होला।
नयाँ खेलाडी हुँदा राष्ट्रिय टोलीको प्रतिस्पर्धा कस्तो होला?
प्रतिस्पर्धा नै बढ्छ जस्तो लाग्छ मलाई। हामी सिनियरहरु ब्याटिङको माध्यमबाट हौँ। नयाँ खेलाडी बलिङमा राम्रा छन्। बलिङमा धेरै प्रतिस्पर्धा हुने देख्छु।
अन्य विभागीय टोलीले टोली बनाउन कति आवश्यक देख्नुहुन्छ ?
एकदमै देखिन्छ। विभागीय टोलीले क्रिकेट टिम बनाउँदा हामीमा पनि प्रतिस्पर्धा बढ्थ्यो। अन्य नयाँ खेलाडीले पनि मौका पाउँथे। कति खेलाडीले पैसा नभइकन खेलिरहेका छन्। आर्मी र पुलिसले टोली बनाउँदा उनीहरुले पनि मौका पाउँथे जस्तो लाग्छ।
२००७ देखि म लगातार हुनुमा पनि एपीएफ हो जस्तो लाग्छ। विभागीय टोली नभएको भए म पनि हुँदैन थिएँ होला।
लामो फर्म्याटको प्रतियोगिताको आवश्यकता छ कि छैन ?
लामो फर्म्याटको प्रतियोगिताको एकदमै जरुरी देखिएको छ। अहिले २० ओभरमा कति खेलाडी खेल्न पाएको छैनन्। ५० ओभरको हुँदा सबै खेलाडीले मौका पाउँथे। प्रतिभालाई निखार्दै लैजाने हो भने पनि ५० ओभरको खेल अति आवश्यक छ।
Shares
प्रतिक्रिया