यसपटकको सहिद स्मारक ए डिभिजन लिगमा १४ मध्ये ६ क्लब ललितपुर जिल्लाका थिए। त्यसमा रेलिगेसनमा पर्ने २ टोली पनि ललितपुरकै रहे। च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लबले ए डिभिजन हैसियत जोगाउन सकेनन्।
यो पालीको लिगमा सनसनीपूर्ण प्रदर्शन गर्नेमा पनि ललिपुरकै टोली सातदोबाटो युथ क्लब रह्यो। लिग सुरुवातअघि सातदोबाटोलाई धेरैले गम्भीरतापूर्वक लिए जस्तो देखिन्थ्यो।
स्टार खेलाडीको साथ पनि सातदोबाटोलाई थिएन। औसत टोली तयार पारेर पनि सातदोबाटो ललिपुरका टोलीमध्ये अब्बल सावित हुन सफल भयो।
भविष्यमा सातदोबाटोको यात्रा कस्तो रहला अनुमान मात्र गर्न सकिन्छ। तर, नवप्रवेशीका रुपमा लिगको सुरुवात गरेको सातदोबाटोले यसपटक फुटबलमा चासो राख्नेको ध्यान खिचेको छ। डेब्यु सिजनमै टोलीले चम्किलो छाप छाडेको छ।
घरेलु फुटबलका स्थापित क्लबलाई पछि पार्दै अंक तालिकाको पाँचौं स्थानमा रहेर सातदोबाटोले लिगको अन्त्य गरेको थियो। लिगमा फेयर प्ले टोली बनेको सातदोबाटोले २ लाख रुपैयाँसमेत पायो। त्यति कारणले मात्र होइन, लिगमा जसरी सातदोबाटोले यात्रालाई अघि बढायो त्यो पनि लोभलाग्दो थियो।
सातदोबाटोले लिगका तीन पूर्व विजेतालाई हरायो। सामान्य क्लबका रुपमा लिगको सुरुवात गरेको सातदोबाटोले स्थापित क्लबलाई हराउँदै लिगको अन्त्य हुँदा जायन्ट किलरका रुपमा आफूलाई स्थापित गर्यो।
ललितपुरकै अर्को टोली फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरी खेल्दै लिगको सुरुवात गरेको सातदोबाटोले अर्को खेलमा आफ्नै जिल्लाको अर्को स्थापित टोली पूर्व विजेता थ्री स्टार क्लबलाई १–० स्तब्ध पारेको थियो। थ्री स्टारमाथिको जितले सातदोबाटोले अन्य क्लबलाई झस्काएको थियो।
तेस्रो खेलमा पुग्दा सातदोबाटोले विभागीय टोली नेपाल एपीएफ फुटबल क्लबलाई ४–१ ले हराउँदै स्थापित टोलीमाथि दबाब बढाएको थियो। चौथो खेलमा एनआरटीसँग १–० ले पराजित भएको सातदोबाटोले अर्को खेलमा त्रिभुवन आर्मी फुटबल क्लबसँग १–१ को बराबरी खेल्दै बलिया भनेका क्लबमाथि मानसिक दबाब बढायो।
त्यसपछि अर्को ललितपुरको टोली जावलाखेल युथ क्लबसँग २–० र हिमालयन शेर्पा क्लबसँग १–० को हारपछि टोलीको सफल यात्रामा केही धक्का लागेको थियो। त्यसपछिको खेलमा टोलीले संकटा क्लबसँग १–१ को बराबरी खेल्यो।
त्यसपछिका दुई खेलमा टोलीले ठूला क्लबलाई पाखा लगाएको थियो। मनाङ मर्स्याङ्दी क्लबलाई २–१ र नेपाल पुलिस क्लबलाई १–० ले हराइसकेपछि सातदोबाटोलाई गम्भीरतापूर्वक लिन सबै बाध्य भए।
लिग च्याम्पियन मछिन्द्रसँग १–० पराजित सातदोबाटोले अन्तिम दुई खेलमा रेलिगेसनमा परेका बिबिसीलाई ३–२ र च्यासललाई १–० ले हरायो। जावलाखेलबाहेक सातदोबाटोले ललितपुरका अन्य कुनै टोलीसँग हार्नुपरेन।
सातदोबाटोले लिगको १३ खेलमा ६ जित, ३ बराबरी र ४ हारको सामना गर्यो। पहिलो सिजनमै क्लबले गरेको यो प्रदर्शन लोभलाग्दो हो। सातदोबाटोले आफ्ना लागि आफैले चुनौती खडा गरेको छ। पहिलो वर्षमै सनसनीपूर्ण प्रदर्शन गरेको सातदोबाटोका लागि भविष्यमा आफ्नो प्रदर्शन चुनौती पनि बन्न सक्छ।
यही चुनौती बुझेका सातदोबाटोका अध्यक्ष कपिल रानामगर आउँदा केही सिजन टोलीले रेलिगेसनबाट बच्नकै लागि खेल्नुपर्ने बताउँछन्। उनले भने, ‘यो सिजन उत्साहपूर्वक अन्त्य गरेका छौं। तर, आउने दिन हाम्रा लागि चुनौतीपूर्ण नै हुनेछन्।’
घरेलु फुटबलमा स्थापित प्रशिक्षक मेघराज केसीले सातदोबाटोको कमान सम्हालेका थिए। क्लबले केसीकै सल्लाहमा खेलाडीसँग सम्झौता गरेको थियो। स्थापित क्लबलाई प्रशिक्षण दिइसकेका केसी आफै पनि ए डिभिजनमा चुनौती स्वीकार गर्न चाहन्थे।
त्यसका लागि पहिलोपटक लिग खेल्दै गरेको सातदोबाटो उनका लागि सही गन्तव्य थियो। सातदोबाटोमार्फत केसीले पनि आफूलाई अब्बल प्रशिक्षकका रुपमा स्थापित गर्ने अवसर पाए। व्यवस्थापनले उनीमाथि भरपूर विश्वास गर्यो। त्यसको बदलामा उनले व्यवस्थापनलाई सम्मानजनक मात्र होइन सोचेभन्दा राम्रो नतिजा दिए।
ए डिभिजनको पहिलो सहभागितामै सातदोबाटोले १ करोड ६० लाख भन्दा बढी खर्च गरेको बताएको छ। आर्थिक रुपमा मजबुत बन्न नसके आउने वर्ष थप चुनौतीपूर्ण हुने नेतृत्वले अहिले नै बुझिसकेको छ।
क्लबको नियमित आम्दानीको श्रोत भनेको ४ तले भवनबाट आउने भाडा मात्र हो। त्यसबाहेक प्रायोजन, स्थानीय निकायको सहयोग, एन्फाले दिने तयारी र शुभचिन्तकको सहयोग टोलीका अन्य स्रोत हुन्। आउने दिनका लागि त्यो स्रोत मात्र पर्याप्त नहुन पनि सक्छ।
त्यही आर्थिक स्रोत जुटाउने लक्ष्यका साथ सातदोबाटोले एकेडेमी स्थापनाको योजना बनाएको छ। अध्यक्ष रानाका अनुसार त्यसको लागि केही समयमा नै काम सुरु गर्ने तयारी रहेको बताएका छन्।
स्थापनाको २३ वर्षमा सातदोबाटो ए डिभिजनमा बढुवा भएको थियो। सामाजिक काम गर्ने उद्देश्यका साथ २०५४ सालमा स्थापना भएको सातदोबाटो त्यसपछि विस्तारै फुटबलमा आकर्षित भयो। २०५६ मा छनोटबाट सी डिभिजनमा पुगेको थियो। २०६६ सालमा टोली बी डिभिजनमा बढुवा भएको थियो।
एक दशक बी डिभिजनको अनुभव बटुल्दै टोली २०७७ मा ए डिभिजनमा बढुवा भएको थियो। अध्यक्ष राना पुराना दिन स्मरण गर्दै भन्छन्, ‘त्यो बेलाको सङ्घर्षको कुरै नगरौँ। ए डिभिजनमा पुग्ने एउटा सपना लिएर हिँडेका थियौं। निरन्तर मेहनत गर्यौँ त्यसैको नतिजा नै अहिले यहाँ छौं।’
ए डिभिजन लिगको पहिलो सहभागिता मै सानदार प्रदर्शन गरेपछि अहिले नै टोलीले उपाधिका बारेमा नसोचेको बताएका छन्। ‘सातदोबाटोले अहिले नै ए डिभिजन लिगको उपाधि सोचेको छैन’, उनले भने, ‘केही वर्ष यही प्रदर्शनलाई निरन्तरता दिने योजनाका साथ अघि बढ्छौँ।’
Shares
प्रतिक्रिया