बुबा सुवासचन्द्र नेम्वाङले जमानामा राम्रो फुटबल खेल्ने गरेको सुहाङले सानैदेखि सुन्दै आएका थिए। कलेजमा हुँदा टोलीको कप्तान नै रहेका सुवासले पनि छोरालाई बेलाबेलामा आफ्नो समयको खेलकुदका किस्सा सुनाउने गर्थे।
बुबाले सुनाउने यस्तै प्रसंगहरुबाट सुहाङमा खेलकुदप्रति चासो जाग्न थालेको थियो। र, खेलप्रति उनको खास रुचि भने ग्यालेक्सी पब्लिक स्कुलमा बिजारोपण भयो। जहाँ उनी स्कुलस्तरीय प्रतियोगितामा सहभागी हुन थाले।
फुटबलमा रुचि भएपनि करिअर भने सुहाङले कानुनमै रोजे। कारण, पूर्वसभामुख समेत रहेका बुबा सुवास आफैँ अधिवक्ता थिए। बुबाले घरमा तमाम कानुनका किताब पल्टाएको उनी देख्दै आएका थिए। उनी बुबालाई पछ्याउँदै उनको ल फर्मसम्म पनि पुग्थे।
नेम्वाङ परिवारको आर्थिक अवस्था पहिलेदेखि नै बलियो थियो। नगद धेरै नभएपनि पुर्ख्यौली जग्गाजमिन प्रशस्त थिए। राजनीतिमा लागेर सादगीयुक्त छवि बनाएका सुवासले व्यवसायका कुरा कहिल्यै गरेनन्।
आमा भने केही फाट्टफुट्ट व्यवसायमा संग्लन थिइन्। सुहाङलाई त्यो कुराको अभाव खड्किरहेको थियो। त्यसपछि उनले आफ्नो ल फर्म खोले।
‘जब आफ्नो आर्थिक अवस्था बलियो हुन्छ त्यो बेला मान्छेले कहिल्यै पनि गलत काम गर्दैन,’ छुट्टै ल फर्म खोल्नुको कारणबाहेक सुहाङले भने, ‘आफू टिक्न पनि आर्थिक रुपमा बलियो हुनुपर्छ। यो आर्थिक युद्धको समय हो। आर्थिक रुपमा बलियो भयो भने जोसँग पनि लड्न सकिन्छ। त्यहीकारण बिजनेस गर्नुपर्छ भन्ने लाग्यो।’
अनामनगरमा रहेको सुहाङको ल फर्मले मात्रै उनको व्यवसायी बन्ने धोको पुरा गरेको थिएन। उनी अन्य लगानीका सम्भावना खोजिरहेका थिए। त्यहीबेला चौधरी ग्रुपको स्वामित्वमा रहेको नेपाल स्पोर्टस् इभेन्ट म्यानेजमेन्टले नेपाल सुपर लिग नामक फुटबल प्रतियोगिता घोषणा गर्यो।इंग्लिस क्लब लिभरपुलका ‘डाईहार्ड’ फ्यान सुहाङले त्यसबेलै फुटबलमा बिजनेस देखिसकेका थिए। विश्वका चर्चित क्लबहरुको आम्दानी, विश्वभरको फ्यान फलोइङ, फुटबलले पार्ने प्रभावलगायत विषयमा उनलाई राम्रो जानकारी थियो। सोही बुझेका उनले गतवर्ष सुपर लिगको पहिलो संस्करणमै टिम खरिद गर्न चाहेका थिए। तर उनी आयोजकको सम्पर्कमा पुग्दा ढिलो भइसकेको थियो। ७ सहरका ७ फ्रेन्चाइजीहरुले आ–आफ्नो क्लब लिइसकेका थिए।
भिडियो:
पहिलो वर्ष अवसर छुट्यो। यसवर्ष आयोजकले तीन क्लब थप्ने निर्णय गर्यो। त्यसपछि उनी पुनः जुर्मुराए। सुरुदेखि नै आयोजकको सम्पर्कमा रहे। टोली लिने प्रतिस्पर्धा यस्तो थियो कि तीन फ्रेन्चाइजी क्लब लिन २० कम्पनीबाट लाखौँ रकम दाबी परेको थियो। त्यसमध्ये ५ कम्पनीलाई सर्टलिस्टेड गरियो। सुहाङ बोलकबोलमा इलामको टोली लिन सफल भए।
‘दोस्रो चरणको बोलकबोलमा हामीले टोली पाएका थियौँ। फुटबल टोलीको नाम अधिकार मात्रै पाउँदा पनि व्यक्त गर्नै नसक्ने खुसी लाग्यो। रुन मात्रै बाँकी थियो त्यो,’ सुहाङले भने, ‘हामीले गरेको लगानीले तत्काल प्रतिफल नदेला तर खेलकुदलाई व्यावसायिक ढंगले अगाडि बढाउने हो भने यसको भविष्य उज्ज्वल देख्छु।’
छोराले ‘क्लब किन्दैछु’ भनेपछि सुवासले यसपटक पनि आडभरोसा दिएका थिए। क्लबको नाम ‘स्पोर्टिङ इलाम एफसी दि मेची’ राख्दा र क्लबको लोगोमा रेडपान्डा प्रयोग गर्दा सुहाङले बुबाकै सल्लाह लिए। ल फर्मको सुरुवात र क्लबमार्फत फुटबलमा लगानी गर्नु बुबाको छात्रछायाबाट बाहिर निस्कने प्रयास समेत भएको सुहाङ बताउँछन्।
‘बुबाले मलाई सानैदेखि प्रेरणा दिनुभयो। जहिले पनि सपोर्ट गरिरहनुभएको थियो। घरबाट पनि आज टोली लिनुपर्ने भन्दा उहाँ हर्षित र उत्साही देखिनुहुन्थ्यो,’ सुहाङले भने, ‘सानैदेखि बुबाको छात्रछायामा रहेर काम गरेँ। आफ्नो ल फर्म खोल्नु र फुटबलमा लगानी गर्नुको कारण बुबाको छत्रछायाबाट टाढा रहेर काम गर्छु भन्ने हिसाबले पनि हो।’
नेपाल सुपर लिगका १० टोलीमध्ये अधिकांशसँग व्यवसायिक घराना जोडिएका छन। आईएमई ग्रुप, भाटभटेनी, एमएडब्ल्यू, लक्ष्मी ग्रुपलगायतका व्यावसायिक घरानाका टोली छन्। सुहाङको इलामसँग भने ठूला व्यवसायिक घरानाहरु छैनन्। आफूजस्तै युवा पेसाकर्मीको साथ उनले जुटाएका छन्।
इन्जिनियर पीयुष न्यौपाने, सम्पूर्ण श्रेष्ठ, रौनक गिरी, प्रिमियर स्कुललगायतले उनलाई साथ दिएका छन्। टोलीभित्रको आन्तरिक समन्वयले अघिल्लो हप्ता भएको अक्सनमा राम्रो नतिजा देखाउन सकेको उनी मान्छन्।
‘टिमकै सपोर्ट र आन्तरिक तयारीले गर्दा हामीले अक्सनमा कम रकममै राम्रो टोली लिन सफल भएका छौँ,’ उनी भन्छन्, ‘नेपाली फुटबलकै मास्टरमाइन्ड प्रशिक्षक मेघराज केसीलाई अनुबन्ध गरेका छौँ। भविष्यमा पनि टिमले राम्रो गर्छ भन्ने विश्वास छ।’
सुहाङ आक्रामक रुपमै अगाडि आउने सोचमा छन्। सोहीकारण लोगोमा उभिएको रेडपान्डा स्टान्डबाइ रहेको उनी बताउँछन्।
‘प्रदेश १ बाट कुन क्षेत्रबाट हामी अगाडि बढ्नसक्छौँ भन्ने सोच आएको हो,’ फुटबल टोली खरिदको निर्णयबारे उनी भन्छन्, ‘व्यवसायको सुरु हुँदा लगानीको प्रतिफल के हुन्छ भन्ने चाहिँ हेर्नैपर्छ। त्यसबाहेक राजनीतिक, सामाजिक रुपमा प्रभाव पार्ने क्षेत्र खेलकुद भएकाले हामी यसमा होमिएका हौं।’
फुटबल टोलीसँगै महिला टोली, रेडपान्डाको बर्थिङ सेन्टरहरु बनाउने, समाजिक कामहरुमा सहयोग गर्ने, युवाहरुलाई संग्लन गराउने, रंगाशाला निर्माण अभियानमा जुट्ने, खेलकुदमा क्षेत्रमा अवसरको पहिचान गराउने उनीहरुको योजना छ।
यी सबैका पछाडि सुहाङको भित्री चाहना राजनीतिमा आउने पनि हो। त्यसका लागि आफूले जग बलियो बनाउन लागेको उनी बताउँछन्।
‘राजनीतिमा अवश्य पनि आउने मन छ। मलाई छिर्न एकदमै अप्ठेरो छ। चुनौती छ,’ उनी भन्छन्, ‘अझै पनि पृष्ठभूमि राम्रो बनाउने प्रयासमा छु। बलियो पृष्ठभूमिका साथ राजनीतिमा छिर्दा राम्रो हुन्छ भनेर पनि क्लबमा प्रवेश गरेको हुँ।’
Shares
प्रतिक्रिया