मेघराज केसी घरेलु फुटबल पछ्याउनेका लागि नयाँ नाम होइन। दुई दशकभन्दा लामो समयदेखि उनी फुटबल प्रशिक्षकका रुपमा सक्रिय छन्।
एन्फा एकेडेमी प्रशिक्षक, ए डिभिजन क्लबको प्रशिक्षक, नेपालको उमेर समूहको प्रशिक्षकदेखि फ्रेन्चाइज लिग नेपाल सुपर लिग (एनएसएल) को टोली पनि सम्हालिसकेका छन्।
प्रशिक्षकका रुपमा उनी जोखिम मोल्न तयार हुन्छन्। एकपछि अर्को परीक्षण गरिरहेका हुन्छन्। कम्फर्ट जोनबाट बाहिर जाने हिम्मत राख्छन्।
घरेलु फुटबलको सफल टोली मध्येको एक थ्री स्टार क्लब छाडेपछि उनले आफूलाई थप परीक्षण गर्ने योजनामा थिए।
यद्यपि उनले थ्री स्टार छाड्दा अर्को ए डिभिजन टोलीलाई प्रशिक्षण दिनेभन्दा पनि खेलाडी उत्पादनका लागि एकेडेमी सञ्चालन गर्ने सोच बनाएका थिए।
तर, कोभिड महामारीका कारण उनको त्यो योजना पूरा हुन सकेन। कोभिडकै बीचमा एनएसएलको पहिलो संस्करण आयोजना हुने भएपछि उनी एफसी चितवनको मुख्य प्रशिक्षक बने।
यो टोलीले सन्तोषजनक प्रदर्शन भने गर्न सकेन। उनी आफूले पनि आमा बिरामी भएका कारण पर्याप्त समय दिन सकेनन्।
अहिले एनएसएलको दोस्रो संस्करण यसै महिना सुरु हुने तय भएको छ। त्यसका लागि उनी स्पोर्टिङ इलाम डी मेचीको मुख्य प्रशिक्षकमा आबद्ध भइसकेका छन्।
एनएसएलको दुई सिजनको बीचमा उनले ए डिभिजनको नयाँ टोली सातदोबाटो युथ क्लबको प्रशिक्षकको जिम्मेवारी सम्हाले।
थ्री स्टार जस्तो स्थापित क्लब सम्हालिसकेका उनले ए डिभिजनको नयाँ टोली सातदोबाटोलाई लिएर अघि बढ्नु कम जोखिम पूर्ण यात्रा थिएन। त्यसमा भने उनी सफल भए।
पहिलो सहभागितामै उनले सातदोबाटोलाई लिगको चौथो स्थानमा पुर्याए। त्यसले उनलाई सफल प्रशिक्षकका रुपमा स्थापित गराएको छ।
सातदोबाटोको लिग यात्रा कम लोभ लाग्दो छैन। लिगमा सातदोबाटोले पूर्व विजेता थ्री स्टार क्लब, नेपाल पुलिस र मनाङ मर्स्याङ्दीजस्ता बलिया घरेलु फुटबल टोलीलाई पराजित गर्दै आफूलाई अब्बल साबित गर्यो।
उनले एउटा अध्याय सकिन नपाउँदै अर्को चुनौती स्वीकार गरेका छन्। एनएसएलमै पहिलो सहभागिता जनाइरहेको इलाम सम्हाल्नु केसीको अर्को जोखिमपूर्ण कदम हो। अब त्यसमा कति सफल हुन्छन्, त्यसका लागि भने केही समय कुर्नुपर्ने हुन्छ।
बिरामी आमालाई समय दिनुपर्ने भएकाले सोचे जसरी एफसी चितवनको नेतृत्व गर्न नसकेका केसी यसपटक भने इलामलाई उत्कृष्ट प्रदर्शन गराउने योजनामा छन्।
सातदोबाटोलाई सफलता दिलाउन खेलाडी, प्रशिक्षण र व्यवस्थापन टोली सबैले उत्तिकै मेहनत गरेको केसीको भनाइ छ। भन्छन्, ‘हामीले धेरै मेहनत गरेका थियो।
मेहनत अनुसारको नतिजाबाट सन्तुष्ट छौं। तर, अझै यो भन्दा राम्रो गर्न सकिन्छ कि भन्ने लाग्छ। रेलिगेसनबाट जोगिने उद्देश्यका साथ लिगको सुरुवात गरेको टोलीले चौथो स्थानमा यात्रा टुंग्याउनु सानो सफलता पक्कै होइन।
केसीले थ्री स्टारभन्दा अघि ए डिभिजनका जावलाखेल, फ्रेन्ड्स, मछिन्द्र, हिमालयन शेर्पा र त्रिभुवन आर्मीलाई प्रशिक्षण दिएका थिए। थ्रीस्टार र आर्मीबाट थुप्रै नकआउट उपाधि जितेका केसीले कुनै पनि टोलीलाई लिग विजेताको उपाधि भने जिताउन सकेका छैनन्।
२०६५ मा तत्कालीन नेकपा माओवादीको पीएलएल स्पोर्टस् क्लबले पाँचौं राष्ट्रिय खेलकुदमा भाग लिँदा टोलीको प्रशिक्षक केसी नै थिए।
त्यसबाट पनि उनी परिक्षणका लागि कति तयार रहन्छन् भन्ने बुझ्न सकिन्छ। झण्डै दुई वर्ष उनले पीएलएलाई प्रशिक्षण दिएका थिए। एक दशकअघि ग्राहम रोबर्ट्स राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक रहँदा उनको सहायक रहेका केसीले नेपाली यू–१४ र पछिल्लो पटक यू १९ टोलीको प्रशिक्षण पनि सम्हालेका थिए।
फुटबलमा उमेर समूहदेखि व्यावसायिक क्लब, राष्ट्रिय टोलीको प्रशिक्षणको अनुभव बटुलिसकेका केसीको खेलाडी उत्पादन गर्ने लक्ष्य भने अझै पूरा भइसकेको छैन।
सानै उमेरदेखि प्रशिक्षण दिएर खेलाडी उत्पादन गर्न सके त्यसले आत्मसन्तुष्टि मिल्ने लोभ देखेका केसीले त्यही योजना पूरा पार्न थ्री स्टारबाट बिदा लिएका थिए। तर, कोभिड–१९ का कारण तत्कालका लागि उनको योजना सुरु हुन पाएन। त्यतिबेला नयाँ काम सुरु गर्ने अवस्था रहेन।
महामारीकै बीचमा उनको आमाको स्वास्थ्य अवस्था झन् कमजोर हुँदै गयो। उनले आफ्नो धेरै समय आमाका लागि नै दिए। आमाको स्वास्थ्यमा केही सुधार आएपछि उनले सातदोबाटोको जिम्मेवारी लिए।
तर, पछि आमाको स्वास्थ्य फेरि बिग्रियो। लिगकै बीचमा उनको आमाको निधन भएको थियो। काजक्रियापछि उनी पुनः सातदोबाटोको जिम्मेवारीमा सक्रिय भए।
छोराको कर्तव्यसँगै प्रशिक्षकको जिम्मेवारी उनले पूरा गरे। ‘सायद जिन्दगी भनेको यही रहेछ’, उनले भने, ‘समस्यालाई कसरी सहज तरिकाले समाधान गर्न सक्छौँ त्यही नै रहेछ। फुटबललाई मैले जिन्दगी सोच्छु। त्यो समय सजिलो र सहज भने पक्कै पनि थिएन।’
तर, अझै पनि खेलाडी उत्पादनको हुटहुटी भने उनमा बाँकी छ। केसी भन्छन्, ‘यो बीचमा मैले कुनै एकेडेमीका बालबालिकालाई प्रशिक्षण गराइराखेको देख्नुभयो भने अचम्म नमान्दा पनि हुन्छ।’
Shares
प्रतिक्रिया