हरेक मान्छेका जीवनमा उतारचढाव आउँछन् नै। अझ त्यसमा पनि खेलाडीको जीवनमा उतारचढाव स्वाभाविक छ। एउटा खेलाडीको प्रदर्शन सधै एकनासको हुँदैन, हुन सक्दैन।
आफ्नो वरिपरिको वातावरण, मानसिकता र उमेरका कारण सधै माथिल्लो स्तरमा प्रदर्शन गर्न कठिन हुन्छ। कुनै बेला टोलीको केन्द्रमा रहेका खेलाडी विस्तारै ओझेल पर्दै जान्छन्। अधिकांश खेलाडीले आफ्नो खेल जीवनमा सफलतासँगै असफलता पनि आत्मसाथ गरेकै हुन्छन्।
राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जन पनि त्यसकै एउटा उदाहरण हुन्। व्यावसायिक खेलाडीदेखि राष्ट्रिय टोलीको कप्तानीमा देशलाई उपाधिसमेत दिलाएका तिनै विराजसँग आफ्नै टोली ए डिभिजनबाट रेलिगसेनमा परेको अनुभव पनि छ।
विराजको कप्तानीमा रहेको च्यासल युथ क्लब गत महिला सम्पन्न सहिद स्मारक ए डिभिजन लिगमा रेलिगेसनमा पर्ने दुईमध्ये एक टोली बन्यो। रेलिगेसनमा पर्ने अर्को टोली बिग्रेड ब्वाइज क्लब (बीबीसी) को कप्तानी भने विराजअघिका राष्ट्रिय टोलीका पूर्वकप्तान अनिल गुरुङले गरेका थिए। देशका सफल र चर्चित क्लब मनाङ मर्स्याङ्दी क्लब, थ्री स्टार क्लब, एनआरटी, मछिन्द्र फुटबल क्लबबाट व्यावसायिक फुटबल खेल्दै थुप्रै सफलता चुमेका विराज यो सिजन च्यासलमा आबद्ध भएका थिए। तर, उनको टोलीको प्रदर्शन कमजोर रह्यो र अन्तमा ए डिभिजन हैसियत जोगाउन असफल रह्यो।
विराजले अन्तर्राष्ट्रिय फुटबलबाट भने गत वर्ष सन्यास लिएका थिए। घरेलु समर्थकका माझ थ्री नेसन्स कप खेलेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल श्रृखंलाबाट उनले सन्यास लिए। फुटबलका सबै उमेर समूहबाट देशको प्रतिनिधित्व गर्दै लामो समय राष्ट्रिय टोलीमा रहेका विराजको सन्यास लिने चाहना पूरा गर्न भने केही संघर्ष गर्नुपर्यो।
सन्यास लिनुअघि नै उनी राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाइन छाडिसकेका थिए। तर, संयोग थ्री नेसन्स कप आयोजनाको खबरले उनलाई केही राहत दियो। अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीसँग उनले घरेलु समर्थककाबीच सन्यास लिन चाहेको बताएपछि उनका लागि सन्यास यादगार बन्यो। बंगलादेशलाई हराउँदै नेपालले थ्री नेसन्स कप जितेसँगै विराजले सन्यास लिँदा समर्थकले उनको सम्मानमा ताली बजाइरहे। विराजले जसरी चाहेका थिए त्यसरी नै बिदाइ पनि पाए। त्यसअर्थमा भने उनी खुसी छन्। यद्यपी विश्वकप छनोटअन्तर्गत अष्ट्रेलियाविरुद्ध खेलेर सन्यास लिने उनको सुरुको चाहना भने कोभिड १९ को महामारीका कारण सम्भव भएन। नेपालमा हुने भनिएको त्यो छनोट खेल नेपाल बाहिर भयो।
विराजले आफ्नो कप्तानीमा प्राप्त तीन महत्वपूर्ण सफलतालाई जीवनभर बिर्सिन नसक्ने बताए। उनको कप्तानीमा नेपालले २०७२ मा बंगलादेशमा बंगबन्धु गोल्डकप जितेको थियो। त्यही वर्ष भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा उनकै कप्तानीमा नेपालले स्वर्णपदक जितेको थियो।
यद्यपि त्यो यू–२३ ले खेल्ने प्रतियोगिता हो। २३ वर्ष माथिका ३ खेलाडी राख्न पाउने प्रावधान अनुसार विराजले टोलीको नेतृत्व गर्ने मौका पाएका थिए। उमेर समूहमै भए पनि भारतलाई हराएर स्वर्ण जित्दा टोलीको निकै चर्चा भएको थियो। २०७३ मा मलेसियामा एएफसी सोलिडारिटी कप जित्दा पनि मैदानमा विराजले नै कप्तानी गरिरहेका थिए। त्यो टोलीको नियमित कप्तान भने अनिल गुरुङ थिए। ‘१० महिनाका बीचमा हामीले ती तीनवटा सफलता प्राप्त गरेका थियौं’, उनले भने, ‘मैले मात्र होइन त्यो टोलीमा रहेको सबै खेलाडीले त्यसलाई जीवन भर सम्झिनेछन्। फुटबलले नै मलाई सब थोक दिएको छ।’
विराजले घरेलु मैदानमा पनि थुप्रै पटक सफलताको स्वाद चाखेका छन्। मनाङ, थ्री स्टार र मछिन्द्रबाट लिग जितेका छन्। फरक फरक क्लबबाट लिग जित्ने थोरै खेलाडीमा विराज पर्छन्।
विराजले सम्झिन्छन्, ‘सानैदेखि मनपर्ने खेल हो त्यसैले लागियो। प्राइम टाइममा हुँदा नेपालको टप क्लबबाट खेल्ने मौका पाए त्यो बेलामा धेरै कुरा सिक्न पाएँ।’
विस्तारै क्लब फुटबलबाट अलग हुनुपर्छ भन्ने मानसिकरुपमा तयार हुने क्रममा रहेका विराजले यसपटक रेलिगेसनको पनि अनुभव गर्नुपर्यो। तर उनी त्यसलाई खेलाडीको जीवनको त्यो अवस्थालाई सामान्य रुपमा लिन्छन्। खेलाडीको जीवनमा यस्तो हुन्छ। हाम्रो टोलीमा धेरै नयाँ खेलाडी थिए। ए डिभिजन लिग र राष्ट्रिय टोलीको अनुभव नभएका खेलाडी थिए।
‘खेल जीवनमा खुसी मात्र हैन दुःख पनि हुन्छ। त्यो चुनौती लिएर खेल्न पाए त्यसमा म खुसी छु। हार जित आफ्नो ठाउँमा छ तर मैले आफ्नो जिम्मेवारी पुरा गरे। लिगमा च्यासल रोजेर अहिलेसम्म पछुतो भने लागेको छैन’, उनले भने।
भिडिओ :
***
पछिल्लो समय ढल्किँदो उमेरसँगै विराजको प्रर्दशन खस्किँदै गएको आलोचना सुन्दा भने विराज दुखी छन्। बढ्दो उमेरको कारण प्रर्दशनमा असर पर्ने विराज मान्छन्। भन्छन्, ‘हो, एउटा खेलाडीले १६, १७ को उमेरमा जस्तो प्रर्दशन सधैँ गर्न सक्दैन।’
‘सिनियर दाइहरुले २८,२९ वर्ष कटेपछि खेलाडी बुढो भयो भन्नुहुँदो रहेछ। मैले पनि त्यो महसुस गरेँ। सिनियर प्लेयरले खेल्नैपर्छ भन्ने छैन मेन्टरको रुपमा काम गर्न सक्छन्। त्यसको लागि वातावरण तयार पार्ने काम सिनियरले गर्नुपर्छ’, विराज सुनाउँछन्, ‘कति खेलाडी त हतोत्साहित भएर खेल्न छाडेर गएका छन्। राम्रो खेलाडीलाई साथ लिने हो भने उमेर ढल्के पनि राम्रो खेल्छन्।’
एन्फा एकेडेमीका उत्पादन उनी पहिलोपटक अन्डर १० मा छनोट भएका थिए। त्यसपछि क्रमशः नेपाली अन्डर १५, १६, १७, १९, २३ सबै उमेर समूहबाट खेले। ‘लेफ्ट’ र ‘राइट ब्याक’ दुवैबाट खेल्ने विराजको व्यावसायिक फुटबल यात्रा २०६३ सालमा संकटा क्लबबाट सुरु भएको थियो। संकटापछि उनी एनआरटीमा गए। २०६७ मा घरेलु फुटबलको लोकप्रिय क्लब थियो, थ्री स्टार। उनी सोही क्लबसँग आबद्ध भए। उनी सम्मलित थ्री स्टारले ए डिभजन लिग जित्यो। थ्रीस्टारपछि उनको गन्तव्य बन्यो, अर्को सफल टोली मनाङ। मनाङमा लामो समय बिताएका उनी गत सिजनमा मछिन्द्र क्लब आबद्ध भएका थिए।
उमेर समूहबाट देशको लागि खेल्न थालेका विराजले कहिल्यै पछाडि फर्केर हेर्नु परेन। २ वर्षअघिसम्म शीर्ष क्लबबाट खेले। विराज भन्छन्, ‘फुटबल भनेको हाम्रो भगवान हो, हामीले यसको पुजा गर्नैपर्छ। क्लब भनेको हाम्रो मन्दिर हो। खेलाडी भनेको भक्तजन हो। हरेक क्लब र फुटबललाई सम्मान गर्छु त्यो अनुसार मैले आफ्नो कर्तव्य पूरा गरेँ।’
दशकभन्दा लामो समय राष्ट्रिय टोलीमा बिताएका विराजले त्यो यात्रालाई सम्झिँदा गर्व महसुस गर्छन्। ‘देशलाई आफ्नो तर्फबाट केही योगदान दिन पाएको छु’, विराज सुनाउँछन्, ‘६,७ वर्षको उमेरबाट फुटबलमा लागे तर अहिलेसम्म पछुतो लागेको छैन।’
सन्यास अनि त्यसअघिको उतारचढावपूर्ण खेल यात्रालाई सम्झिँदा भावुक बनेका विराज त्यो क्षणलाई सम्झिँदा रुन मन लाग्ने बताउँछन्। ‘राष्ट्रिय टोलीबाट बाहिर हुँदा आमाबुबा मलाई हेरेर रुनुहुन्थ्यो त्यो देखेर दुःख लाग्थ्यो’, विराज सम्झिन्छन्, ‘तर त्यो दुःख कहिल्यै अनुहारमा देखाएनन्। शोकलाई शक्तिमा बदल्नुपर्छ भन्ने स्व.ललितकृष्ण (श्रेष्ठ) सरको कुरालाई सम्झेर आफूलाई बलियो बनाइराखेँ।’
समकालीन साथी सिनियरहरुबाट साथ नपाउँदा भने नमज्जा लागेको विराज सुनाउँछन्। उनले थपे, ‘कहिलेकाँही त मैले अहिलेसम्म गरेको मेहनत यही हो त भन्ने पनि हुँदोरहेछ।’
राष्ट्रिय टोलीबाट सम्मानजनक बिदाइ पाएका उनी क्लब फुटबलमा भने अझै केही वर्ष खेल्ने योजनामा छन्। ‘क्लबलाई केही योगदान दिन सक्छु भन्ने विश्वास छ’, विराजले योजना सुनाए, ‘त्यसैले अझै एक/दुई वर्ष खेल्ने सोच छ।’
सक्रिय खेल जीवनपछि प्रशिक्षण वा व्यवस्थापन दुईमध्ये एकमा जानसक्ने सम्भावना रहेको उनले बताए, ‘लाइसनिङ गर्ने, क्लब वा राष्ट्रिय टोलीलाई प्रशिक्षण दिने या स्कुल कलेजको टिम हेर्न सकिन्छ। मेन्टरका रुपमा काम गर्न पनि सकिन्छ। त्यसका लागि वातावरण पनि चाहिन्छ’, उनले अन्त्यमा भने, ‘व्यवस्थापनमा पनि जान सकिन्छ।’
याे पनि हेर्नुहोस्- कीर्तिमानी फुटबलर विराज सुखद बिदाईको पर्खाइमा
Shares
प्रतिक्रिया