राष्ट्रिय महिला फुटबल टोली तथा एपीएफ फुटबल क्लबकी मुख्य फरवार्ड सावित्रा भण्डारी (साम्बा) ले राष्ट्रिय महिला लिगमार्फत पुनरागमन गरेकी छिन्।
चितवनको भरतपुरमा बिहीबारदेखि सुरु महिला लिगमार्फत सावित्राले पुनरागमन गरेकी हुन्। आर्मीविरुद्धको खेलको ६० औँ मिनेटमा रविना गोलेको स्थान लिँदै सावित्रा मैदान छिरेकी हुन्।
चोटका कारण साम्बाले मैदान छाड्दा उनको स्थान रविनाले नै लिएकी थिइन्।
बिहीबारको खेलपछि साम्बाले भनिन्, ‘मैदान प्रवेश गर्दा सुरुवातको दिन सम्झिएँ। आफू केही हतारिएजस्तो आत्तिएजस्तो भयो। विपक्षी खेलाडी पनि आक्रमक रुपमा प्रस्तुत भएकाले सुरुवातको ५ मिनेट दिमागले केही सोच्नै सकेन। जब पहिलो पटक बल छोएँ त्यसपछि केही आत्मबल बढेको महसुस गरेँ।’
साम्बाले थपिन्, ‘सुरुमा केही मिनेट मात्र खेलेँ, अब समय अवधि बढाउँदै जान्छु। प्रशिक्षक र टोलीका सदस्यले पनि राम्रो प्रतिक्रिया दिनुभयो। अहिले दुखाइको महसुस गरेको छैन। प्रशिक्षण पछि केही गाह्रो भएको महसुस हुन्थ्यो, अब हेरौँ सहजै होला।’
लिगको गत संस्करणमा चोट बोकेकी साम्बा १३ महिनापछि मैदान फर्केकी हुन्।
राष्ट्रिय लिगका दौरान २०७७ फागुन ३ गते नेपाल पुलिस क्लबविरुद्धको खेलमा उनलाई गम्भीर चोट लागेको थियो। कतारमा करिब ७ महिना उपचार गरेपछि साम्बा गत माघ २५ गते स्वदेश फर्केकी थिइन्।
असार १२ गते कतार पुगेकी साम्बाको ३१ गते अस्पेटार अस्पतालमा दायाँ घुँडाको शल्यक्रिया गरिएको थियो।
नेपालको मात्र नभइ दक्षिण एशियाकै उत्कृष्ट फरवार्डको परिचय बनाएकी साम्बाको नाममा राष्ट्रिय फुटबल टोलीबाट सर्वाधिक ३८ गोलको कीर्तिमान छ।
साम्बाले पुनरागमन गरेको खेलमा एपीएफले आर्मीलाई २–१ ले पराजित गर्यो।
Shares
प्रतिक्रिया