मार्सल आर्ट्सका प्रतिस्पर्धा विभागीय टोलीकै वरिपरि घुम्छ भन्ने फेरि एकपटक प्रमाणित भएको छ।
गत साता सम्पन्न कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगितालाई हेर्दा थप प्रष्ट हुन्छ। प्रतियोगितामा समावेश १७ मध्ये १५ इभेन्टको स्वर्णपदक तीन विभाग (सेना, प्रहरी र एपीएफ) ले जिते।
२ इभेन्टमा मात्र प्रदेशका खेलाडीले स्वर्ण जित्न सफल भए। यसपटक विभागीयभन्दा बाहिरबाट च्याम्पियन बन्ने एक खेलाडी हुन्- सन्तोष श्रेष्ठ। ६० केजी तौल समूहमा बागमती प्रदेशका सन्तोष श्रेष्ठ च्याम्पियन बनेका हुन्।
८४ केजी मुनिको तौल समूहमा प्रदेश १ का रोजन खड्का च्याम्पियन बनेका थिए। यी दुवै इभेन्टमा यसअघि विभागीय खेलाडी नै हावी हुन्थे।
सन्तोषको इभेन्टमा पुलिसका स्वर्णपदक जित्ने सम्भावना रहेका खेलाडीले नाम दर्ता गरेर पनि खेलेनन्। जसले गर्दा सन्तोषलाई च्याम्पियन बन्न सहज भयो। सन्तोष आफैं पनि त्यसलाई स्वीकार्छन्।
पुलिसका राजीव पुडासैनीसँग सन्तोष यसअघि तीनपटक पराजित भइसकेका थिए। यसपटक पनि उनी प्रतिस्पर्धा गर्नुपर्नेछ भन्नेमा सन्तोष ढुक्क थिए। तर, राजीव अनुपस्थित भएपछि सन्तोष नयाँ च्याम्पियन बने।
सन्तोषले फाइनलमा सुदूरपश्चिमका रोशन भाटलाई १०–२ ले नकआउट गरे। विवेक थापालाई पहिलो खेलमा ८–० ले हराएकाका सन्तोषले सेमिफाइनलमा मधेश प्रदेशका सरोज पासवालनलाई ६–५ हराएका थिए।
२०७६ को मंसिरमा १३ औं सागपछि सातदोबाटोस्थित हलमा राष्ट्रिय प्रतियोगिता भएको थियो। लामो समयपछि प्रतियोगिता आयोजना हुँदा खेलाडी उत्साहित थिए। त्यसमा सन्तोष अलग थिएनन्। उनले भने, ‘हाम्रा लागि यो प्रतियोगिता उत्साहजनक रह्यो। हामी खेलाडीहरु यस्तै मौकाको खोजीमा हुन्छौं।’
प्रतियोगितामा भाग लिने क्रममा उनले स्वर्ण जित्ने आशा भन्दा पनि सकेको राम्रो गर्नेमात्र सोचेका थिए। खेल्दै जाँदा उनी स्वर्ण जितेर फर्के। प्रदेशका लागि स्वर्णपदक जित्नु उनको लागि धेरै खुसीको कुरा थियो।
***
१३औं सागका त परको विषय भने सन्तोषले २०७५/०७६ मा भएको आठौँ राष्ट्रिय खेलकुद पनि खेलेका थिएनन्। आठौँ खेलकुदका समयमा सन्तोषले प्रशिक्षणसमेत गरेका थिएनन्। धेरै पछि उनले राष्ट्रिय प्रतियोगितामा यसपटक भिड्ने मौका पाएका थिए। झण्डै डेढ दशक लामो खेल जीवनमा पहिलो पटक राष्ट्रिय च्याम्पियन बन्नु उनका लागि अविस्मरणीय रह्यो। उनी यसलाई आफ्नो सुरुवातका रुपमा मान्छन्।
पुलिसका राजीवसँग खेल्नुपर्छ भन्ने मानसिकरुपमा उनी तयार थिए। तर, उनले सोचे जस्तो राजीवसँग प्रतिस्पर्धा गर्नै परेन। ‘ऊ राम्रो खेलाडी हो। म उनीसँग तीनपटक हारिसकेको छु। राम्रो खेलाडीसँग हार्दा पनि धेरै कुरा सिक्न पाइन्छ। उनीसँग हार्दा मलाई त्यस्तै हुन्थ्यो, उनले भने,‘यसपटक पनि उनीसँग खेल्नुपर्छ भन्नेमा म मानसिकरुपमा तयार थिएँ। खेल्नै परेन, त्यो पाटो चाहिँ मिस भयो।’
सन्तोषले काठमाडौं गोंगबुको मनमैजु डोजोबाट कराँते खेल्न सुरु गरेका थिए। निरज महर्जन उनका गुरु हुन्। राष्ट्रिय च्याम्पियन बन्दा उनका गुरु साथमा थिएनन्। महर्जन अहिले काम विशेषले क्यानडामा रहेको सन्तोषले सुनाए। ‘यो खुसीमा गुरु पनि साथमा भएको भए अझै राम्रो हुन्थ्यो।’
सन्तोष मनमैजु डोजोमा गुरु महर्जन र राजेन्द्र मल्लको हात समाएर पुग्ने गर्थे। त्यहीँबाट उनको खेल जीवन अगाडि बढ्यो। उनले उनै गुरुहरुसँग ब्ल्याक बेल्ड लिए। उनी त्यहाँको पहिलो ब्याचका खेलाडी हुन्। ३० केजी तौल समूहबाट उनले खेल्न सुरु गरेका थिए। सन्तोष आफ्नै गुरुबाट प्रभावित भएर खेल्न थालेका हुन्। समयसँगै कराँतेमा पनि धेरै परिवर्तन आएको सन्तोष बताउँछन्, ‘पहिला कन्ट्याक गेम थियो। जो बलियो छ, उसले जित्ने खेल भन्ने बुझाइ थियो। अहिले त कराँते एकदमै टेक्निकल भइसकेको छ। ननकन्ट्याक खेलमा बल होइन बुद्धिले खेल्नुपर्छ।’
राष्ट्रिय प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल कराँते महासंघले प्रतियोगिताले एसियाली खेलकुदको प्रारम्भिक तयारीका रुपमा स्वीकृति दिएकाले सन्तोष उत्साहित छन्।
कोरोनाका कारण झण्डै दुई वर्ष कुनै प्रतियोगिता नहुँदा आफ्नो क्षमता देखाउन नपाएका खेलाडीलाई राष्ट्रिय प्रतियोगितासँगै एसियाडको छनोटसमेत रहेको भन्दा दोहोरो खुसी हुनु स्वभाविक थियो। एसियाडको छनोटका लागि आउने दिनमा अझै मेहनत गर्नेमा सन्तोष दृढ छन्।
***
मध्यम परिवार भए पनि सन्तोषको परिवारले काठमाडौंमा संर्घष गरेर घर बनायो। उनको परिवारले होटल व्यवसाय सुरु गरे। त्यहीबाट दिनरात दुःख गरेर घर बनाएको सन्तोष सुनाउँछन्। दुःखका बीच पनि परिवारले उनलाई खेलमा लागि लाग्न हौस्यायो। सन्तोषसँगै बहिनी सविना पनि कराँते खेलमा जोडिइन्।
अहिले दाजुबहिनी नै कराँतेमा छन्। सुरुवातमा सन्तोष प्रशिक्षणमा जाँदा बहिनी पनि पछि लागेर खेल्न जान्थिन्। त्यसैको सिको गर्दै अघि बढेकी सविना श्रेष्ठले पनि राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरिन्। पुलिस क्लबबाट उनले ४५ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन्।
मनमैजु डोजोबाट सन्तोषसँगै अन्य खेलाडीले पनि भाग लिएका थिए। डोजोका प्रशिक्षक महर्जन देशबाहिर रहँदा सिनियर खेलाडी हुनुको नाताले सन्तोषले अन्य खेलाडीको अभिभावकत्वको जिम्मेवारी निर्वाह गरे। उनले थपे ‘डोजोका धेरै बहिनीहरुले भाग लिए पदक नल्याए पनि एउटा राम्रो अवसर बन्यो। हारलाई पनि सकारात्मक रुपमा लिने गरेका छौँ।’
***
खेल जीवन सुरु भएको डेढ दशक भए पनि सन्तोषको खेल यात्रा उतारचढावपूर्ण छ। खेल जीवनलाई एकनाससँग अघि बढाउन नसक्नुमा आर्थिक कारण मुख्य रह्यो। जीवन धान्नका लागि न्यूनतम आवश्यकता पूरा गर्नकै लागि उनले कराँते खेल्न छाडे। मोटरसाइकल बनाउने वर्कसपमा पनि काम गरे।
सन्तोषले भने, ‘हुर्के बढेपछि परिवारले पनि केही आशा गर्ने नै भयो। वर्कसपमा काम र व्यवसाय पनि गरेँ। काम र खेलसँगै लान कठिन भयो। त्यसले गर्दा खेल्न छाडेँ।’
खेल्न छाडेर मासिक ४ हजार रुपैयाँमा जागिर खान सुरु गरे। त्यो बीचमा उनी आफैले मोबाइल बनाउन सिकेर पसल पनि खोले। वर्कशपमा काम पनि गरे तर त्यसमा लामो समय टिक्न सकेनन्, कारण थियो–कराँतेप्रतिको माया।
‘कराँते नखेल्दा हात खुट्टा झमझमाएजस्तो हुन थाल्यो। कामबाट घर पुग्दा नजिकैको डोजोबाट आउने अरु खेलाडीको आवाजले पनि मलाई तान्थ्यो। उनी खेलबाट टाढा हुनै सकेनन्। कराँते प्रशिक्षणमै बढी ध्यान जान थाल्यो।’
हरेक दिनको त्यो आवाजले उनलाई यसै बस्न नसक्ने बनायो। फेरि खेल्ने निधो गरे।
भन्छन्, ‘बरु थोरै कमाएर त्यसमा खुसी हुने। खेल्न चाहिँ नछाड्ने निश्चय गरेँ। परिवारलाई आफ्नो निर्णय सुनाए। त्यति बेला परिवारले पनि साथ थियो। म त फुरुङ्गै भए।’ एकपटक छुटिसकेको करातेसँगको साइनो जोडेका सन्तोष अहिले प्रदेशको कराँतेका शान भएका छन्।
Shares
प्रतिक्रिया