सरकारले हतारमा गर्न लागेको नवौं राष्ट्रिय खेलकुदको उद्देश्य पूरा हुनेमा शंका उब्जेको छ।
चैत ३० गतेको मन्त्रिपरिषद् बैठकले जेठ २२ देखि २८ गतेसम्म राष्ट्रिय खेलकुदको नवौं संस्करण आयोजनाको मिति तोकेको थियो। राष्ट्रिय खेलकुद आयोजनको मुख्य उद्देश्य भौतिक पूर्वाधार निर्माणको विकेन्द्रीकरण र नयाँ खेलाडीका लागि प्रतिभा प्रदर्शन गर्ने अवसर दिनु हो।
गण्डकी प्रदेशको राजधानी पोखरामा गर्ने यसअघिकै निर्णयले पनि भौतिक पूर्वाधार खासै चिन्ताको विषय थिएन। दुई वर्षअघि नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) का आयोजना गर्दै २६ मध्ये ८ खेल सञ्चालनको जिम्मा पाएको पोखरा संघीय राजधानीपछि खेलकुदका भौतिक पूर्वाधारका हिसाबले धनी सहर मान्न सकिन्छ।
केही खेल छाडेर राष्ट्रिय खेलकुद आयोजनका लागि पोखरा सक्षम रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नेतृत्वले यसअघि देखि नै दाबी गर्दै आएको छ। भौतिक पूर्वाधार, पर्यटकीय सहर भएकाले होटल व्यवस्थापनलगायत अन्य पक्ष पनि पोखरामा सहज नै हुनेछ।
तर, देश भित्रका उत्कृष्ट खेलाडीहरुबीच हुने प्रतिस्पर्धाका लागि आयोजना हुने भनिएको राष्ट्रिय खेलकुद त्यो उद्देश्य पूरा हुनेमा भने शंका गर्ने पर्याप्त ठाउँ छ। सरकारको निर्णय अनुसार राष्ट्रिय खेलकुद आयोजना भयो भने त्यसका लागि अब ६ साताको समय बाँकी छ। यो समयमा जिल्लादेखि प्रदेशको छनोट अनि प्रशिक्षण गरेर खेलाडी राष्ट्रिय खेलकुदका लागि पोखरा पुग्नुपर्ने हुन्छ।
राष्ट्रिय खेलकुदको मिति घोषणापछि राखेप सदस्य सचिव टंकलाल घिसिङले ६ वटा प्रदेश खेलकुदका सदस्य सचिवसँग सामूहिक छलफल गरेका छन्। तर, राष्ट्रिय खेलकुदका लागि जिल्ला, प्रदेश छनोट र अन्य तयारीका विषयमा भने कुनै कार्यक्रम सार्वजनिक भएको छैन।
राखेपका पूर्व सदस्य सचिव रमेशकुमार सिलवालले राष्ट्रिय खेलकुद आयोजना गर्नुअघि कम्तीमा ३ महिनाको समय लाग्ने बताउने गरेका थिए। जिल्ला, प्रदेशको छनोट र त्यसको तयारीका लागि ३ महिना लाग्नसक्ने उनको अनुमान थियो। तर, यसपटक जिल्ला, प्रदेशको छनोट र त्यसको तयारीका लागि भन्दा पनि छिटोभन्दा छिटो राष्ट्रिय खेलकुद सम्पन्न गर्ने हतारो देखिएको छ।
हतारमा गरिने यस्ता ठूला प्रतियोगिता आयोजनाले उद्देश्य पूरा हुन्छ त? भन्नेमा सरकार र त्यस मातहतका निकाय सचेत देखिँदैनन्। हतारमा गरिने तयारीले खेलाडीमा पनि मानसिक र शारीरिक दबाब पर्ने देखिन्छ। देशका सुरक्षा निकाय (सेना, प्रहरी र शसस्त्र प्रहरी)ले पनि राष्ट्रिय खेलकुदमा भाग लिनेछन्।
देश स्थानीय निर्वाचनको तयारीमा छ। सुरक्षाकर्मी निर्वाचनमा परिचालन हुँदा त्यहाँका विभागीय टोलीका खेलाडी पनि प्रयोग हुने गरेको यसअघिको अभ्यास छ। यदि राष्ट्रिय खेलकुदमा भाग लिने खेलाडीले निर्वाचनका लागि परिचालन हुनुपरेको अवस्थामा ती खेलाडी पोखराका लागि तयार हुन्छन् कि हुँदैनन् भन्नेमा कसैको ध्यान गएको देखिँदैन।
दुई वर्षको अन्तरमा राष्ट्रिय खेलकुद आयोजना गर्ने उद्देश्यका साथ २०३८ सालमा सुरु भएको थियो। दोस्रो संस्करण २०४० सालमा पोखरामा आयोजना भएको थियो। ३९ वर्षपछि राष्ट्रिय खेलकुद पोखरामा आयोजना हुँदा भने निकै हतारो गरेको देखिन्छ। नियमित रुपमा आयोजना हुन्थ्यो भने राष्ट्रिय खेलकुद २० औं संस्करण आयोजना हुने अवस्था बन्थ्यो। तर, सुरुका तीन संस्करण दुई वर्षमै आयोजना भएको राष्ट्रिय खेलकुद पछि डेढ दशकसम्म पनि आयोजना हुन नसकेको इतिहास छ। त्यसमा अहिले दुई महिनाभन्दा कम समय राखेर राष्ट्रिय खेलकुद आयोजना गर्नुपर्नेको औचित्य भने पुष्टि हुन सकेको छैन।
यसअघि २०७७ को फागुन २० देखि २७ सम्मका आयोजना हुने तय भए पनि कोरोनाका कारण स्थगित भएको थियो। अहिले स्थिति केही सहज भएपछि राष्ट्रिय खेलकुद आयोजनाका लागि हतार गरेको छ। त्यसको एकमात्र कारण राष्ट्रिय खेलकुदका लागि विनियोजित बजेट फ्रिज हुने डर हो। हतारमा गरिने प्रतियोगिता स्तरीय हुनेमा पनि शंका हुन्छ।
छोटो तयारीले प्रतियोगिता गर्दा गुणस्तरमा कमी हुने सक्ने गण्डकी खेलकुद परिषद्का सदस्यसचिव तेज गुरुङ स्वीकार्छन्। ‘टिम तयारी पनि महत्वपूर्ण हो। तर, अहिलेको समयमा खेलाडीलाई मानसिक दबाबभन्दा पनि गुणस्तरमा केही कमी हुन सक्छ’, गुरुङले भने, ‘खेलाडीलाई १/२ महिना बन्द प्रशिक्षणमा राखेर प्रतियोगिता गर्न पाएको भए खेलाडीको गुणस्तरमा अभिवृद्धि हुने थियो।’
कोरोना महामारीका कारण २ वर्ष प्रतियोगिताहरु भएनन्। विस्तारै खेलकुद चलायमान हुने क्रममै रहँदा सरकारले भने राष्ट्रिय खेलकुदका लागि हतार गरेको छ। खेलाडीको तयारीलाई पूरै बेवास्ता गर्दै नयाँ आर्थिक वर्षअघि नै राष्ट्रिय खेलकुद सक्नु पर्ने चटारोमा सरकार देखिएको छ। अधिकांश खेल आउट डोरमा गर्नुपर्ने हुन्छ। वर्षायाममा राष्ट्रिय खेलकुदको मिति तय भएकाले त्यसले कति असर गर्छ अहिले अनुमान मात्र गर्न सकिन्छ।
अहिलेको मितिमा गर्न नसकेको अवस्थामा फेरि आयोजनाको मिति सर्ने भएकाले यही मितिमा गर्न उपयुक्त हुने सदस्य सचिव गुरुङ बताउँछन्। ‘अहिले राष्ट्रिय मात्र हैन अन्तराष्ट्रिय प्रतियोगिताका तालिका पनि अगाडि छन्’, उनले भने, ‘विविध समस्या र कमीकमजोरी हुने भए पनि राष्ट्रिय खेलकुद आयोजना गर्नु उपयुक्त हुने देखेर हामी जुटेका छौं। माइनस प्वाइन्ट भन्दा पनि प्लस प्वाइन्टतर्फ ध्यान दिएर सकारात्मक रुपमा लिएका छौँ।’
करातेका प्रशिक्षक दिपक श्रेष्ठ पनि छोटो समयमा प्रतियोगिता हुन लागेकाले गुणस्तरमा शंशकित छन्। ‘नवौं खेलकुद भनेको खेलाडीको उत्सव हो जुन अहिलेको समयमा महसुस गर्न पाईएको छैन। त्यसैले गुणस्तरीय भनेको जस्तो नहोला केही कठिनाइ छन्’, खेलाडी जीवनमा राष्ट्रिय खेलकुदमा भाग लिएका श्रेष्ठले भने। उनले मिति तोकिएको छोटो समयमा खेल हुन केही गाह्रो भए पनि ३ महिना समय राखेको भए राम्रो हुने बताए।
यसअघि आठौँ राष्ट्रिय खेलकुदको समयमा खेलाडीहरुले प्रशिक्षणका लागि खेलाडीहरुले पर्याप्त समय पाएका थिए। त्यतिबेला प्रतियोगिता सर्दै जाँदा पनि खेलाडीहरु प्रशिक्षणमा थिए। तर, अहिले अवस्था त्यस्तो छैन। कोरोना सक्रमणका लागि प्रतियोगिता मात्र होइन, खेलाडीको नियमित प्रशिक्षण पनि हुन सकेन। कोरोनाको संक्रमण केहि कम हुँदै जाँदा कार्यकारी प्रमुख सदस्य सचिवको पुरानो बर्खास्ती र नयाँको नियुक्त विवाद भएपछि झण्डै ४ महिना राखेप नेतृत्व विहीन बन्यो। त्यसको असर पनि राष्ट्रिय खेलकुद आयोजनामा परेको श्रेष्ठको बुझाइ छ।
‘हाम्रो लागि दुर्भाग्य भन्नुपर्छ, १ वर्ष कोभिडले सार्यो समयमा हुनुपर्ने खेल भएन’, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका श्रेष्ठले थपे, ‘त्यसपछि सदस्य सचिवको विवादले राष्ट्रिय खेलकुद हुनेमा शंका रहिरह्यो। खेलाडीमा मनोवैज्ञानिक असर पर्यो।’
स्थानीय निकायको निर्वाचनमा विभागमा रहेका खेलाडी परिचालन भएको अवस्थामा पनि राष्ट्रिय खेलकुद निर्धारित मितिमै गर्दा ती खेलाडीलाई मर्का पार्न सक्नेतर्फ ध्यान दिएको देखिँदैन। सुरक्षा निकायमा रहेका खेलाडी निर्वाचनमा परिचालन भएको अवस्थामा उनीहरुको प्रदर्शनमा असर गर्ने अनुमान श्रेष्ठको छ।
‘राष्ट्रिय खेलकुदमा उनीहरुको प्रदर्शन कमजोर हुन सक्छ। अन्य खेलाडीको हकमा भने, गत फागुन चैतमा खेलका गतिविधि भए जसको कारण खेलाडी फिट छन् भनेर पनि बुझ्नुपर्छ’, उनले भने।
राष्ट्रिय खेलकुद हुँदा सबैभन्दा बढी खुसी खेलाडी नै हुन्छन्। खेल आयोजना कसरी गर्ने भन्ने पनि उत्तिकै महत्वपूर्ण हुन्छ। पर्याप्त तयारी विनाको प्रतिस्पर्धाले स्तरीय खेलाडीको वास्तविकता क्षमता प्रदर्शन नहुन पनि सक्छ।
विगतमा र यसपटक फरक कारणले राष्ट्रिय खेलकुद सरेको १३ औं सागकी दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्य बताउँछिन्। २०७५/०७६ मा लुम्बिनी प्रदेशमा आयोजना भएको आठौं राष्ट्रिय खेलकुद भौतिक पूर्वाधार समयमा तयार नभएकाले पटक–पटक सरेको थियो। त्यतिबेला खेलाडीले लगातार तयारी गर्न भने पाएका थिए। यसपटक कोरोनाका कारण खेलक्षेत्र पूर्ण रुपमा ठप्प रह्यो। जसका कारण खेलाडीले तयार गर्ने अवसर नै पाएका छैनन्।
‘त्यो समय र अहिलेको परिवेश बेग्लै छ। त्यतिबेला भौतिक पूर्वाधारलाई कारण देखाउँदै मिति सारिएको थियो। यसपटक कोभिडका कारण सर्यो’, आयशाले भनिन्, ‘यसले खेलाडीलाई राष्ट्रिय खेलकुद हुन्छ भन्नेमा शंका थियो। तयारी समय छोटो हुँदा खेलाडीलाई गाह्रो त हुन्छ नै। राष्ट्रिय खेलकुद हुने खबरले खेलाडी उत्साहित त छन् तर त्यतिकै प्रदर्शनलाई लिएर दबाबमा पनि हुन्छन्।’
विभागका खेलाडीलाई दबाब हुने प्रशिक्षक श्रेष्ठको भनाइमा आयशा पनि सहमत छिन्। ‘अहिले छोटो समय भएका कारण प्रदेशका मात्र होइन विभागका खेलाडीलाई पनि समस्या छ’, उनले भनिन्, ‘कोरोनाको समयमा पनि उनीहरु ड्युटीमा थिए। त्यो बेलामा उनीहरुले आफूलाई फिजिकल मेन्टन गर्न मात्र प्रशिक्षण गर्ने गरेका थिए। प्रशिक्षण गर्दा पनि एउटा लक्ष्य हुनुपर्छ। अहिले सबै खेलाडीको अवस्था उस्तै छ।’
अन्तर्राष्ट्रिय खेलकुदमा जाने खुड्किलोको रुपमा राष्ट्रिय खेलकुदका लागि तयारीको समयमा ध्यान दिइनुपर्नेमा प्रशिक्षक श्रेष्ठ जोड दिन्छन्।
‘जिल्ला र प्रदेश छनोट पार गरेर राष्ट्रिय खेलकुदमा भाग लिने हो। त्यस अर्थ तहगत हिसाबले पनि यो ठूलो खेल हो’, उनले थपे, ‘यसमा कति खेलाडीलाई त नेशनल गेम भनेको के हो भन्ने नै थाहा हुँदैन। अन्तराष्ट्रिय खेलका लागि पहिलो खुड्किलो भनेको नेशनल गेम हो त्यसैले पनि तयारीका लागि केही समय हुनुपर्ने थियो।’
नवौं राष्ट्रिय खेलकुदका लागि जिल्ला र प्रदेशको छनोट कहिले सुरु हुने तय भइसकेको छैन। त्यसले खेलाडीमा आशंका छ।
हालै ललितपुरमा भएको कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताका ८४ केजी मुनिका च्याम्पियन रोजन खड्का नवौं राष्ट्रिय खेल्न पाउनेमा ढुक्क छैनन्।
‘नवौंका लागि जिल्लाबाट खेलाडी छनोट हुने भनिएको छ। अहिले छोटो समय छ। तर, जिल्लाबाट फेरि छनोट गरेर नेशनल गेममा खेलाउने कुरा छ’, उनले भने, ‘त्यसले दबाब त हुन्छ नै। यद्यपि हामी दिनको दुईपटक अभ्यास गरिरहेका छौं।’
खेलाडीको क्षमता मापन गर्ने देशकै ठूलो खेलकुद प्रतियोगितालाई हतारमा सक्नुपर्ने कारण भने सरकारले प्रष्ट पार्न सकेको छैन।
Shares
प्रतिक्रिया