घरेलु फुटबलको कार्यकारी निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक महिनाभन्दा कम समयमा नयाँ नेतृत्व पाउँदै छ। अघिल्लो चुनावमा एउटै प्यानलबाट निर्वाचित हुँदै एन्फाको मुख्य नेतृत्वमा पुगेका अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ यसपटक अलग अलग समूहको नेतृत्व गर्दै निर्वाचनमा होमिएका छन्।
दुवै समूहले एक वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्षसहित सदस्यहरुको समूह नै तयार पारेका छन्। यसपटक २१ कार्यसमितिको निर्वाचन हुँदै छ। जसमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, दुई महिलासहित १५ सदस्य रहेका छन्। सबै पदमा गरि ५४ पदमा उम्मेदवारी परेको छ। बिहीबार मनोनयन दर्ताको अन्तिम दिन थियो।
शेर्पा र नेम्वाङले पत्रकार सम्मेलनमार्फत आ–आफ्नो उम्मेदवारी घोषणा गरेका थिए। शेर्पाले आफ्नो पहिलो कार्यकालमा सुरु भएको कामलाई टुंगोमा पुर्याउन पुनः उम्मेदवारी दिएको बताएका छन्। अर्को तिर थोरै एजेण्डासहित अध्यक्षको उम्मेदवारी दिएका नेम्वाङले भने शेर्पाकै आलोचनामा बढी समय खर्चेका थिए।
फिफाको १० वर्षे प्रतिबन्धमा रहेको पूर्व अध्यक्ष गणेश थापाविरुद्धको आन्दोलनमा भने शेर्पा र नेम्वाङ एकै समूहमा थिए। अघिल्लो निर्वाचनमा शेर्पाकै समूहलाई साथ दिएका फ्रेन्ड्स क्लबका पूर्व अध्यक्ष राजीव पौडेलले पनि एन्फा अध्यक्षमा उम्मेदवारी दिएका छन्। तीन जनाबीच प्रतिस्पर्धा भएपनि मुख्यतः शेर्पा र नेम्बाङबीच तीब्र प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।
उम्मेदवारी घोषणा गर्ने क्रममा एन्फा मताधिकार प्राप्त ५० भन्दा बढीको उपस्थिति रहेको दाबी गरेका थिए। नेम्बाङ समूहले ५३ र शेर्पा समूहले ५४ जना मताधिकार प्राप्त प्रतिनिधिको उपस्थित घोषणा सभामा रहेको दाबी गरेका थिए।
उम्मेदवारी दर्ता अघि नै तीनै जनाले आ आफ्नो योजना सार्वजनिक भने गरेका छन्।
शेर्पा समूहले अहिलेसम्म गरेका कार्यक्रम र आगामी योजनाको खाका प्रस्तुत गरेको छ।
कोरोना महामारीका कारण सुरु भएकाले धेरै काम अधुरै रहेकाले त्यसको पूर्णतालाई शेर्पाले आफ्नो योजनामा समेटेका छन्। सुरु गरिएका कामको निरन्तरताका लागि पनि आफू नेतृत्वमा दोहोरिन चाहेको उनको बनाई थियो।
चार वर्षमा आर्थिक नियमावली, संघीय संरचना अनुसार एन्फाको विधान संसोधन, प्रदेश फुटबल संघ गठन र नीतिगत रुपमा फुटबल संघलाई सञ्चालन गर्न आफ्नो नेतृत्व सफल भएको शेर्पाको दाबी छ।
ग्रासरुट कार्यक्रमलाई व्यापकता दिने, क्यापासिटी बिल्डिङको काम गर्ने, लिगलाई थप व्यवस्थित बनाउने, एन्फाले गर्ने आगामी कार्यक्रम सञ्चालनका एन्फा कार्यसमितिले मात्र नबनाई विभिन्न सरोकारवाला निकायसँग बसेर कार्यक्रम तयार पार्ने योजना शेर्पाले प्रस्तुत गरेका छन्।
ए, बी र सी डिभिजनका सरोकारवालासँग बसेर छलफल गर्ने, विभिन्न जिल्ला संघसँग बसेर मोफसलका प्रतियोगिताको क्यालेन्डर बनाउने, कार्यशाला गोष्ठी गर्ने र आगामी ४ वर्षका लागि स्थायी क्यालेन्डर बनाउने योजना शेर्पाको रहेको छ।
शेर्पाले आर्थिक सबलीकरण र व्यावसायिकताका लागि स्थानिय सरकार र जिल्ला फुटबल संघको सहकार्य अगाडि बढ्ने, प्रदेश सरकार र प्रदेश फुटबल संघलाई सहकार्य गर्ने वातावरण तयार पार्न प्रयास गरिने शेर्पाका प्राथमिकता रहेका छन्।
आगामी निर्वाचन अघि आर्थिक श्वेतपत्र सार्वजनिक गर्ने तयारीमा रहेका शेर्पाले फुटबललाई डिजिटलाइट गर्ने, खेलाडीको दर्ता अनलाईन, मेडिकल रिपोर्ट अनलाइनमा राख्ने ,एन्फालाई अनलाइन मैत्री बनाउने योजना सुनाएका छन्।
त्यस्तै शेर्पाको घोषणा पत्रमा १६ विद्यालयहरूको सिटी लिग आयोजना गर्ने जसमा आफ्नै मैदान भएका विद्यालयले मात्र सहभागिता जनाउन पाउने र होम एण्ड अवेको अवधारणामा लिग गर्ने, युथ लिग, ग्रास रुटको लिग, नेपाली फुटबलको जग बलियो बनाउने काम गर्ने।
धेरैभन्दा धेरै कृत्रिम रंगशाला निमार्ण गर्ने, जग्गा उपलब्ध भएको जिल्लामा प्रशिक्षण सेन्टर बनाउने र क्लबको आफ्नै प्रशिक्षण केन्द्र बनाउन पहल गर्ने शेर्पा समूहले आफ्नो एजेण्डामा समेटेको छ।
नेम्वाङले उम्मेदवारी घोषणाका क्रममा शेर्पाको आलोचनामा बढी समय खर्चेको थियो।
नेम्वाङले उम्मेदवारी घोषणाका क्रममा भनेका थिए, मसँग ठुला योजना छैन स–सानाकामहरु गर्ने योजना बनाएको छु। एन्फा सचिवालयलाई चुस्त दुरुस्त बनाउने, राष्ट्रिय लिगलाई निरन्तरता दिने, ए,बी र सी डिभिजनका लिगलाई अझ व्यवस्थित गर्ने, काठमाडौमा स्थानिय र संघिय सरकारसँग हातेमालो गरेर कृत्रिम मैदान बनाउने र क्लबलाई प्रशिक्षण गर्ने वातावरण बनाउने योजना छन्।
उनले आफ्ना थप योजनाका बारेमा भनेका थिए, ग्रासरुटको कार्यक्रमलाई व्यवस्थित गर्ने, मोफसलका क्लबलाई व्यवस्थित गर्ने, उमेर समुहका कार्यक्रमलाई वैज्ञानिक र व्यवस्थित ढंगले निरन्तर रुपमा गर्ने योजना छन्। यी सबै योजनालाई विज्ञको सुझाव र राय लिएर काम गर्छु।’
अध्यक्षका अर्का उम्मेदवार पौडेलले भने पाँच वटा विषयलाई मुख्य प्राथमिकतामा राखेका छन्। पौडेलको घोषणा पत्रमा सुशासन, पूर्वाधार, ग्रासरुट तथा युवा र महिला फुटबल, प्रतियोगिता तथा राष्ट्रिय टिम र सम्बन्धित पक्षलाई प्राथमिकता दिएका छन्।
यस्तै नेपाललाई सन् २०२४ सम्ममा दक्षिण एसियामा उत्कृष्ट तथा २०२६ सम्म एसियाकै शीर्ष १० मा पुर्याउने लक्ष्य रहेको घोषणा पत्रमा उल्लेख गरेका छन्। प्यानलसहित निर्वाचनमा होमिएकाले घोषणापत्रकै आधारमा मत पाउने सम्भावना भने कम देखिन्छ।
एन्फा निर्वाचनमा ८७ जना भोटर
एन्फा निर्वाचनमा ८७ जना प्रतिनिधिले मतदान गर्न पाउनेछन्। एन्फा कार्यसमितिमा रहेका निर्वाचित, मानार्थ, महासचिव, कोषाध्यक्ष, सीईओलगायतले भने मताधिकार प्रतिनिधि हुन पाउने छैनन्।
७ प्रदेशबाट ४५, १४ ए डिभिजन क्लबबाट १४, १४ बी डिभिजन क्लबबाट ११, १४ सी डिभिजन क्लबबाट ९ जनाको मताधिकार रहेको छ। त्यस्तै ४ संघ (महिला, प्रशिक्षक, खेलाडी र रेफ्री) बाट समान १ तथा राष्ट्रिय लिगका लागि छनोट भएका ४ क्लबबाट समान १ जनासँग एन्फा निर्वाचनका लागि मताधिकार छ।
Shares
प्रतिक्रिया