आफ्नै प्रदेशमा नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन हुने दिन नजिकिँदै गर्दा प्रदेश खेलकुद परिषद् गण्डकी भने अभिभावकविहीन बनेको छ।
परिषद्का सदस्य सचिव तेज गुरुङ उमेर हदका कारण सोमबारबाट पद मुक्त भएपछि गण्डकी प्रदेश खेलकुद नेतृत्वविहीन भएको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार पोखरा रंगशालामा नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन गर्नेछिन्। त्यसअघि नै महिला क्रिकेट आइतबार तथा ह्याण्डबल र फेन्सिङका खेल पोखरा रगंशाला सोमबार सुरु भएको छ।
अन्य केही खेल उद्घाटन अघि नै सुरु हुनेछ। पुरुष क्रिकेट गत महिना नै काठमाडौंमा सम्पन्न भइसकेको छ।
गण्डकी खेलकुद परिषद्का सदस्य सचिव गुरुङले पत्रकार सम्मेलनमार्फत आफ्नो कार्यकालको विवरण प्रस्तुत गरे। प्रदेश खेलकुदबाट बिदा हँुदै गर्दा गुरुङले खेलकुदका लागि पोखरा राम्रो आयोजक र व्यवस्थापक रहेको उल्लेख गरेपनि समग्र खेलकुदको नतिजाका दृष्टिकोणले सफल हुन नसकेको बताएका छन्।
२०३८ सालदेखि सुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगिता ३९ वर्षपछि गण्डकीले आयोजनाको मौका पाएको छ। २०४० सालमा पोखराले राष्ट्रिय खेलकुदको दोस्रो संस्करण आयोजना गरेको थियो।
राष्ट्रिय गौरवको प्रतियोगिता आयोजनाको अवसर पाउँदा पनि गण्डकी प्रदेशले त्यसको फाइदा उठान नसकेको चर्चा चल्ने गरेको छ। भौतिक पूर्वाधारका दृष्टिकोणले काठमाडौंपछि गण्डकी प्रदेशलाई लिइन्छ। केही अपुरा योजनालाई यही राष्ट्रिय खेलकुदका लागि सम्पन्न गर्ने अवसरबाट गण्डकी चुकेको छ।
नवौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश सरकारले तयारी र सहभागिताका लागि मात्रै पटक पटक गरेर ५ करोड ८६ लाख रुपैयाँ निकासा गरेको थियो।
प्रदेश सरकारले पहिलो चरणमा १ करोड, दोस्रो चरणमा ३ करोड ४६ लाख र तेस्रो चरणमा १ करोड ४० लाख रुपैयाँ दिएको थियो।
त्यसबाहेक राष्ट्रिय खेलकुद परिषद्ले तयारीका लागि ४९ लाख रुपैयाँ प्रदेश खेलकुदलाई उपलब्ध गराएको थियो।
रकम पर्याप्त भएपनि समयमा बजेटको सुनिश्चितता नहुँदा काम गर्न समस्या रहेको अनुभव गुरुङले सुनाए।
उनले भने, ‘सुरुमा नै हामीले ७ करोडको बजेट माग गरेका थियौँ, तर बजेट एकै पटक योजनाबद्ध रुपमा प्रयोग गर्न पाएनौँ। छोटो समयमा बजेट खर्च गर्दा व्यवस्थित गर्दा कठिनाई भयो। पछि पटक पटक बजेट थपिए पनि त्यसको सुनिश्चितता हुन सकेन। बजेट निकासा ढिलाइ हुँदा केही समस्या झेल्नुपर्यो।’
नवौंको सहभागिताका जिल्लाहरुलाई नै जिम्मेवारी दिइएकोले खासै समस्या नपरेको गुरुङको दाबी थियो।
गण्डकी प्रदेश खेलकुदबाट जिम्मेवारी मुक्त भएपछि गुरुङ खेलकुदमा भने देखिनेछन्।
नेपाल ओलम्पिक कमिटी (एनओसी) का उपाध्यक्ष समेत रहेका गुरुङ नेपाल ह्यान्डबल संघका केन्द्रीय अध्यक्ष पनि हुन्।
Shares
प्रतिक्रिया