वर्षको सुरुवातमा विवादास्पद र कमजोर प्रर्दशन भएपनि नेपाली क्रिकेटको यात्रा वर्षको अन्तिममा आउँदा भने आशालाग्दो देखिएको छ। निराशाजनक रुपमा सुरु भएको क्रिकेटको यात्रा वर्षको अन्त्यमा भने सुखद नतिजा दिएको हो।
क्यानको आन्तरिक विवाद, नेपालको ओडीआई मान्यता जोगिनु, विश्वकपका लागि छनोट हुँदा वर्षभरीका कमजोरीलाई क्रिकेटले दिएको नतिजाले भने ढाकछोप गर्यो।
नेपाल क्रिकेट संघ (क्यान)ले सुरु गरेको नेपाल टी–२० लिग विवादास्पाद भएपछि आफ्नै निर्णयबाट पछि हटेर गल्ती सुधार्यो।
क्रिकेट टोलीले दिएको नतिजा र सफलताले यही वर्षको सुरुवातमा घरेलु मैदानमा सुरु हुने एसीसी प्रिमियर कप जित्ने आशासमेत जगाएको छ। जुन क्रिकेट समर्थकमाझ टोलीले वर्षको अन्तिममा दिलाएका थिए।
प्रिमियर लिगमा नेपालले ओमान र युएईजस्ता टोलीसँग खेल्नुपर्नेछ। यी टिमलाई हराउन सके नेपालले एसिया कपमा स्थान बनाउँदै भारत र पाकिस्तानसँग खेल्न पाउनेछ भन्ने सम्भावना पनि जगाएको छ।
नेपाली क्रिकेटका लागि यो वर्ष निकै उतारचढावपूर्ण रह्यो। खेलाडी विवाद होस् वा सन्दीप लामिछानेमाथि लागेको नाबालिक बलात्कारको आरोप होस् वा नेपाल टी २० लिगमा भएको स्पट फिक्सिङको कारण नेपाली क्रिकेट यो वर्ष विवाद र चर्चामा रह्यो।
गत वर्ष गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुदमा पुरूषतर्फको खेल विवादमा रह्यो। प्रतियोगितामा निरन्तर वर्षा र कमजोर व्यवस्थापनका कारण प्रतियोगिता आलोचनामा नै सकियो। कुल २९ खेलमध्ये ११ खेलको नतिजा आउँदा १८ खेल वर्षा र मैदान खेल्न योग्य नहुँदा खेल रद्द भए। समूह चरणका २५ मा १५ खेल टस समेत हुन सकेन।
नेपालको यू–१९ टोलीले ८ वर्षपछि विश्वकपमा स्थान बनाउँदा होस् वा ओडिआई जोगाउँदै विश्वकप छनोटमा पुग्नु यो वर्षको सबैभन्दा ठूला उपलब्धी हुन्।
आईसीसी विश्वकप लिग २ का १२ खेल बाँकी रहँदा नेपालका लागि ओडिआई मान्यता जोगानु नै चुनौती बनेको थियो। नेपाल सोझै विश्वकपमा छनोटमा पुग्नका लागि १२ मध्ये ९ खेल जित्नुपर्ने थियो। जुन नेपालका लागि गाह्रो थियो।
तर नेपाली टोलीको मुख्य प्रशिक्षकको रुपमा मोन्टी देसाइको आगमन नेपाली टोलीका लागि यादगार बनेको छ।
नेपालले फागुनको सुरुवातमा घरेलु मैदानमा लिग २ को त्रिकोणात्मक सिरिजको सुरुवात गरेको थियो। नेपालले १२ मध्ये ११ खेलमा जित निकाल्दै ओडिआई मान्यता मात्र जोगाएन विश्वकप छनोटमा समेत स्थान बनाउन सफल भयो।
गत वर्ष मुख्य प्रशिक्षकमा नियुक्त भएका पुबुदु दासानायकेले साउन नपुग्दै राजीनामा दिए। त्यसपछि क्यानले मुख्य प्रशिक्षकको रुपमा भारतीय मनोज प्रभाकरलाई नियुक्त गर्यो। तर उनले टोलीलाई अझ भद्रगोल बनाएर छाडे। त्यसपछि क्यानले गत माघमा मोन्टी देसाइलाई मुख्य प्रशिक्षकमा नियुक्त गर्यो। जुन नेपाली टोलीका लागि अभुतपूर्ण छ।
एक समय खराब ब्याटिङबाट गुज्रिरहेको नेपाली टोलीका लागि देसाइले टोली सम्हालेसँगै नामिबियाले दिएको २ सय ८६ रनको विशाल लक्ष्य पुरा गर्यो। जुन लक्ष्य ओडिआई इतिहासकै सर्वाधिक विशाल हो।
मोन्टी देसाइले टोली सम्हालेपछि ह्याप्पी ड्रेसिङ रुमले निकै चर्चा पायो। जुन कुरा हरेक खेलाडीले भनिरहेका हुन्थे।
उमेर समूहमा नेपालले ८ वर्षपछि आईसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा च्याम्पियन विश्वकपमा पुग्यो। फागुन तेस्रो साता युएईमा भएको प्रतियोगितामा नेपालले घरेलु टोलीमाथि ७ रनको जित निकाल्दै विश्वकपमा छनोट भएको थियो। नेपालले अब सन् २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्नेछ।
...............
यसअघि घरेलु मैदानमा हुँदै आएको फ्रेन्चाइज लिगलाई रोक्दै क्यान आफैंले नेपाल टी २० लिगको घोषणा गर्यो। लिग घोषणादेखि नै विवादमा रहेको लिग समापनपछि पनि अझ विवाद र चर्चामा रह्यो। क्यानले लिग गर्नका लागि भारतीय कम्पनी सेभेन थ्री स्पोट्र्सलाई आठ वर्षको लागि ३३ करोड रुपैयाँमा बेचेको थियो। जुन सम्झौता अन्त्यमा क्यान आफंैले रद्द गर्नपर्यो।
नेपाल टी२० लिग सुरुवातबाट नै स्पट फिक्सिङ लगायताका कारण विवादमा रह्यो। खेलाडीले समयमा नै पारिश्रमिक नपाउँदा खेल समेत सुरु हुन सकेन। स्पट फिक्सिङको आरोपमा अलराउन्डर आदिल आलम र पूर्व क्रिकेटर महबुब आलम प्रकाउ परे।
लिगमा स्पट फिक्सिङको कारण क्यान निलम्बनको खतरा समेत बढ्यो। विवादकै कारण क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले पदबाट राजीनामा दिए।
............
केन्या भ्रमण अघि गत भदौ ५ गते नाबालिगलाई बलात्कार गरेको आरोप लाग्यो। तत्कालिन कप्तान सन्दीप लामिछानेमाथि भदौ २१ गते प्रहरी वृत गौशालामा किटानी जाहेरी भएपछि यसले थप चर्चा पायो। बलात्कार आरोपपछि सन्दीपले असोज २० मा नेपाल प्रहरी सामू आत्मसमर्पण गरेका थिए।
गत पुष २९ गते केन्द्रीय कारागार सुन्धाराबाट २० लाख धरौटी बुझाएर रिहा भएका थिए। क्यानको माघ १७ गते पोखरामा बसेको बैठकले सन्दीपको निलम्बन फुकुवा गरेपछि उनी माघ २० गतेबाट राष्ट्रिय टोलीको प्रशिक्षणमा फर्केका थिए।
सन्दीपले नेपाल नामिबिया र स्कटल्याण्डबीच घरेलु मैदानमा भएको त्रिकोणात्मक सिरिजबाट राष्टिय टोलीमा पुनरागमन गरेका थिए। सिरिज फागुन २ देखि ९ गतेसम्म चलेको थियो।
नामिबियासँगको खेल्दै पुनरागमन गरेको खेलमा सन्दीपले १० ओभरमा ६६ रन खर्चेर ३ विकेट लिए। थुनामुक्त भएपछि सन्दीपले युएईमा भएको पीएनजीसँगको एक खेल गुमाएका थिए।
सन्दीपलाई काठमाडौ छाड्न सर्वोच्च अदालतको अनुमति लिनुपर्ने भएपछि सन्दीपले एक खेल गुमाएका हुन्। सन्दीप युएई जान सर्वोच्चले अनुमति दिएपछि घाइते भएका मौसम ढकाललाई फिर्ता बोलाइएको थियो।
थुनामुक्त भएपछि सन्दीपले खेलेको आइसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको ११ खेलमा सन्दीपले ३० विकेट लिए भने १ सय ७ रन बनाए। सन्दीपमाथि लागेको बलात्कार आरोपको अझै फैसला हुन सकेको छैन।
..........
कमजोर रुपमा गएको क्रिकेटलाई यी दुई प्रकरणले झन् नकारात्मक र निरासा तिर लैजाने कार्य गर्यो। तर वर्षको अन्त्यतिर आउँदा नेपाली क्रिकेटले नयाँ सम्भावना देखाएको छ। यो सफलतालाई अब क्यानले कसरी अगाडी बढाउँछ भन्ने बाँकी छ।
नतिजा र क्यान नेतृत्व पनि क्रिकेट र संघ प्रति गुम्दै गएको अविश्वासलाई फर्काउँदै र विवादलाई सुल्झाउँदै वर्षको सुःखद अन्त्य गरेको छ। क्यानको आन्तरिक विवादबीच पनि पोखरा र सुर्खेतमा गरी दुई पटक साधारण सभा भयो।
विवादका बीचमै पनि नितिगत रुपमा क्यान नेतृत्व आफ्नै कमजोरीबाट पाठ सिक्दै अघि बढेको देख्न सकिन्छ। त्यसको मुख्य कारण पनि नेपाली क्रिकेटले दिएको नतिजाले पनि सबैलाई जस दिँदै सकारात्मक उर्जा दिँदै वर्षको अन्त्य गरेको छ।
Shares
प्रतिक्रिया