विन्दु रावलको अर्धशतकमा बागमती प्रदेशलाई पराजित गर्दै सुदुरपश्चिम प्रदेशले काठमाडौंमा जारी प्रधानमन्त्री कप महिला टी २० क्रिकेट प्रतियोगिताको दोस्रो क्वालिफायरमा स्थान पक्का गरेको छ।
आइतबार भएको एलिमिनेटर खेलमा सुदूरपश्चिमले बागमती प्रदेशलाई ९ विकेटले पराजित गर्दै क्वालिफायरमा स्थान बनाएको हो।
सुदूरपश्चिमले अब फाइलनमा स्थान बनाउन कोशी प्रदेशसँग खेल्नेछ। आजै भएको पहिलो क्वालिफायरमा पराजित हुँदै कोशीले दोस्रो क्वालिफायर खेल्न लागेको हो।
दोस्रो क्वालिफायर खेल भोलि सोमबार हुनेछ। कोशीलाई हराउँदै एपीएफले भने फाइनलमा स्थान पक्का गरिसकेको छ।
बागमतीले दिएको १ सय रनको सामान्य लक्ष्य सुदुरपश्चिमले १४.३ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो।
पहिलो विकेटका लागि विन्दु रावाल र रुवि पोडारले ४३ रनको साझेदारी गरे। रुवि पोडार १८ रनमा क्याच आउट भईन्।
दोस्रो विकेटका लागि रुवि र सम्झना खड्काले ५७ रनको साझेदारी गर्दै बागमतिमाथि सहज जित निकाले।
विन्दु रावल ५४ र सम्झना २१ रनमा नटआउट रहे। बागमतिका लागि मनिषा उपाध्यायले १ विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बागमती १९ ओभरमा ९९ रन बनाउँदा अलआउट भयो।
कन्चन श्रेष्ठले बनाएको ३६ रन नै बागमतीका लागि सर्वाधिक रह्यो। ४६ बलको सामना गरेका कन्चन ५ चौका प्रहार गर्दा रितु कनौजियाको बलमा बोल्ड आउट भईन्।
सोनी पाख्रिनले १४, रन थपिन्। हेलिसा गुरुङ र खुसी डंगोलले समान १० रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
सुदूरपश्चिमका लागि करिस्मा थापाले ३ विकेट लिईन्। लक्ष्मी साउद र रितु कनौजियाले समान २ विकेट लिए।
आजै भएको पहिलो क्वालिफायरमा कोशी प्रदेशलाई ५२ रनले पराजित गर्दै एपीएफ क्लबले फाइनलमा प्रवेश गरिसकेको छ।
Shares
प्रतिक्रिया