एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड को २०औं सस्करण होटल याक एण्ड यतीको लाल दरबार हलमा हुने भएको छ।
अवार्ड कार्यक्रमका लागि होटल याक एन्ड यती र नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) बीच सम्झौता भएको छ।
सम्झौता पत्रमा याक एन्ड यतीका महाप्रबन्धक मोनिका साइब्लावर र मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले हस्ताक्षर गरे।
सम्झौतापछि महाप्रबन्धक मोनिका साइब्लावरले नेपाली खेलाडीलाई पुरस्कृत गर्ने यो प्रतिष्ठित अवार्ड कार्यक्रममा जोडिन पाउँदा गर्व लागेको बताएकी छन्।
‘विगतमा मञ्चले ठूलो संख्याको दर्शकमाझ अवार्ड कार्यक्रम गर्दै आएकोमा यसपालि फरक स्वरुपमा प्रस्तुत गर्ने क्रममा पाँचतारे होटल रोजेको मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले बताए।
पल्सर स्पोर्ट्स अवार्ड यही माघ २८ गते हुनेछ। विभिन्न ९ विधामा हुने अवार्ड कार्यक्रमको पिपल्स च्वाइस विधाको मनोनयनमा पर्ने खेलाडीको नाम सार्वजनिक भइसकेको छ।
त्यसमा फुटबलका अनन्त तामाङ, करातेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठ पिपल्स च्वाइसको मनोनयनमा परेका छन्।
वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्षका उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पाउनेछन्।
अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर पाउनेछन्। वर्ष खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षकको मनोनयन केही दिनमै सार्वजनिक गरिनेछ।
मनोनयन नहुने विधा लाइफटाइम, स्पेसल, पारा एथलिट र एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड पाउने व्यक्तित्वको घोषणा कार्यक्रमकै दिनमा गरिनेछ।
Shares
प्रतिक्रिया