ad ad

खेल


बास्केटबल खेल्ने कोर्टमा कराते खेल्नुपर्ने बाध्यता

बास्केटबल खेल्ने कोर्टमा कराते खेल्नुपर्ने बाध्यता

नेपालखबर
माघ १४, २०८० आइतबार ८:४, काठमाडौँ

सामान्यता कराते खेल कभर्डहलमा खेलिन्छ। घामपानीमा पनि प्रतियोगिता आयोजना गर्न कभर्डहलमा सहज हुन्छ। तर तनहुँमा भने बास्केटबल कोर्टमा कराते खेलाउनुपर्ने बाध्यता छ। 

कभर्डहलको अभावमा नेपाल कराते महासंघ गण्डकी प्रदेशले सदरमुकाम दमौलीमा रहेको बास्केटबल कोर्टमा करातेका छनोट प्रतियोगिता गरेको छ । हैरान्स क्लबले निर्माण गरेको बास्केटबल कोर्टमा गण्डकी प्रदेशका नौवटा जिल्लाका खेलाडीले प्रतिस्पर्धा गरेका छन्।

पूर्वाधार अभावका कारण बास्केटबल कोर्टमा करातेको प्रतियोगिता आयोजना गर्नुपरेको नेपाल कराते महासंघ गण्डकी प्रदेश अध्यक्ष मनिराज थापाले जानकारी दिए।

कभर्डहल नहुँदा बास्केटबल कोर्टमा भए पनि खेल खेलाएर खेलाडी छनोट गरिएको उनले बताए।

‘जिल्लामा एउटा पनि कभर्ड हल छैन । कभर्ड हल नहुँदा कहिले खुला चौरमा त कहिले बास्केटबल कोर्टमा खेल खेलाउनुपर्ने बाध्यता छ । खेल क्षेत्रको विकासका लागि सरोकारवाला निकायले चासो नदिँदा समस्या भइरहेको छ,’ उनले भने।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले सङ्घीयतापछि तीन तहको सरकार बनेको र सबैभन्दा नजिकको सरकार स्थानीय सरकारले पनि खेल क्षेत्रको भावना बुझ्न नसकेको गुनासो गरे।

‘पूर्वाधार नहुँदा खेलकुदका गतिविधि सञ्चालनमा समस्या भइरहेको छ । तनहुँमा खेलकुदका गतिविधि धेरै हुने गरे पनि पूर्वाधारकै कमी छ,’ उनले भने।

कराते खेलाडी तनहुँका मनिषा पुनले पूर्वाधार निर्माण भइदिए खेल्न सहज हुने बताए। उनले भने, ‘हामी देशका लागि खेल्छौं, देशले हाम्रा लागि पूर्वाधार बनाइदिनुपर्छ ।’

यसैबीच यही माघ १८ गतेदेखि २० गतेसम्म हुने तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताका लागि गण्डकी प्रदेशका खेलाडी चयन गरिएको छ ।

नेपाल कराते महासंघ गण्डकी प्रदेशले शनिबार तनहुँको दमौलीमा प्रतियोगिताको आयोजना गर्दै गण्डकी प्रदेशको तर्फबाट खेलाडी छनोट गरेको हो । प्रतियोगितामा गण्डकी प्रदेशका मनाङ र मुस्ताङबाहेकका नौ जिल्लाबाट खेलाडी सहभागिता रहेको गण्डकी प्रदेश अध्यक्ष मनिराज थापाले जानकारी दिए।

विभिन्न जिल्लाका खेलाडीबीच प्रतिस्पर्धा गराई राष्ट्रिय प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली घोषणा गरिएको उनले बताए। उनका अनुसार महिला र पुरुष गरी कुल २० खेलाडी छनोट गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .