कप्तान विनोद भण्डारी र बसिर अहमदको कीर्तिमानी साझेदारीमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा पाँचौँ जित दर्ता गरेको छ।
आर्मीले दिएको २ सय ८० रनको विशाल लक्ष्य पछ्याएको कर्णाली प्रदेश २९ ओभरमा १ सय १५ रनमा अलआउट भयो।
कर्णालीका लागि हिमांशु शाहीले बनाएको १९ रन नै सर्वााधिक रह्यो। दिवान पुन १८ रनमा रन आउट भए। विसपन शाही १४ रनमा क्याच आउट भए। दिपेन्द्र रावत, कप्तन राविन्द्र शाही र निश्चल रावलले समान १२ रन थपे। अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन्।
कर्णालीलाई कम स्कोरमा रोक्न विवेक यादव र कुशल मल्लले समान ३ विकेट लिए। सोमपाल कामीको नाममा २ विकेट रह्यो। साहब आलमले एक विकेट झारे।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णाली प्रदेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा २ सय ७९ रनको योगफल तयार पारेको थियो।
छैटौँ विकेटका लागि कप्तान विनोद भण्डारी र बसिर अहमदले १ सय ६९ रनको अविजित साझेदारी गरे। यो साझेदारी प्रधानमन्त्री कप इतिहासकै कीर्तिमानी साझेदारी हो।
यसअघि सन् २०१९ मा दिलिप नाथ र कुशल भुर्तेलले कर्णाली विरुद्ध नेपाल पुलिस क्लबका लागि कर्णाली प्रदेश विरुद्ध नै १३९ रनको साझेदारी गरेका थिए।
कप्तान भण्डारीले इनिङ्सको अन्तिम बलमा शतक पूरा गरे। १ सय ३२ बलको सामना गरेका भण्डारीले ६ चौका र ३ छक्का प्रहार गर्दै १ सय रनमा नटआउट रहे।
९२ बलमा १२ चौका र १ छक्का हानेका असिर अहमद ९८ रनमा अविजित रहे।
भीम सार्की २५ रनमा बोल्ड आउट भए। कुशल मल्लले २१ र सन्तोष कार्कीले ११ रन बनाउँदै रन बनाउँदै पेभेलियन फर्के। ओपनर इमरान शेखले ५ रन बनाए।
कर्णालीका लागि दिपेन्द्र रावतले २ विकेट लिए। प्रकाश जैसी र दिनेश अधिकारीको नाममा समान एक विकेट रह्यो।
Shares
प्रतिक्रिया