इजरायलको हापोयल रानानामा आबद्ध हुँदै युरोपियन लिगमा ‘डेब्यु’ गरेकी सावित्रा भण्डारीले आफ्नो फुटबल करिअरमा एकपछि अर्को उडान भरिरहेकी छिन्।
साम्बा उपनामले परिचित उनी अब फ्रान्सको शीर्ष डिभिजनको क्लब ईए गुइङ्ग्याम्पमा जोडिँदै छिन्।
यो उनको युरोपियन लिगमा नयाँ चुनौती हो। नेपाली राष्ट्रिय महिला फुटबल टोली तथा एपीएफ क्लबकी स्टार फरवार्ड उनले घरेलु र भारतीय महिला लिगमा तहल्का मच्चाएकी थिइन्।
योसँगै उनको खेल करिअर युरोपतिर मोडिएको हो। त्यसो त युरोपियन लिग खेल्ने सपना पनि रहेको बताउँछिन् उनी।
‘त्यसमा इँट्टा थप्ने काम फ्रान्सेली क्लब गुइङ्ग्याम्पले गरिदिएको छ’, उनले भनिन्।
राष्ट्रिय टोलीका लागि साम्बाले सर्वाधिक गोलको कीर्तिमान नै बनाएकी छिन्। उनको यो कीर्तिमान अरुबाट सहजै तोड्न कठिनप्रायः छ।
यही सिजन इजरायलको हापोयल रानानाबाट व्यावसायिक लिगबाट उनले युरोपियन लिगमा पाइला टेकेकी थिइन्। इजरायल एसियाली देश भए पनि यूईएफएमा आबद्ध भएकाले फुटबल भने युरोपबाट खेल्ने गर्छ।
इजरायलमा रहँदा सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा रहेकी साम्बा प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणले सबै लिग स्थगित भएपछि स्वदेश फर्किएकी थिइन्।
हमास आक्रमणका कारण लिग अनिश्चित बन्दा साम्बाका लागि नयाँ अवसर फेला परेको हो। त्यसलाई स्वीकार गर्दै साम्बाले फ्रान्स जाने निर्णय गरेकी हुन्।
हापोयलसँगको सम्झौता नसकिँदै जानलागेकी उनको इजरायली क्लबलाई दिनुपर्ने क्षतिपूर्ति रकम अब गुइङ्ग्याम्पले नै तिरेर अनुबन्ध गरेको हो।
साम्बा सन् २०२४–२५ सम्मका लागि फ्रान्सेली क्लबमा आबद्ध भएकी हुन्। उनले फ्रान्समा अब डिभिजन १ अर्किमा च्याम्पियनसिप ईए गुइङ्ग्याम्पबाट खेल्नेछिन्।
सन् १९७३ मा स्थापित गुइङ्ग्याम्प सन् १९८८–८९ को च्याम्पियन टोली हो। यो क्लबले फ्रान्सको महिला फुटबलमा पहिलो डिभिजनको लिग खेल्दै आएको छ।
डिभिजन १ अर्किमा च्याम्पियनसिपमा साम्बा सम्मिलित गुइङ्ग्याम्पसँगै पेरिस सेन्ट जर्मेन, रिम्स,बोर्डो, डिजोन, फ्लुरी, ले हाभ्रे, लिले, मोन्टीपिलर, पेरिस एफसी, सेन्ट–एटिन गरि १२ क्लब सहभागी छिन्।
व्यावसायिक फुटबलमा साम्बाको उडान
सन् २०१८–१९ मा भारतीय महिला लिग क्लब सेथु एफसीमा आबद्ध भएसँगै साम्बाको व्यावसायिक फुटबलले उचाइ लिन सुरु गरेको हो।
लिगका ७ खेलमा १५ गोल गर्दै साम्बाले क्लबलाई पहिलो सहभागितामा नै च्याम्पियन बनाउन मद्दत गरेकी थिइन्। सेथमाु आबद्ध हुँदै साम्बा र अनिता बस्नेतले भारतीय महिला लिगको ढोका खोलेका थिए। जसको कारण त्यसपछिका हरेक सिजनमा फरक क्लबबाट महिला खेलाडीले खेल्दै आएका छन्।
२०१९–२० मा साम्बा सेथु क्लब छाड्दै गोकुलम केरला एफसीमा आबद्ध भइन्। आई लिगको दोस्रो सिजनमा नै साम्बाले दुई फरक क्लबलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलिन्। लिगमा १६ गोल गरेकी साम्बा लिगकै सर्वाधिक गोलकर्ता बनेकी थिइन्।
त्यसपछिको सिजन भने घुँडाको चोटका कारण गुमाउन पुगिन्। यता घरेलु महिला लिगमा नेपाल पुलिस क्लबसँग खेल्ने क्रममा साम्बाले घुँडामा चोट बोकेकी थिइन्। जसका कारण उनी १ वर्ष मैदानबाहिर रहिन्।
सन् २०२२–२३ मा गोकुलममा नै आबद्ध भएकी साम्बाले २९ गोल गर्दा महिला लिग इतिहासमा नै कीर्तिमान कायम गरेकी थिइन्। लिगको सर्वाधिक गोलकर्ता बन्ने क्रममा उनले बालादेवीको नाममा रहेको कीर्तिमान समेत तोडिन्।
गोकुलमले उपाधिमाथि ह्याट्रिक गर्दा साम्बा भारतीय महिला लिगकै सर्वाधिक गोलकर्ता बनेकी थिइन्। ३ सिजन आई लिग खेलेकी साम्बाले ५९ गोल गर्दै सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छिन्। बाला देवीले ४ सिजनमा ४८ गोल गर्दै सर्वाधिक गोलकर्ताको दोस्रो स्थानमा छिन्।
भारतीय लिगमा तहल्का मच्चाएपछि साम्बाको खेल करियर युरोपतिर मोडियो। इजरायलको हापोयल रानानामा आबद्ध भएकी उनले त्यहाँ पूरै सिजन बिताउन पाइनन्।
इजरायल प्यालेस्टाइन युद्धका कारण उनी बीचमै लिग छाडेर स्वदेश फर्किएकी थिइन्। त्यसपछि भने उनको करिअरले अर्को मोड लिँदै फ्रान्सतिर मोडिएको छ।
Shares
प्रतिक्रिया