एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७९ को वर्ष उत्कृष्ट खेलाडी र प्रशिक्षकमा क्रिकेट र एथलेटिक्समा खेलाडीको वर्चश्व रहेको छ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले शुक्रबार पत्रकार सम्मेलन गर्दै चार विधाका शीर्ष तीनभित्र पर्न सफल खेलाडीको मनोनयन सार्वजनिक गरेको हो।
खेलाडी छनोट समितिले वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट युवा खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकको शीर्ष तीन छनोट गरेको हो।
वर्ष उत्कृष्ट पुरुष खेलाडीमा क्रिकेटका आशिफ शेख, रोहितकुमार पौडेल र एथलेटिक्सका दीपक अधिकारी मनोनयनमा परेका छन्।
वर्षको उत्कृष्ट महिला खेलाडीमा एथलेटिक्सका पुष्पा भण्डारी र राजपुरा पछाईं तथा बास्केटबलकी अनुशा मल्ल मनोनयनमा पर्न सफल भएका छन्।
वर्ष युवा खेलाडीमा क्रिकेटका देव खनाल, एथलेटिक्सकी राममाया बुढा र बक्सिङकी सुष्मा तामाङे मनोनयनमा परेका छन्।
वर्ष उत्कृष्ट प्रशिक्षकमा क्रिकेटका जगत टमाटा, एथलेटिक्सका चन्द्रबहादुर गुरुङ, बक्सिङका दीपक महर्जन मनोनयनमा पर्न सफल भएका छन्।
मनोनयमा परेका मध्यबाट विजेताको घोषणा अवार्ड कै दिन हुने छनोट समितिका समितिका संयोजक प्रज्वल ओलीले जानकारी दिए।
अवार्डका लागि पिपल्स च्वाइस अवार्डका लागि फुटबलका अनन्त तामाङ, भलिबलकी निरुता ठगुन्ना, करातेका विप्लवलाल श्रेष्ठ, टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठ मनोनयनमा परेका छन्।
स्पोर्ट्स अवार्डका अन्य विधामा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डको घोषणा अवार्ड समारोहमा नै हुनेछ।
अवार्ड कार्यक्रम आइतबार याक एण्ड यति होटलमा हुँदैछ।
Shares
प्रतिक्रिया