ad ad

खेल


क्यानाडाविरुद्ध चम्किएका अनिल त्रिकोणात्मक सिरिजको टोलीमै छैनन्

क्यानाडाविरुद्ध चम्किएका अनिल त्रिकोणात्मक सिरिजको टोलीमै छैनन्

तस्बिर : सरोज नेपाल


नेपालखबर
माघ २९, २०८० सोमबार १९:२, काठमाडौँ

क्यानाडाविरुद्ध तीनवटा खेलको एक दिवसीय सिरिज नेपालले क्लिनस्विप गर्दा चम्किएका क्रिकेटर हुन् अनिल साह। उनले पाँच वर्षपछिको पुनरामगनलाई सुखद बनाउन पाएकोमा खुसी व्यक्त गरे।

क्यानाडाविरुद्ध शनिबार भएको सिरिजको दोस्रो खेलमा विस्फोट ब्याटिङ गर्दै कीर्तिमानी अर्धशतक बनाएका उनी सोमबार अन्तिम खेलमा पनि चम्किए।

सिरिजको दोस्रो खेलमा ओपनर साहले नेपालका लागि ओडीआई क्रिकेटमा सर्वाधिक छिटो अर्धशतक बनाउने कीर्तिमान आफ्नो नाममा लेखाए। 

उनले १९ बलमा अर्धशतक पूरा गर्दै आशिफ शेखको कीर्तिमान तोडेका थिए। आसिफले गत वर्ष पपुवा न्यु गिनीविरुद्ध २१ बलमा अर्धशतक पूरा गरेका थिए। 

त्यस्तै सोमबारको अन्तिम खेलमा पनि साहले ओडीआई इन्टरनेशनल करिअरमा पहिलो शतक बनाए। 

अनिलले १ सय १६ बलमा ११ चौका र १ छक्का मद्दतमा शतक पूरा गरेका थिए। अर्का ब्याटर भीम सार्कीसँग जमेर साझेदारी गरेका अनिलले लामो समयपछिको पुनरागमनलाई शानदार बनाए।

सोमबार पनि शनिबारको जस्तै आक्रमक ब्याटिङ गरेका अनिलले १५ औँ ओभरको पाचौँ बलमा अर्धशतक पूरा गरेका थिए। उनले ५१ बलमा ८ चौका मद्दतसहित अर्धशतक पूरा गरेका थिए। 

खेलपछि पत्रकारहरूसँगको कुराकानीमा साहले पुनरागमन यादगार बनाउन सकेकोमा खुसी व्यक्त गरे। आफूलाई यो उपलब्धि दिलाउन शतकीय साझेदारी गरेको सहयोगप्रति उनले भीम सार्कीको खुलेर प्रशंसा गरे।

यति मात्रै होइन, नेपाली ओपनिङमा देखिएको समस्या समाधानको विकल्पका रुपमा पनि अनिलले आफूलाई उभ्याएका छन्।  

तर, उनै अनिल नामिबिया र नेदरल्यान्ड्ससँग नेपालले फागुन ३ देखि खेल्ने आईसीसी क्रिकेट विश्वकप लिग–२ को खेल र फागुन १३ देखि हुने टी-२० सिरिजमा समेटिएका छैनन्।

क्यानाडाको एक दिवसीय सिरिजअघि नै नेपाली टोली घोषणा हुँदा अनिललाई नेपाल क्रिकेट संघले ती दुई त्रिकोणात्मक सिरिजका लागि समेटेको थिएन। 

नेपालले क्यानडासँग तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज सोमबार क्लिनस्विप गरिसकेको छ। त्यसका दोस्रो र तेस्रो खेल खेलेका अनिलले प्रभावशाली प्रदर्शन गरे।

आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्न नामिबिया र नेदरल्यान्ड्सका टोली आउँदै छन्।

अब फागुन ३ गतेदेखि १३ गतेसम्म नामिबिया र नेदरल्यान्ड्ससँग नेपालले आईसीसी विश्वकप लिग–२ खेल्ने तालिका छ। 

आईसीसी टी–२० विश्वकप, २०२४ का लागि छनोट भएको नेपालले त्यसकै तयारीस्वरुप लगातार एक दिवसीय र टी-२० सिरिज खेल्दै छ।

त्यसपछि नेपालले यिनै टोलीसँग आगामी फागुन १३ देखि त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्नेछ। जसमा नेपालको पहिलो खेल आगामी फागुन १५ गते नामिबियासँग  खेल्दैछ। 

उक्त खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमै हुँदैछ। जहाँ अनिलले क्यानाडाविरुद्ध कीर्तिमानी अर्धशतक र शतक पनि बनाए। 

क्यानडासँगको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज सकिएकाले नेपालले अब विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्ने तालिका आइसकेको छ। 

लिग–२ त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा यसअघि नै भइसकेको छ। त्यसका सिरिजका लागि रोहित पौडेलको कप्तानीमा टोली घोषणा भएको छ।

यो टोलीमा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अर्जुन साउद, दीपेन्द्र सिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ र रिजन ढकाल परेका छन्। 

तर अनिल यसमा समेटिएका छैनन्। डिभिजन २ र टी २० दुवै सिरिजमा अनिलको नाम नसमेटिएको हो। यस्तोमा क्रिकेट संघले ती दुवै त्रिकोणात्मक सिरिजका लागि चाँडै फाइनल टोली घोषणा गर्न सक्ने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .