नेपाली टोलीका कप्तान रोहित पौडेलले आईसिसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध नेपालले लगातार दोस्रो हार ब्योहर्नुको कारण ब्याटिङमा कमजोरी भनेका छन्।
बुधबार भएको खेलमा नामिबियाले नेपालमाथि २ विकेटको जित दर्ता गराएपछि पत्रकारहरूसँको संवादका क्रममा उनले आफू शून्यमा जानु नै निराशाजनक भएको बताए।
‘म शून्यमा आउट हुनु नै निराशाजनक थियो। त्यसको जिम्मेवारी म लिन्छु। नेपालबाट सोचे जस्तो सुरुवात भयो। पावर प्ले पनि राम्रो थियो’, उनले भने, ‘तर मेरो र दीपेन्द्र दाइको विकेटले टोलीलाई दबाब भयो। हामी २०० देखि २५० पुग्छौँ भन्ने थियो। तर त्यस्तो हुन सकेन।’
उनले नेपालको ब्याटिङ अर्डरमा आफूहरू प्रष्ट रहेको बताए। ‘ब्याटिङ अर्डरमा हामी क्लियर छौँ। अवस्था हेरिरहेका छौँ’, उनले भने, ‘नामिबियाविरुद्धको पहिलो गेम हारेर पनि हामीले कमब्याक गरेका थियौँ। तर आजको हारले केही कमजोरी देखाएको छ।’
उनले क्रिकेटमा केही अनुमान गर्न नसकिने बताए। ‘नामिबियाले पनि मिहिनेत गरेको छ’, उनले भने, ‘हाम्रा बलरहरूले शतप्रतिशत दिएका छन् तर ब्याटिङमा केही कमजोरी भएको छ।’
Shares
प्रतिक्रिया