नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले अन्तर्राष्ट्रिय खेलमा ५० गोलको कोशेढुंगा पार गरेकी छन्।
साउदी अरबमा जारी वाफ महिला च्याम्पियनसिपअन्तर्गत इराकविरुद्धको खेलमा ह्याट्रिकसहित ५ गोल गरेपछि साम्बाले राष्ट्रिय टोलीका लागि ५० औँ अन्तराष्ट्रिय गोल गरेकी हुन्।
साम्बाले राष्ट्रिय टोलीका लागि खेलेको अफिसियल ४९ खेलमा ५० गोल पूरा गरेकी हुन्। अन्तर्राष्ट्रिय फुटबलमा नेपालका लागि ५० गोल गर्ने साम्बा एक्ली खेलाडी हुन्।
पुरुषतर्फ सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा हरि खड्का, निराजन रायमाझी र अन्जन विष्ट छन्। उनीहरुको नाममा समान १३ गोल छ। अन्तर्राष्ट्रिय फुटबलमा नेपालका लागि ५० गोल पूरा गर्ने उनी पहिलो खेलाडी हुन्।
अन्तर्राष्ट्रिय ५० गोलको आँकडा पूरा गरेपछि साम्बाले भनिन्, ‘यो धेरै पहिले देखेको सपना हो। यहाँसम्म आइपुग्न सहयोग गर्ने सबैलाई धेरै धन्यवाद! मलाई एपीएफ क्लबसम्म ल्याउने शुक्र तामाङ गुरुलाई धेरै धन्यवाद! उहाँले मेरो खेल जीवनलाई नयाँ मोड दिनुभयो।’
सन् २०१४ मा भारतमा भएको साफ महिला च्याम्पियनसिपमा भुटानविरुद्ध खेल्दै साम्बाले राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन्। डेब्यु खेलमै गोल गरेकी साम्बाले त्यसयता पछाडि फर्किनु परेन।
यसबीचमा चोटका कारण करिब डेढ वर्ष मैदान बाहिर रहेकी साम्बाले उत्कृष्ट पुनरागमन गर्दै आफ्नो लय कायम राखिन्।
साम्बाले सन् २०१६ मा भएको साफ च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध २ गोल गरिन्। त्यही वर्ष उनले भुटानविरुद्ध पहिलो खेलमा ६ तथा मालदिभ्सविरुद्ध ५ गोल गरिन्। भारतविरुद्ध १ गोल थपिन्।
त्यही वर्ष मलेसियासँग १ गोल गरिन्। भारतसँग दुई गोल गर्दा नेपालले पहिलो पटक भारतलाई पहिलो पटक हराईन्। इरानविरुद्ध साम्बाले २ गोल आफ्नो नाममा गरिन्।
सन् २०१९ मा भने साम्बाले दक्षिण एसियाली खेलकुद (साग) मा भुटान, बंगलादेश, श्रीलंका र भारतविरुद्ध समान १ गोल गरिन्।
ओलम्पिक छानेटमा इन्डोनेसियालाई हराउँदा साम्बाको नाममा २ गोल रह्यो।
त्यही वर्ष नेपालले खेलेको नादेझ्दा कपमा साम्बाले कीर्गिस्तानविरुद्ध ४ गोल गरिन्। ताजीकिस्तानविरुद्ध एक तथा उज्वेकिस्तानविरुद्ध २ गोल गरिन्। सन् २०१९ मा नै माल्दिभ्सविरुद्ध ३ गोल गरिन्।
त्यसपछि महिला लिग खेल्दा साम्बाले घुँडामा चोट बोक्न पुगिन्। निको भएर पुनरागमन गरेकी साम्बाले सन् २०२२ मा नेपालमै भएको साफ च्याम्पियनसिपमा भुटानविरुद्ध २ गोल गरिन्।
२०२३ मा बंगलादेशमा भएको मैत्रीपूर्ण खेलमा १ गोल गरिन्। ओलम्पिक प्लेअफमा भियतनामविरुद्ध साम्बाको नाममा अर्को गोल थपियो।
भारतविरुद्धको मैत्रीपूर्ण खेलमा साम्बाले २ गोल गर्दै नेपाललाई हारबाट जोगाएकी थिइन्।
हाल फ्रान्सेली शीर्ष क्लब एभ एभान्टा गुएङग्याम्पमा आवद्ध साम्बा वाफका लागि उतैबाट साउदी पुगेकी थिइन्।
पहिलो खेलमा सिरियाविरुद्ध १ गोल गरेकी साम्बाले दोस्रो खेलमा ५ गोल गर्दै ५० गोलको कोशेढुंगा चुमिन्।
Shares
प्रतिक्रिया