अस्ट्रेलिया बस्दै आएका विनोद कुँवर र सुदीक्षा गौतमको जोडीलाई नौ महिनाअघि कमैले चिन्थे।
गत जेठमा उनीहरुले लुम्बिनी प्रदेशको तिलोत्तमा नगरपालिका १७ को दरखसवामा व्यक्तिगत लगानीमा क्रिकेट मैदानको शिलान्यास गर्दा धेरैले कम नै वास्ता गरे।
मानिसहरुको कम चासो पर्नु स्वाभाविक पनि थियो। किनभने नेपालमा खेलकुदका पूर्वाधार छोटो समयमै बन्दैनन्। झन् सरकारी लगानीका पूर्वाधार त वर्षौँ बित्दा पनि तयार हुँदैनन्।
यस्तोमा अस्ट्रेलियालाई कर्मथलो बनाउने र खेलकुदमा कुनै परिचय नै नभएका एक जोडीले काम गर्लान् भनेर कसरी पत्याउनु!
तर, शिलान्यासको ९ महिनामा भएका कामले ती सबै अनुमान गलत भएका छन्।
कुँवर दम्पतीले यो अवधिमा क्रिकेट मैदान मात्र तयार गरेनन्, फागुन २८ गते सांकेतिक रुपमा नेपाली क्रिकेटलाई एक ठाँउमा जोड्ने काम समेत गरे।
खुला आँखाले देखेको सपना
छोटो समयमा मैदान खेल्नयोग्य भएको जनाउ उनले सानो प्रतियोगिता नै गरेर दिए। तिलोत्तमा एक्स्ट्राटेक ओभल लिजेन्डस कप मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता यसको उदाहरण बन्यो।
त्यसले क्रिकेटका पुराना खेलाडीलाई एकै ठाँउमा जोड्ने प्रयास गरेको थियो। नेपालका लागि सन् १९९६ मा पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने टोली, २०१४ मा विश्व कप टि ट्वान्टी विश्व कप खेल्ने टोली, रुपन्देहीका पुराना खेलाडी र बाँकी ३ टोलीमा नभए पनि क्रिकेटमा योगदान गरेकालाई समावेश गरिएको रेस्ट अफ नेपाल गरी ४ टोलीले देशभित्रको क्रिकेट परिवारलाई एकै थलोमा उतार्ने प्रयास गरिएको थियो।
आफ्नो समयमा नेपाली क्रिकेटलाई पसिना बगाएकाहरुको सम्मानमा त्योभन्दा अघि यस्तो प्रयास भएकै थिएन। त्यसैले यो आफैँमा एक ऐतिहासिक थियो। खेल त बहाना थियो। खासमा त्यसको सन्देश थियो योजनाबद्ध रुपमा अघि बढ्ने हो भने भौतिक पूर्वाधार निर्माण समयमै सम्भव छ भन्ने कुँवर दम्पतीले देखाइदिए।
यो अवधिमा कुँवर दम्पतीलाई कम्तीमा देशभित्रका क्रिकेटप्रेमीले चिनेका छन्। यसरी क्रिकेटमा लगानी गर्ने को होला भन्ने चासो हुनु स्वाभाविक हुन आउँछ।
अध्ययनका लागि अस्ट्रेलिया पुगेका कुँवर अहिले आईटी कम्पनी एक्स्ट्राटेक सञ्चालन गर्छन्। उनले त्यसकै नाममा क्रिकेट मैदान तयार पारेका हुन्।
खुला आँखाले देखेको सपना, त्यसलाई पूरा गर्न चाहिने इच्छाशक्ति र चरणबद्ध लगानी गर्दा एउटा क्रिकेट मैदान तयार गर्न सकिन्छ भन्ने उनले प्रमाणित गरेका छन्। उनको प्रयासको मुक्तकण्ठले प्रशंसा भएको छ।
यद्यपि त्यसबाट नेपाली क्रिकेटले कति फाइदा लिन सक्छ त्यसका लागि भने केही समय कुर्नैपर्ने हुन्छ।
साढे ५ बिघाको मैदान, हालसम्म साढे ६ करोड खर्च
करिब साढे ५ बिघा जग्गा किनेर सुरु भएको निर्माणको पहिलो चरणममा क्रिकेट मैदान तयार भएको छ।
अब त्यसमा अन्य पूर्वाधार बनाउने कुँवर दम्पतीको योजना छ। श्रीमान् विनोद एक्स्ट्राटेकका निर्देशक हुन् भने श्रीमती सुदीक्षा गौतम सीईओ छिन्।
नेपाली क्रिकेटको परिचित नाम शक्ति गौचन त्यसको ब्रान्ड एम्बेसडर हुन्। उनीहरुको अभियानमा होस्टेमा हैँसे गर्ने एउटा समूह पनि छ।
कुँवरका अनुसार अहिलेसम्म साढे ६ करोड रुपैयाँ खर्च भइसकेको अनुमान छ। ठ्याक्कै खर्च निकालिसकेका छैनन्।
निर्देशक कुवँरका अनुसार अहिले झण्डै ४० लाख रुपैयाँबराबरको इक्विपमेन्ट छ। साइड स्क्रिन तयार पारिएको छ।
अब बन्ने भवनमा भीआईपी, भीभीआईपी, प्लेयर्स चेन्जिङ रुम, क्यानटिन र त्यसका अतिरिक्त २ हजार दर्शक क्षमताको प्यारापिट निर्माणको काम सुरु हुनेछ । त्यसका लागि जग खन्ने र रडहरु बुन्ने काम सुरु भइसकेको छ।
अबको करिब १० महिनामा एउटा आकार लिने विश्वास उनले गरेका छन्। उनकै बुझाइमा पनि अहिलेसम्म २० प्रतिशत काम सकिएको छ।
सरकारको जिम्मेवारी बढ्यो : पारस खड्का
सन् २०१४ विश्वकप लिजेन्ड्सको कप्तानी गरेका नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का संन्यासपछि पहिलो पटक मैदान फर्किए।
लामो समयपछि मैदानमा बल र ब्याटसँगै पहिलो पुस्ताका खेलाडी र कति गुरुसँग खेल्न पाउँदा खड्का पनि उत्साहित पनि थिए।
पुरानै ७७ नम्बरको जर्सीमा उत्रेका खड्काले आफ्नो अनुभव सुनाउँदै भनेका थिए, ‘नेपाली क्रिकेटका लिजेन्डहरु थिए। पहिलाका गुरुहरुसँगै मैले पनि नदेखेका खेलाडीसँग मैदान सेयर गर्ने मौका पाएँ।’
उनी आफूले खेल्नभन्दा पनि भविष्यमा कसरी त्यो मैदानमो उपयोग गर्न सकिन्छ भन्ने बढी केन्द्रित देखिन्छन्।
खड्काले भनेका थिए, ‘यो मैदान यहाँसम्म आएको छ। भिन्न तरिकाको प्रयोग गर्नुभएको छ। यसले नेपाली क्रिकेटको विकासमा अन्य निकायलाई पनि इन्स्पाएर (प्रेरित) भएको छ। जति धेरै मैदान हुन्छ खेलाडीका लागि त्यति धेरै अवसर हो, पहिलो घरेलु प्रतियोगिता हुनुपर्छ त्यसपछि बाँकी कुरामा अघि बढ्ने हो।’
खड्काले नेपाल सरकारको समेत जिम्मेवारी बढेको बताए।
‘अहिले अन्तराष्ट्रिस्तरको रगंशाला चाहिएको छ। त्यो राखेप र सरकारले गर्ने हो भने अन्तराष्ट्रिय टिम आएर पनि खेल्न पर्छ’, उनले भने, ‘लुम्बिनीमा अहिले ५/६ वटा राम्रो मैदान छ। त्यसमा यसले पनि सहयोग गर्छ।’
विदेशमा देखेको काम गर्ने शैली नेपालमा प्रयोग गरेँ : कुँवर
छोटो समयमा नै मैदान तयार भएपछिको खुसी साट्दै कुँवरले भनेका थिए, ‘एउटी आमाले ९ महिनामा बच्चा जन्माएझैँ हामीले पनि मैदान तयार पारेका छौँ। चुनौती सबै कुरामा थियो।’
यहाँ सामानहरु नपाइने र यति ठूलो प्रोजेक्ट लिइसकेपछि सामान्य कुरामा अड्किन हुँदैन भनेर चुनौतीलाई नै अवसरमा परिणत गरेको उनको भनाइ छ।
त्यसो त नेपालमा क्रिकेटका पूर्वाधार नभएका होइनन्। कति संरक्षणको अभावमा खण्डहर बनिसके त कति आर्थिक कारण देखाउँदै बीचमा नै रोकिएका छन्। तर क्रिकेट समर्थक भएको नाता र विदेशी भूमिमा काम गर्ने शैलीमा भिजिसकेका कुँवरको सपनाले एउटा आकार लिइसकेको छ।
कुँवर भन्छन्, ‘मैले अरुसँग तुलना गर्न मिल्दैन। विदेशमा जे देखिरहेको थिएँ, एक रातमा नै धेरै गर्न सकिन्छ भन्ने थियो। विदेशमा सिकेको समयको महत्व र बोलेको कुरा गर्नुपर्छ भन्नेमा दृढ थिएँ।’
सबैले अरुसँग तुलना गर्छन् उडाउँछन् भनेर पहिला नै मानसिक रुपमा तयार भएको उनको भनाइ छ।
‘कसैलाई जवाफ दिनुभन्दा काम गरेर देखाउनुपर्छ भनेर लाग्यौँ। हाम्रो टिम नै यसरी काममा लाग्यो कि अब बोल्नुपर्ने जरुरी छैन’, उनले भने।
रेस्ट अफ नेपालको कप्तानी गरेका पूर्वकप्तान विनोद दास अहिले क्यानको क्रिकेट म्यानेजरको भूमिकाका छन्। उनले पनि मैदानको प्रशंसा गरे।
‘९ महिनामा यस्तो काम गर्नुभएको छ, त्यसको श्रेय दिनुपर्छ। आउटफिल्डमा अझै केही काम गर्नुपर्ने देखिन्छ। हामी पूर्वाधारमा नै फितलो छौँ’, दासले थपे, ‘हामीसँग राम्रो मैदान छैन, यस्तो मैदान बन्नु भनेको सबैभन्दा महंगो र कठिन काम हो।’
यस्तै क्युरेटर माधव पाठक लगायत ग्राउन्ड टिम पनि मैदान तयारीमा लागिपरेको छ। कुँवरकै माइला दाजु सूर्य कुँवर पनि यही काममा जुटेका छन्।
कुँवरलाई युनिक बन्ने चाहनाले मैदान निर्माणमा तानेको थियो।
उनको युनिक बन्न मन लाग्ने विशेषताले नै हिट गरिरहने भएकाले नेपालमा स्पोर्टस् बिजनेसलाई परिचित गराउनुपर्छ भनेर मैदान तयार पार्न लागेका छन्। यसले अन्यलाई पनि प्रेरणा दिन्छ भन्ने उनको विश्वास छ।
छोटो समयमा नै खेल्नका लागि योग्य मैदान तयार पार्न सकिन्छ भनेर त एक्स्ट्राटेक ओभलले देखाइसकेको छ।
क्रिकेटको क्रेज देखेर खुसी हुने र बधाइ दिन हतार गर्ने सरकार र क्रिकेटको सम्बन्धित निकायलाई कुँवर दम्पतीको कामले पक्कै सकारात्मक प्रभाव पारेको हुनुपर्छ।
भिडिओ-
यो पनि -
नयाँ पुस्ताको सपना कोर्दै एक्स्ट्राटेक ओभल क्रिकेट मैदान (भिडिओ रिपोर्ट)
Shares
प्रतिक्रिया