साउदी अरबमा बस्दै आएका यमबहादुर गुरुङबाट प्राप्त १० लाख रुपैयाँ नेपाली महिला राष्ट्रिय फुटबल टोलीले प्राप्त गरेका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) को महिला फुटबल संघले बुधबार एक कार्यक्रम आयोजना गर्दै गुरुङबाट प्राप्त रकम खेलाडीलाई हस्तान्तरण गरेको हो।
गत महिना साउदी अरबमा भएको वाफ महिला च्याम्पियनसिपमा उपविजेता टोलीको प्रर्दशनबाट प्रभावित भएर गुरुङले महिला टोलीलाई १० लाख रुपैयाँ पठाएका थिए।
गुरुङले एन्फा केन्द्रिय सदस्य तथा महिला संघकी अध्यक्ष पेमा डोल्मा लामालाई रकम पठाएका थिए। टोलीका २३ खेलाडीले जनही ४३ हजार ४ सय ७८ रुपैयाँ प्राप्त गरे।
त्यस्तै गुरुङले टोलीका ८ अफिसियललाई जनही २० हजारका दरले १ लाख ६० हजार पठाएका थिए। कार्यक्रममा गुरुङलाई राष्ट्रिय टोलीका खेलाडीले हस्ताक्षर गरेको जर्सी, बल र प्रशंसा पत्र उनकी श्रीमती गुरुङलाई हस्तान्तरण गरे।
नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा जोर्डनसँग पेनाल्टी सुटआउटमा ५–३ ले पराजित भएको थियो।
खेलाडीको तर्फबाट टोलीकी उपकप्तान अमृता जेैसीले वाफ च्याम्पियनसिपमा राष्ट्रिय महिला फुटबल टोलीको प्रर्दशनबाट प्रभावित भएर हामीलाई नगदसहित सम्मान गरेकोमा यम तमु र उनको परिवारलाई धन्यवाद दिइन्।
१५ वर्षदेखि साउदी बस्दै आएका गुरुङले ५ वर्षदेखि साउदीको रियादमा लालीगुरास नेपाली रेष्टुरेन्ट सन्चालन गर्दै आएका छन्।
गुरुङको तर्फबाट साउदी बस्दै आएका राजु सैयदले नेपाली काम गर्न मात्र गर्न जान्छन् भन्ने सोचलाई महिला फुटबल खेलाडीहरुले खेल्नज र जित्न सक्छन् भनेर प्रमाणित गरेकोमा धन्यवाद दिए।
Shares
प्रतिक्रिया